हेटौंडा,/तीव्र गतिमा सवारी हा“क्नु र चालकले लापरबाही गर्दा बर्सेनि धेरै मानिसले अकालमा मृत्युवरण गर्नुपरेको तथ्यांकले देखाएको छ । मकवानपुर जिल्लामा एक वर्षको सवारी दूर्घटनाको तथ्यांक केलाउँदा सबैभन्दा बढी दूर्घटना तीव्र गति र चालकको लापरबाहीको कारण भएको भेटिएको छ ।
बितेको आर्थिक वर्ष २०७६/७६ मा मकवानपुरमा सवारी दूर्घटनामा ६९ जनाको मृत्यु भएको छ । एक वर्षको अवधिमा भएको दूर्घटनामा ९४ जना गम्भीर घाइते भएकोमा एक सय २ जना सामान्य घाइते भएका छन् । अघिल्लो आर्थिक वर्ष ०७५/७६ को तुलनामा सवारी दूर्घटनामा र मृतकको संख्या पछिल्लो वर्ष झनै बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आव ०७५÷७६ मा सवारी दूर्घटनामा ५६ जनाले ज्यान गुमाएका थिए भने ९६ जना गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक हरिविष्णु ढकालले जानकारी दिए । बितेको आर्थिक वर्षमा १ सय २० वटा सवारी दूर्घटनामा एक सय ६८ सवारी साधन संलग्न थिए । एक सय २० वटा दूर्घटनामध्ये ५२ वटा दूर्घटना तीव्र गतिकै कारण भएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ । त्यस्तै चालकको लापरबाहीका कारण पनि ३९ वटा दूर्घटना भएका छन् । त्यस्तै मादक पदार्थ सेवन गरी सवारी चलाउँदा १० वटा र ओभरटेक गर्ने क्रममा ९ वटा दूर्घटना भएको प्रहरी निरीक्षक ढकालले बताए । त्यस्तै यान्त्रिक गढबढीले ३, यात्रुको गल्तीले ३, सडकको अवस्थाले २ र ओभरलोडका कारण १ वटा दूर्घटना भएको जनाइएको छ । सडकको क्षमता र सवारीको चापलाई मध्येनजर नगरी चालकले तीव्र गतिमा सवारी चलाउँदा धेरै दूर्घटना हुने गरेको उनको भनाइ छ ।
दूर्घटना गराउने चालकको उमेर समूह पनि प्रहरी छुट्याएर विश्लेषण गरेको छ । सबैभन्दा बढी दूर्घटना गत वर्ष २५ देखि ४० वर्ष उमेर समूहका चालकले गराएका छन् । उक्त उमेर समूहका चालकले ८७ वटा दूर्घटना गराएका छन् भने १५ देखि २५ वर्ष उमेर समूहका चालकबाट ५५ वटा सवारी दूर्घटना भए । त्यस्तै ४० वर्षभन्दा माथिका चालकबाट पनि २६ वटा दूर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।
कोरोना महामारी नियन्त्रण गर्न सरकारले करिब चार महिना लकडाउन गर्दा सवारी आवतजावत ठप्प हुँदा पनि सवारी दूर्घटना भने गत वर्ष उल्लेख्य भएको देखिएको छ । लकडाउनमा अत्यावश्यक बाहेकका सवारीसाधन नचलेपनि मकवानपुरमा दूर्घटना संख्या बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा १ सय ९ वटा सवारी दूर्घटनामा परेका थिए । गतवर्ष २०७६÷०७७ मा ११ वटा सवारी बढी दूर्घटनामा परेका छन् अर्थात दूर्घटना संख्या बढेर १ सय २० पुगेको हो ।
गतवर्ष राष्ट्रिय राजमार्गमा सबैभन्दा बढी ८२ वटा सवारी दूर्घटनामा परेका छन् । त्यसपछि ग्रामिण सडकमा २४ वटा सवारी दूर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ढकालले बताए । शहरी क्षेत्रमा भने दूर्घटनाको संख्या न्यून छ । दूर्घटनामा बसैभन्दा बढी मोटरसाइकल पर्ने गरेको तथ्यांकले देखाएको छ । मोटरसाइकल ७५, ट्रक तथा ट्याङ्कर २७, जीप कार र भ्यान २३, यात्रुबाहक बस १३, टेम्पो १०, ट्याक्टर ७ र ट्रिपर ७ वटा दूर्घटनामा संलग्न भएका छन् ।
लामो समयसम्म गरिएको लकडाउनको प्रत्यक्ष असर भने राजस्व आम्दानीमा देखिएको छ । दुई वर्षको तुलनामा २ लाख राजस्व आम्दानी घटेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले आव ०७५÷०७६ मा मकवानपुरभर १९ हजार ५ सय ६३ वटा सवारीसाधनलाई कारबाही गरेको छ । जसबाट १ करोड २६ लाख ५७ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको जनाइएको छ । गतवर्ष १७ हजार ४ सय १४ सवारीलाई कारबाही गर्दा १ करोड २४ लाख ७५ हजार रुपैयाँ राजस्व आम्दानी भएको छ ।