स्वच्छ, सफा र समुन्नत सहरको एउटा पर्याय हो, पर्याप्त पानीको उपलब्धता । हाम्रो देशमा जनघनत्व बढी भएका कतिपय शहरहरुमा पर्याप्त खानेपानीको उपलब्धता नहुँदा शहरबासीको जीवनयापन सहज बन्न सकेको छैन । जसको ज्वलन्त उदाहरण, संघीय राजधानीसमेत रहेको काठमाडौं उपत्यका हो । तर, बागमती प्रदेशको राजधानी हेटौंडामा भने खानेपानीको अभावको अवस्था देखिएको छैन । शहरी क्षेत्रमा खानेपानी वितरण गर्दै आएको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको दूरदर्शिता तथा उचित व्यवस्थापनबाट शहरी क्षेत्रमा आवश्यक पानीको आपूर्ति र वितरण सहज बनिरहेको छ । हरेक वर्ष वृद्धि हुने खानेपानीको मागअनुसार आपूर्तिको सन्तुलन मिलाएर बोर्डले आवश्यक खानेपानी उपलब्ध गराउनुलाई बोर्डको सफलता मान्न सकिन्छ ।
नेपाल खानेपानी संस्थानको हेटौंडा शाखालाई करिब ८ वर्षअघि हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गरिएपछि हेटौंडामा खानेपानी आपूर्तिको उचित प्रबन्ध भइरहेको छ । संस्थान हुँदाको समयमा मागको करिब ६० प्रतिशतमात्र पानी उपलब्ध गराउँदै आएकोमा बोर्डले जिम्मा पाएपछि थप खानेपानी आपूर्तिका स्रोतको विकास तथा वितरण प्रणालीमा सुधार गरेर सहजै मागअनुसारको आपूर्ति गरिरहेको छ । चालु आर्थिक वर्षमा पनि बोर्डमार्फत् वितरण हुने प्रणालीमा दैनिक २५ हजार लिटर पानीको आपूर्ति थप हुने भएको छ । हाल बोर्डले १८ हजार ५५ वटा धारामार्फत् दैनिक एक करोड ४२ लाख लिटर पानी उत्पादन गरी हेटौंडा उपमहानगरपालिकाको मुख्य शहरी क्षेत्रमा वितरण गर्दै आएको छ । सोबापत बोर्डले गत आर्थिक वर्षमा १३ करोड ७४ लाख रुपियाँ आम्दानी गरेकोमा चालु आर्थिक वर्ष १५ करोड ८० लाख रुपियाँ आम्दानी गर्ने लक्ष्य राखेको छ । बोर्डकै आफ्नै तथा संघ, प्रदेश तथा स्थानीय तहको समेत लगानीमा ग्राउण्ड, ओभरहेड ट्यांकी निर्माण, डीप ट्युबेल, रिचार्ज पोखरी तथा पानी शुद्धीकरणका विभिन्न योजनाहरु निर्माण भइरहेका छन् । चालु आर्थिक वर्षमा नगरका विभिन्न ४ वटा खानेपानी समूहलाई बोर्ड मातहत ल्याउने योजना बोर्डको छ । कोरोना भाइरस महामारीका कारण गत आर्थिक वर्षका कतिपय कामहरु यस आर्थिक वर्षमा पूरा गर्नुपर्ने कारण चालु आर्थिक वर्षमा बोर्डले नयाँ योजनाहरु समावेश नगरे पनि बाँकी योजना पूरा गरी खानेपानी उत्पादन, प्रशोधन तथा वितरणलाई प्रभावकारी बनाउने बोर्डको तयारी छ ।
वर्षेनि जनसंख्याको चाप बढ्दै गएको हेटौंडामा प्रदेश राजधानी भएपछि हेटौंडा नगर क्षेत्रमा अझै जनघनत्व वृद्धि हुने र खानेपानीको माग बढ्ने निश्चित छ । भविष्यको मागलाई आँकलन गरी समयमै आवश्यक खानेपानी उत्पादनको व्यवस्था गर्न नसक्ने हो भने खानेपानीको अभाव हुन सक्नेतर्फ हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले आवश्यक कार्य गर्दै आए पनि अझै गम्भीर बन्नु आवश्यक छ । खानेपानीको ठूलो माग पूर्ति गरी लामो समयसम्म खानेपानी आपूर्ति सहज बनाउ वृहत् खानेपानी आयोजना निर्माण बोर्डले अग्रसरता देखाउनु पर्छ । मानव जीवनका लागि अत्यावश्यक खानेपानीको पर्याप्त आपूर्ति तथा वितरणसँगै शुद्धिकरणतर्फ पनि बोर्डले विशेष ध्यान दिनुपर्छ ।