हेटौंडा/बागमती प्रदेशका स्थानीय तहहरुले बितेको आर्थिक वर्ष २०७६/७७ मा सवारी साधन करबापत झण्डै साढे २ अर्ब रुपैयाँ प्राप्त गरेका छन् । २०७६ साउन १ गतेदेखि २०७७ असार २५ गतेसम्म प्रदेशका १ सय १९ वटा स्थानीय तहलाई गरी २ अर्ब ४८ करोड १४ लाख रुपैयाँ बाँडफाँड गरिएको छ ।
मुलुक संघीयतामा गइसकेपछि प्रदेश सरकारमार्फत उठाउने सवारी कर प्रदेशलाई ६० प्रतिशत राखी ४० प्रतिशत स्थानीय तहको खातामा जम्मा गरिदिने व्यवस्था रहेको छ । सोही अनुरुप प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको सुत्रको आधारमा स्थानीय तहहरुलाई सवारी करबापत प्राप्त भएको रकममध्ये ४० प्रतिशत रकम बाँडफाँड गरिएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए ।
कर बाँडफाँडबापत मकवानपुरका १० स्थानीय तहहरुले पनि झण्डै २० करोड रुपैयाँभन्दा बढी रकम प्राप्त गरेका छन् । प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय हेटौंडाका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले सबैभन्दा बढी ६ करोड १० लाख ६४ हजार रुपैयाँ सवारी कर बाँडफाँडबाट प्राप्त गरेको छ । त्यस्तै थाहा नगरपालिकाले ३ करोड ३७ लाख १४ हजार रुपैयाँ प्राप्त गरेको छ । ईन्द्रसरोबर गाउँपालिकाको खातामा १ करोड १५ लाख ९७ हजार रुपैयाँ प्रदेशले बाँडफाँडबापत जम्मा गरिदिएको छ । त्यस्तै कैलाश गाउँपालिकाले १ करोड ३ लाख ६१ हजार रुपैयाँ पाउँदा राक्सिराङ गाउँपालिकाले भने ९० लाख २३ हजार रुपैयाँ मात्रै बाँडफाँडबाट प्राप्त गरेको छ ।
त्यस्तै मनहरी गाउँपालिकाले १ करोड ५१ लाख २३ हजार रुपैयाँ प्राप्त गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्यांकमा उल्लेख छ । भीमफेदी गाउँपालिकाले १ करोड ७३ लाख ९० हजार प्राप्त गर्दा मकवानपुरगढी गाउँपालिकाले सवारी कर बाँडफाँडबापत ९६ लाख ९४ हजार प्राप्त गरेको छ । बकैया गाउँपालिकाको खातामा १ करोड ९० लाख जम्मा हुँदा बागमती गाउँपालिकाले १ करोड ३७ लाख ५७ हजार रुपैयाँ सवारी करबापत रकम प्राप्त गरेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । बागमती प्रदेश सरकारले प्रदेशभर १० वटा याताायत कार्यालय खडा गरी सवारी साधन कर संकलन गर्दै आएको छ । कार्यालयबाट उठेको रकम प्रदेश विभाज्य कोषमा हुन्छ ।