हेटौँडा,/ मकवानपुरकै सांसदले आफूलाई हटाउन अविश्वासको प्रस्ताव ल्याएको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आरोप लगाएका छन् ।
पौडेलले मकवानपुरकै सांसदहरुको पहलमा आफू माथि अविश्वासको प्रस्ताव ल्याएर मुख्यमन्त्रीबाट हटाउने चलखेल भइरहेको बताएका हुन् । आइतबार जिल्ला समन्वय समिति मकवानपुरको पाँचौ जिल्ला सभालाई सम्बोधन गर्दै उनले आफ्नै जिल्लाका सांसदप्रति गुनासो र आक्रोस पोख्दै भने– ‘मलाई मुख्यमन्त्रीबाट हटाउँछन कि भन्नेमा कुनै चिन्ता छैन ।’
पौडेलले आइतबार कार्यक्रममा सहभागी मकवानपुरबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद विरोध खतिवडा, प्रदेश सांसद कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, मुनु सिग्देल, जुनेली श्रेष्ठसहित स्थानीय तहका प्रमुख, उपप्रमुखसहितका जनप्रतिनिधिको अगाडि आफूलाई मुख्यमन्त्रीबाट हटाउनका लागि मकवानपुरे संसदहरुले नै नेतृत्व गरेको आरोप लगाएका हुन् ।
‘मलाई मकवानपुरबाटै हटाउने खेल भइरहेको छ । यहिँका सांसदहरुले अविश्वासको प्रस्ताव ल्याएर हटाउन खोज्नु भएको छ ।’, पौडेलले भने। उनले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न मकवानपुरबाटै सुरु भएको पनि आरोप लगाएका छन् । ‘अविश्वासको प्रस्तावमा हस्ताक्षर पनि गरेका हुन् । त्यो पनि मकवानपुरबाटै सुरु भएको हो।उनले थपे ।
केही समयअघि हेटौंडामा भएको सत्तारुढ दल नेकपा संसदीय दलको बैठकमा डोरमणि पौडेलले मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने आवाज सांसदहरुले उठाएका थिए । त्यही बैठकमा केही सांसदले हस्ताक्षर संकलन गरेका थिए । तर, एक प्रदेशसभा सदस्यका अनुसार पौडेललाई हटाउनु पर्ने भन्दै तयारी गरेपनि हस्ताक्षर भने संकलन नभएको बताएका छन् ।
उनले स्थानीय तहहरुले आफू सिंहदरबार भएको भन्दै दम्भ देखाएको बताएका छन् । ‘स्थानीय तहहरुले सिंहदरबार भन्ठानेर दम्भ देखाएका छन्। मैले उहाँहरुलाई राम्रो काममा प्रतिस्पर्धा गर्न निर्देशन दिएको छु ।’, पौडेल भन्छन् । मकवानपुरको विकासमा अधिकार प्राप्त स्थानीय तहहरुले काम गरेर देखाउनु पर्ने भनाई पौडेलको छ । हेटौंडा राजधानी कायम भएपछि विकासको लहर आएको भन्दै पौडेलले दावी गरे– ‘भीमफेदी–कुलेखानी सुरुङको केही दिनमै टेण्डर लाग्दैछ । हेटौंडा अस्पताल ३ सय शैय्याको निर्माण हुँदैछ । गौरिटार रंगशाला निर्माण भइरहेको छ ।’,
मुख्यमन्त्री पौडेलले भ्रष्टाचार गर्न खोज्ने खोज्ने कर्मचारीलाई आफैंले अख्तियारको जिम्मा लगाएको बताएका छन्। ‘प्रदेश सरकार मातहतका १२ जना कर्मचारीले भ्रष्टाचार गर्न खोजेकाले अख्तियारको जिम्मा लगाएको छु ।’, उनले भने । भ्रष्टाचार गर्ने कसैलाई पनि नछोड्ने पौडेलको दावी छ । ‘भ्रष्टाचार गर्नेलाई छोड्दिन इमान्दार भएर काम गर्नेलाई सम्मान गर्छु ।’, पौडेलले भने ।—