हेटौंडा, / मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका जिल्लामै उत्कृष्ट स्थानीय तह घोषित भएको छ ।जिल्ला समन्वय समिति मकवानपुरको आइतबार भएको पाँचौ जिल्ला सभाको अवसरमा थाहालाई जिल्लाका दश स्थानीय तहमध्ये उत्कृष्ट स्थानीय तह घोषणा गरेको हो । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नगरपालिकालाई सम्मान पत्र प्रदान गरेका छन् ।
आर्थिक वर्ष २०७६÷०७७ मा उत्कृष्ट कार्य सम्पादन गरेको मुल्याङ्नसहित समन्वय समितिले थाहालाई उत्कृष्ट घोषणा गरेको हो । मुख्यमन्त्री पौडेलले नगर प्रमुख लवशेर विष्टलाई सम्मानपत्र प्रदान गरेका छन् । थाहा नगरपालिका अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ मा पनि जिल्लामै उत्कृष्ट भएको थियो । यसैगरी ईन्द्रसरोवर गाउँपालिका दोस्रो र मकवानपुरगढी गाउँपालिका तेस्रो भएको जिल्ला समन्वय समिति मकवानपुरले जानकारी दिएको छ ।
थाहा बेरुजु फछ्र्यौटमा देशकै सर्वोत्कृष्ट स्थानीय तह पनि हो । जिल्ला समन्वय समितिले निर्माण गरेको मापदण्ड, अनुगमन मुल्याङ्नलगायतको माध्यमबाट गरिएको स्थानीय तहको मूल्यङ्न आधारमा पुरस्कृत गरिएको जिल्ला समन्वय प्रमुख रघुनाथ खुलालले जानकारी दिए ।
थाहा नगरका उपप्रमुख खड्ग गोपालीले जनप्रतिनिधि र कर्मचारीको मिहेनत र इमान्दारिताले उत्कृष्ट हुन सफल भएको
बताए । ‘हरेक वर्ष जिल्लाकै उत्कृष्ट नगरपालिका हुन पाउनु गर्वको कुरा हो । जनप्रतिनिधि र कर्मचारीको ठूलो योगदानकै कारण यो सम्मान मिलेको छ ।’, उपप्रमुख गोपालीले भने ।