लामो समयको लकडाउनपछि कोरोना भाइरस संक्रमण दर कम हुँदै गएको भनेर सरकारले लकडाउन अन्त्य गरेसँगै फेरि देशका मुख्य शहरमा कोरोना संक्रमितको संख्या बढेको छ । काठमाडौं उपत्यकासहित वीरगञ्ज, नेपालगञ्ज, विराटनगर, राजविराज, धनगढीलगायतका ठूला शहरहरु अहिले कोरोना संक्रमणको उच्च जोखिममा छन् । बागमती प्रदेशको राजधानी हेटौंडामा पनि कोरोना संक्रमितको संख्या बढ्दै जाँदा जोखिम पनि बढिरहेको छ । पछिल्ला केही दिनदेखि दिनहुँ हेटौंडामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै जाँदा संक्रमण समुदायस्तरमा फैलिएको अनुमान गर्न थालिएको छ । हेटौंडाबाहिर नगएकाहरुमा पनि संक्रमण भेटिन थालेपछि कोरोना भाइरस परीक्षणको दायरा बढाउनुपर्ने आवाज उठ्न थालेको छ ।
लकडाउनको अवधिमा देशका अन्य भागमा कोरोना संक्रमितको संख्या व्यापक हुँदा हेटौंडामा खासै सक्रमित देखिएका थिएनन् । यसले गर्दा यहाँको प्रयोगशालामा हेटौंडाबासीको स्वाब परीक्षणको खासै आवश्यकता थिएन । तर, पछिल्लो समयमा संक्रमितको संख्या एकैदिन ६ जनासम्म वृद्धि हुन थालेपछि कोरोना परीक्षणको दायरा बढाउनुपर्नेमा त्यसो हुन सकेको छैन । अर्कोतिर संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङमा पनि सम्बद्ध निकायहरु गम्भीर हुन नसकेको समाचार सार्वजनिक भइरहनुले राम्रो संकेत गर्दैन । हेटौंडामा कोरोना परीक्षणको सुरुवातमा दैनिक करिब एकसयको हाराहारीमा स्वाब संकलन हुने गरेकोमा बैशाख महिनामा दैनिक स्वाब संकलन करिब एक दर्जनमा सिमित बन्यो । कोरोना संक्रमितको नभेटिँदाको अवस्थामा स्वाब संकलन शूून्यको अवस्थामा भए पनि अहिले कोरोना संक्रमितको संख्या बढिरहँदा स्वाब संकलन बढ्न नसकेको आइसोलेसन वार्डको तथ्यांकले देखाउँछ। हेटौंडा–४ स्थित श्रमिक माध्यमिक विद्यालयमा रहेको जिल्लाको एकमात्र आइसोलेसन वार्डमा गत सोमबार ३५ जनाको स्वाब संकलन गरी परीक्षण गरिएकोमा २ जनामा कोरोना संक्रमण देखिएको थियो । मंगलबार ३५ जनाको स्वाब परीक्षण गरिएकोमा तीन जनामा, बुधबार २२ जनाको परीक्षण गरिएकोमा तीन जनामा नै संक्रमण देखियो । बिहीबार ४३ जनाको परीक्षण गरिएकोमा २ जनामा कोरोना संक्रमण देखिएको थियो। यसैगरी शुक्रबार र शनिबार भएको परीक्षणमा पनि मकवानपुरमा ६÷६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
दिनदिनै संक्रमित थपिँदै जाँदा र सबैतिर कोरोना संक्रमित देखिइरहँदा संक्रमितको प्रभावकारी कन्ट्रयाक्ट ट्रेसिङ गरेर शंकास्पद सबैको कोरोना परीक्षण गर्न नसक्दा स्थिति भयावह बन्ने तथ्यलाई सम्बद्ध निकायले गम्भीररुपमा लिनु आवश्यक छ । कोरोना संक्रमितको संख्या बढिरहँदा कोराना परीक्षणका लागि स्वाब संकलनको दर पनि बढाउनु पर्छ । विदेशबाट फर्किएका र अन्य जिल्लाबाट आएकाहरुमा कोरोना संक्रमण बढी देखिएकाले मकवानपुर प्रशासनले साउन महिनाभर मकवानपुर प्रवेशमा लगाइएको बन्देजलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्छ। साथै, बाहिरी जिल्लाबाट आएका व्यक्तिहरुको पहिचानसँगै स्वाब संकलन र परीक्षण गर्न सकेमा समुदायमा कोरोना फैलने सम्भावना कम हुने निश्चित छ ।