हेटौंडा,/ आइतबार एकैदिन कोरोना संक्रमित बढेपछि हेटौंडा र पूर्व–पश्चिमसँग जोडिएको मनहरी गाउँपालिकाका क्षेत्रमा निषेधाज्ञा गरिने भएको छ ।बागमती प्रदेशको राजधानी हेटौंडा र मनहरी बजार करिब ३५ किलो मिटरको दुरीमा छ । मकवानपुरमा आइतबार एकैदिन २३ जना नयाँ कोरोना संक्रमित थपिएका थिए। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको साँझ बसेको आकस्मिक बैठकले सोमबार राती १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्न निर्णय गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दीपकराज नेपालले संक्रमित बढेपछि आइतबार साँझ केन्द्रको आकस्मिक बैठक बोलाएका हुन् । ३२ साउनसम्म निषेधाज्ञा जारी राखिने प्रजिअ नेपालले जानकारी दिए । उनले अत्यावश्यक सेवाका सवारीसाधन, व्यवसायमात्रै सञ्चालनमा आउने बताएका छन् । उनका अनुसार निषेधाज्ञामा के–के गर्न पाइने र नपाइने भन्ने विषयमा आज सूचना जारी गरिने भएको छ ।
‘अत्यावश्कीय सेवाका सवारीसाधन र व्यवसाय मात्रै खुल्न पाइनेछ । विगतको जस्तो मोटरसाइकल कुनै चल्न दिइने छैन ।’, नेपालले भने । जिल्ला प्रशासनले जारी गर्दै आएको सवारी पास पनि बन्द गरिने नेपालले जानकारी दिए । केन्द्रको केही दिनअघि मात्र बसेको बैठकले प्रदेश प्रवेश गर्ने चुरियामाई नाका, हेटौँडाका ब्यूटीपार्लर, शैक्षिक संघसंस्था, हेल्थ क्लब, होटल तथा रेस्टुरेन्ट र सार्वजनिक कार्यक्रम सञ्चालन गर्न प्रतिबन्ध लगाएको थियो।पछिल्लो एकहप्तादेखि हेटौंडामा संक्रमितको संख्या दैनिक बढिरहेको भन्दै जनस्तरबाटै निषेधाज्ञा गर्नुपर्ने माग गर्दै आएको थियो । सात दिनअघिसम्म सुरक्षित रहेको मकवानपुरगढी गाउँपालिकामा पनि संक्रमितको संख्या ३ पुगिसकेको छ । यसरी दैनिक संक्रमित बढेपछि केन्द्रले भीडभाड गर्न, मास्क र सेनिटाइजर अनिवार्य लगाउनको निम्ति कडाई गर्दै आएको थियो ।मकवानपुरमा हालसम्म ७७ जनामा कोरोना संक्रमण देखिइसकेको छ । हेटौंडामात्रै संक्रमितको संख्या ३९ पुगेको छ । आज १५ जना नयाँ संक्रमित हेटौँडामा थपिएका थिए । मनहरीमा पनि १२ जना संक्रमित फेला परेका थिए ।