हेटौंडा/मकवानपुरको मनहरीदेखि धादिङको मलेखु जोड्ने सडकअन्तर्गत मकवानपुरको राक्सिराङ गाउँपालिका–४ र ५ नम्बर वडा जोड्ने परेवाभीरमा बाटो बनाउन राक्सिराङ गाउँपालिकाले ठेक्का आह्वान गरेको छ । भीरको केही भागमा पहरो फोड्ने तथा केही भागमा शेर वाल उठाउने गरी गाउँपालिकाले बिहीबार ठेक्का आह्वान गरेको हो ।
बोर्डबारी–परेवाभीर बाटो निर्माण गर्न झण्डै ४ करोड खर्च लाग्ने प्राविधिक रिपोर्ट आएकोमा गाउँपालिकाले चालु आर्थिक वर्षमा छुट्याएको २ करोड रुपैयाँबाट बहुवर्षीय ठेक्का आह्वान गरेको हो । बागमती प्रदेश सरकारले त्यस भीरबाट बाटो बनाउन चासो नदेखाएपछि गाउँपालिका आफैंले सडक निर्माण गर्न अघि बढेको हो । त्यस क्षेत्रका प्रदेश र प्रतिनिधिसभाका सांसदको समेत पूर्वाधार विकास कार्यक्रमबापत प्राप्त हुने एक÷एक करोड रुपयाँको बजेट हालिदिने आश्वासन पाएकाले ठेक्का आह्वान गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए ।
३० दिनभित्रको समय तोकी ठेक्का आह्वान गरिएको छ । बोर्डबारी–परेवाभीरको पहरोमा ६ सय ३० मिटर सडक बनाउनुपर्ने प्राविधिक अध्ययनबाट देखिएको छ । ३ सय १० मिटर शेरवाला उठाउने र ३ सय २० मिटर कडा चट्टान फोर्नपर्ने प्राविधिक अध्ययनबाट देखिएको अध्यक्ष मल्लले बताए । सो क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विरोध खतिवडा र नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले पूर्वाधार विकास कार्यक्रमको रकमबाट १÷१ करोड रुपैयाँ हाल्ने प्रतिवद्धता जनाएपछि गाउँपालिकाले ठेक्का आह्वान गरेको अध्यक्ष मल्लले जनाए । १८ महिनाभित्र काम सक्याउने गरी ठेक्का सम्झौता गर्ने गाउँपालिकाको तयारी छ।
परेवाभीरको ६ सय ३० मिटर पहरो फुटाउने र पर्खाल लगाएर बाटो निर्माण गरिए मकवानपुरको मनहरीदेखि धादिङको मलेखुसम्मको ५२ किमि सडकको ट्रयाक पूरा हुनेछ । मकवानपुरबाट मुग्लिन हुँदै काठमाडौं जाने सडकको विकल्पको रुपमा तयार हुने अनुमान गरिएको मनहरी–मलेखु सडक सञ्चालनमा आएमा मकवानपुरको विकट राक्सिराङ र कैलाश गाउँपालिकाको विकास हुने विश्वास गरिएको छ । उक्त सडक खण्डको सबै भागमा ट्रयाक खोल्ने काम पूरा भए पनि परेवाभीरमा कडा चट्टान फुटाउनुपर्ने र पर्खाल उठाउनुपर्ने भएकाले ठूलो खर्च लाग्ने देखिएपछि सडक निर्माण अघि बढ्न सकेको थिएन । ‘परेवाभीर यता र उता सडकको ट्रयाक पूरा भइसकेको छ । अब भीरमा सडक निर्माण भए मनहरी–मलेखु सडक छिचोलिन्छ ।’ गाउँपालिका अध्यक्ष मल्लले भने ।
परेवाभीरमा पैदलमार्गसमेत नहुँदा वर्षायाममा खोलामाथिको भीरबाट यात्रा गर्नुपर्ने बाध्यतामा राक्सिराङ र कैलाशका स्थानीयहरु छन् । वर्षामा भीरबाट कठिन यात्रा गर्दा लडेर खोलाले बगाउँदा बर्सेनि स्थानीयको मृत्युसमेत हुने गरेको छ । परेवाभीरका कारण स्थानीयलाई ठूलो समस्या भएपछि परेवाभीरको कडा चट्टान फुटाउँदै पर्खाल लगाएर सडक बनाउने विषयमा बहस भइरहेको थियो । सोही बहस चलिरहेकै बेला बागमती प्रदेश सरकारले भने त्यस भीरमा बाटो निर्माण असम्भव भएको भन्दै बजेट विनियोजन नगरेपछि स्थानीय र त्यस क्षेत्रका जनप्रतिनिधि रुष्ट बनेका थिए ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एक सार्वजनिक कार्यक्रममै परेवाभीरको विकल्प खोजिने र अन्यत्रबाट बाटो बनाउने अभिव्यक्ति दिएपछि निकै विवादित बनेका थिए । प्रदेशले बेवास्ता गरेपछि आफूहरुले नै सडक बनाउने योजना बनाएर अघि बढेको बताउँदै अध्यक्ष मल्लले अझै पनि प्रदेशले बजेट छुट्याउनेमा भने आशावादी नै रहेको बताए ।