विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमण (कोभिड–१९)ले नेपाल पनि धेरै प्रभावित बनेको छ । करिब ५ महिनादेखि आम नेपाली कोभिड–१९ को त्रासमा जीवनयापन गरिरहेका छन् । कोभिड–१९ को संक्रमण नफैलियोस् भनेर सरकारले सुरुवातमै लामो समय लकडाउन गरेको भएपनि भारत तथा अन्य मुलुकबाट नेपालीहरु आउनेक्रम बढेपछि कोरोना संक्रमणको दर पनि बढ्दै गएको थियो । कोरोना संक्रमणको दरमा केही कमी आएपछि लकडाउन अन्त्य गरेपछि अहिले विभिन्न क्षेत्रमा कोरोना संक्रमणको दर पुनः बढ्दै गएको छ । अन्य ठूला शहरहरुको तुलनामा कोरोनाबाट कम प्रभावित हेटौंडामा पछिल्लो समय दैनिकरुपमा कोरोना संक्रमित फेला पर्न थालेका छन् । खासै ट्राभल हिस्ट्री नभएकाहरुमा पनि संक्रमण देखिनुले कोरोना समुुदायस्तरमा फैलिएको आशंका गर्न थालिएको छ ।
चीनको वुहानबाट सुरु भएर संसारभर फैलिएको कोरोना संक्रमणबाट कुनै पनि देश चोखो छैन । चीनलगत्तै दक्षिण कोरिया, इरान, इटाली, स्पेन, फ्रान्स, बेलायत, अमेरिका हुँदै सबैतिर यो भाइरसको संक्रमण विस्तार भयो । समयमै कडा लकडाउन तथा परीक्षण र उपचारको प्रबन्धसहित प्रभावकारी उपाय अवलम्बन गरेका कारण चीनमा कोरोना संक्रमितको संख्या करिब ८० हजारमा सिमित भयो भने ३ महिनामा लगभग नियन्त्रणमा पनि आयो र वुहानबाट अन्यत्र फैलन दिएन । तर, विश्वका अन्य ठूला देशमा यसको संक्रमण देशव्यापीमात्रै बनेन, धेरै मानिस संक्रमित बने र हालसम्म पनि संक्रमण अन्त्य भएको छैन । कोरोनाबाट हालसम्म विश्वमा करिब एक करोड ९० लाख संक्रमित भएका छन् भने ७ लाखभन्दा बढीको ज्यान गएको छ । अमेरिकामा मात्र ५० लाखभन्दा बढी संक्रमित भएका र एक लाख ६० हजार बढीको मृत्यु भएको
छ । अमेरिकापछि सबैभन्दा बढी संक्रमित ब्राजिलमा छन् भने छिमेकी भारतमा पनि संक्रमितको संख्या २० लाख नाघिसकेको छ । नेपालमा समेत कोरोना संक्रमित हुनेको संख्या २२ हजार पुुग्न लागेको र पछिल्लो समय काठमाडौं उपत्यकालगायत बढी जनघनत्व भएका शहरहरुमा संक्रमण व्यापक देखिइरहेको अवस्थाले स्थिति थप जोखिमपूर्ण बन्दै गएको छ । हेटौंडासँग बढी सम्पर्क र आवतजावत हुने राजधानी काठमाडौं तथा वीरगञ्जमा कोरोना संक्रमण व्यापक बनिरहँदा अनि हेटौंडा उच्च जोखिममा रहेको भन्दै गर्दा संक्रमित बढ्दै जानुुले राम्रो संकेत गर्दैन ।
अहिले नेपालमा अधिकांश कोभिड–१९ को लक्षण देखिएको र संक्रमितको सम्पर्कमा आएकाको मात्र परीक्षण भइरहेको हुँदा कोरोना संक्रमण अवस्था देखिएको भन्दा व्यापक हुनुसक्ने आशंका नकार्न सकिँदैन । लामो समय लकडाउनले जनजीवन अस्तव्यस्त भएपछि लकडाउन अन्त्य गरिएसँगै धेरैले पूर्ववत जीवनशैलीतर्फ फर्कन खोज्दा संक्रमणको जोखिम बढेको छ । कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न मानिसहरुबीच आपसी दुुरी कायम गर्ने, भिडभाड नगर्ने, मास्क तथा सेनिटाइजरको प्रयोग गर्नेजस्ता व्यवहारजन्य परिवर्तनमा विशेष ध्यान दिँदै जोखिमयुक्त क्षेत्र र अवस्थाबारे आफैं जानकार भई सावधानी अपनाउनुको विकल्प देखिँदैन ।