नेपालको १ नं. प्रदेशमा पर्ने भोजपुर जिल्लामा हतुवा गढी, किल्ला पर्दछ । भोजपुर जिल्लाको पूर्व पौवादुङ्मा गाउँपालिका र धनकुटा जिल्ला पश्चिम आमचौक गाउँपालिका, उत्तर पौवादुङ्मा गाउँपालिका र रामप्रसाद राई गाउँपालिका र दक्षिण उदयपुर र धनकुटा जिल्ला छ । पुनः संरचना हुँदा हतुवा गढी गाउँपालिकाको क्षेत्रफल १४२.६१ वर्ग किलोमिटर, वडा संख्या ९, केन्द्र भने साविक रानीबास गाविस भित्र पर्दछ । हतुवा गढी गाउँपालिकाको १ नम्बर वडामाा रानीबास गाविसको १, ७, ८ र ९ वडा समावेश भएका छन् भने २ नम्बर वडामा रानीबासकै बाँकी वडाहरु समावेश छन् । ३ नम्बर वडामा साविक सिन्द्राङ गाविसका सबै वडा र ४ नम्बर वडामा साविक खैराङ गाविसका सबै वडा रहेका छन् । ५ नम्बर वडामा साविक हामताङ गाविसको ४ देखि ८ नम्बर वडा छन् भने हतुवा गढी गाउँपालिकाको ६ नम्बर वडामा साविक हामताङ गाविसको १, २, ३ र ९ नम्बर वडा पर्दछन् । यसैगरी ७ नम्बर वडामा साविक पाप्लेपानी गाविसको ५ देखि ९ नम्बर वडा तथा ८ नम्बर वडामा सोही गाविसको १ देखि ४ नम्बर वडा पर्दछन् भने ९ नम्बर वडामा साविक हसनपुर गाविसका सबै वडा रहेका छन् ।
भोजपुर जिल्लामा २०६८ सालको राष्ट्रिय जनगणना हुँदा गाविसहरु ६३ थिए । त्यसमा घरपरिवार संख्या ३९,४१९ र जम्मा जनसंख्या १,८२,४५९ थियो । त्यसमध्ये महिलाको संख्या ९६,४०६ र पुरुषको संख्या ८६,०५३ थियो । हतुवा गढी भन्ने गाविस थिएन । कोट भन्ने गाविस थियो । कोट गाविसको घरपरिवार संख्या ८६३ र जम्मा जनसंख्या ३६८१ मध्ये महिलाको संख्या १९७५ र पुरुषको संख्या १७०६ थियो । राणाकाल र सोेभन्दा अघि गढी, गौंडा र गोश्वाराअन्तर्गत् पूर्व ४ नम्बर भोजपुर गोश्वारा थियो । सोअन्तर्गत् इलाका, प्रगन्न र मौजाहरु थिए । गोश्वारामा प्रमुख पद कर्णेल पदका हुन्थे । उनको सहयोगीहरु र जिमिन्दार रैकर जग्गाका र विर्ताका मुखियाहरु हुन्थे । जिमिन्दारका लेखापढी गर्ने पटुवारी र मुखियाका थरी हुन्थे ।
वि.सं २०१५ सालमाा नेपालमा सर्वप्रथम आमनिर्वाचन भएको थियो, जसमाा देशलाई १०९ निर्वाचन क्षेत्रमा विभाजन
गरिएको थियो । २०१६ वैशाख २८ गतेसम्म निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले ७४ क्षेत्रमा विजय हासिल गरेकामा भोजपुर क्षेत्रमा १९, २०, २१ क्षेत्र परेकामा नेपाली कांग्रेस पाटीबाट १९ नम्बरमा खड्गबहादुर कार्कीले ७,२७८ मत, २० नम्बरबाट भुदेव राइल्े ८,३८० मत र २१ नम्बर क्षेत्रबाट देवानसिंह राईले ६,३०१ मत ल्याएर विजयी भएका थिए । देवानसिंह राई विश्वेश्वरप्रसाद कोइरालाको मिति २०१६ आषाढ १६ गतेको जनप्रतिनिधि ऐनअनुसार भएको मन्त्रिमण्डलमा सहायक मन्त्रीमा गृह पाएका थिए । २०१८ सालमा नेपाललाई ७५ जिल्लामा विभाज गर्दा भोजपुर जिल्ला भएको थियो ।
पूर्वका ९ लाख दश किरात राज्यभित्र पर्दछ । भोजपुर सामन्तद्वारा प्रशासन चलाउँथे । राजाको मुख्य राजधानी केन्द्र विजयपुरमा थियो । किरात राज्य भएता पनि त्यहाँ बसोबास गर्ने अन्य जातिहरु पनि थिए । विजय नारायणपछि मकवानपुरे राजा लोहाड्ड सेनले वि.सं १८१४ मा विजयपुर आक्रमण गरी विजयी भएर लिएका थिए । पाल्लाली राजा मुकुन्द सेनले लिएका हैनन् । मुकुन्द सेन १६१० बाट राजकाज छाडेकाले युद्ध गर्दै विजयी हुँदै जाँदामात्र विजयपुर लिएका हुन् ।
किराँत प्रदेशमा सेन राज्य उन्मूलन गर्न लोहाड्ड सेनको पालामा युद्ध गर्दागर्दै वितेको र उनका छोरा राघव सेनको पालामा विजयपुर राज्यअन्तर्गत्को भोजपुरमाा धेरै सुविधाको संरचनाहरु निर्माण भएका थिए । यहाँको गढी किरातहरुको स्वशासित क्षेत्र हुँदा गढी, किल्ला, दरबार निर्माण भएका थिए । हाल गढी मात्रको अवशेष छ। उनका छोरा हरिहर सेनले पनि सम्पदा संरक्षण र आवश्यक गोरेटो, घोडेटो बाटोहरु निर्माण गर्न लगाए । तर, हरिहर सेनका छोराहरुले वृद्धावस्थामा पिताविरुद्ध विद्रोह गरे । जेठा छोरा युवराज शुभ सेनलाई मकवानपुरतर्फको मुख्य प्रशासक बनाएर पठाए । छत्रपति सेन उनका माइला छोरा थिए । दाजुशुभ सेनको विरुद्धमा विद्रोह गरेर पिता राजालाई नै नजरबन्दमा राखिदिए । छत्रपतिका छोरा इन्द्रविधाता सेनलाई राजप्रतिनिधि राख्न मञ्जुर भएकाले विजयपुर राज्यको कलह कम भएको थियो।विजयपुरको पहाडी क्षेत्र माझ किरात, पल्लो किरात थियो । अरुण नदीपूर्व रहेको पल्लो किरात र अरुण नदीपश्चिम माझ किरात र कमला तथा कोशीबीचको तराई क्षेत्रमा खम्बु मन्त्रीहरुले छुट्टै अलग स्वतन्त्र राज्य गठन गरेर जगत सेनलाई चौदण्डी राज्यको राजा बनाएका थिए । तराईतर्फ अम्बरपुर चौदण्डी राज्यको हिउँदे राजधानी थियो । राजा पृथ्वीनारायण शाहको नेपाल एकीकरणमा मकवानपुर राज्य वि.सं १८१९ भाद्र ९ गते, कान्तिपुर १८२५ असोज १३ गते, ललितपुर १८२५ असोज २४ गते र भक्तपुर वि.सं १८२६ कार्तिक ३० गते आफ्नो अधिनमा लिएर पूर्व अगाडि बढ्न वि.सं १८३० श्रावण ४ गते राजा पृथ्वीनारायण शाहले बख्शी अभिमानसिंह बस्नेतको अगुवाइमा नेपाली सेना अम्बरपुरतर्फ गयो । तर, त्यहाँका राजा कर्ण सेन त्यहाँबाट पलायन भइसकेका थिए । यसरी चौदण्डी गढी नेपालीको भयो । यसै समयमा सरदार राकृष्ण कुँवरको टोली दिङ्ला नेपालीको अधिकार गरी अरुण नदी तरेर लिम्बुवानको चैनपुर पुग्दा नेपालीहरुको स्वागत गरेका थिए । वि.सं १८३१ आषाढ ९ गते पूर्व पुगे राजा कर्ण सेन, मन्त्री बुद्धिकर्ण राई सिक्किमतर्पm पलायन भएकाले नेपाली फौजको स्वत भयो । वि.सं १८३१ असोज १३ गते विजयपुरको प्रशासन नेपाललाई बुझाएर छाडिदिए ।
हतुवा गढी रानीबास गाउँ विकास समितिमा परेको थियो । पुनःसंरचना हुँदामात्र यो गढीले मान्यता पाएर हतुवा गढी गाउँपालिका भएको हो । यो गढी समुद्र सतहदेखि करिब ७ हजार फिट उचाइमा पर्दछ । यो गढी राजा अटलसिंह राईले निर्माण गर्न लगाएका थिए । यो गढी र आसपासमा खोज्दा अभिलेखहरु पाइएन । यो गढी निर्माणको समयमा गढी, किल्ला, दरबार, टुँडिखेल, कवाज खेल्ने, खुला ठाउँ आदिका लागि जग्गा धेरै राखिएको थियो । तर, छिमेकीहरुबाट अतिक्रमित हुँदै पछिल्लो नापी २०३०÷०३१ मा २ रोपनी ८ आनामात्र बाँकी भएको छ । गढी बाहिर किल्ला निर्माण गरिएको थियो । किल्ला बाहिर खाई चारैतर्फ २ मिटर चौडाई–गहिरो थियो । शत्रुहरु गढीभित्र प्रवेश गर्न नसकुन् भनेर खाई खन्ने गरेको अन्य गढीहरुमा पनि हुन्छ । त्यस्तै यहाँ पनि खाई (खाल्टो) केही पुरिएको छ । यो किल्लाको पूर्व–पश्चिम सुरक्षा चौकी थिए । तर हाल क्षति भइसकेको छ ।
यो गढीको उत्तरतर्फ मौहो, जसलाई कोट भनिन्छ, यहाँ पशुपक्षीको वली दिइन्छ । कोट वा मौलो उत्तर तत्कालीन राजाको दरबार थियो । हाल भग्नावशेषको रुपमा पाइन्छ । यो गढीको किल्लापूर्व पोखरी छ । त्यो पोखरीलाई भविष्यवक्ता पोखरी भन्ने गरिएको छ । यहाँ कोटसँगै देवी मन्दिर छ । सँगै घोडा दौडाउने चौर भनिन्छ । तर, चौर अतिक्रमणको चपेटामा परेको छ । यो किल्ला, गढीको जग्गा मिच्नेलाई स्थानीय तहले कारबाही गरी सार्वजनिक जग्गा सुरक्षित राख्नुपर्छ । घोडा दौडाउने सार्वजनिक चौरसँगै ठूलो ढुंगा छ । त्यो ढुंगामा बसेर राजाले घोडा दौडाएको तमासा हेर्ने गरेका थिए भनी स्थानीयहरु बताउँदै छन् ।
यो गढीको उत्खनन् गरी अध्ययन गर्दा किरात राजाहरुको विवरणहरु पाउन सकिने र गढी निर्माणको समय पनि जानकारी हुन सक्दथ्यो । गाउँपालिकाको अगुवाइमा
पुरातत्वसँग सम्पर्क गरी उत्खनन् हुँदा तथ्य प्रमाण प्रकाश भएर पर्यटन प्रवद्र्धनमा सहयोग पुग्दथ्यो । यसको लागि गाउँपालिकाले आवश्यक ठानेमा म श्रम गर्न तयार छु भनी प्रतिवद्धता गर्दछु । यसको खोजी गर्दा सेन राजाहरु वि.सं १६४१ भन्दा अगाडि गएर खोज्नुपर्छ भन्ने मेरो गाइडलाइन हो ।
महाभारत पुराण शान्तिपर्वको ८५ औं अध्यायमा दुर्ग, गढी, किल्ला, गढ र कोटहरुको वर्णन दिइएको छ । प्रधानमन्त्री भीमसेन थापाको समयसम्म गढी, किल्ला, कोट मर्मत, निर्माण, पुनर्निर्माण भइरहेको थियो । अहिले पनि सेनाको ब्यारेक नजिक भएका किल्ला, गढीहरु आदिको मर्मतसंहार, पुनर्निर्माण हुँदै आएको छ । नेपाल अंग्रेजसँगको युद्धताका सन् १८१४–१५ सम्म यो गढी ठिकै थियो भनिन्छ । यो महत्वपूर्ण पर्यटन प्रवद्र्धन गर्न अनुकूल भएकाले हतुवा गढी पुनःप्रयोगमाा आउने गरी निर्माण हुँदा पुर्खाको सम्पदाले स्थानीयलाई लाभ हुने अवस्था छ ।
स्रोत ः
१. नेपाल राजपत्र, भाग ४ खण्ड ६ संख्या ५८, मिति २०७३÷११÷२७, पृष्ठ ५२–५३
२. राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदन, पृष्ठ १३–१४
३. केदारप्रसाद न्यौपाने, मकवानपुर परिचय भाग २, पृष्ठ १२६
४. देवीप्रसाद शर्मा, आधुनिक नेपालको इतिहास, पृष्ठ ३३१–३३५
५. प्रा.डा. राजाराम सुवेदी, नेपालको तथ्य इतिहास, पृष्ठ १३८
६. इतिहास शिरोमणि बाबुराम आचार्य, नेपालको संक्षिप्त वृत्तान्त, पृष्ठ १८४–१९४
७. डिल्लीराज शर्मा, नेपालको किल्ला गढी २०५५, पृष्ठ ६६
८. प्रा.डा. रामप्रसाद उपाध्याय, नेपालको प्राचिन र मध्यकालीन इतिहास, काठमाडौं
९. घटराज भट्टराई, नेपालको धार्मिक स्थल, पृष्ठ ३३१