हेटौंडा,/ मकवानपुरमा कार्यरत प्रहरीमा कोरोना संक्रमण बढ्दै गएको छ । शनिबारसम्म जिल्लाका एकसय १६ प्रहरीलाई संक्रमण देखिएको छ।हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार एकैदिन दुई प्रहरी
निरीक्षकसहित ४७ जना प्रहरीमा संक्रमण देखिएको थियो । हेटौंडा–११ थानाभ¥याङस्थित दंगा प्रहरी नियन्त्रण गणमा कार्यरत ३५ जना, जिल्ला प्रहरी कार्यालयमा कार्यरत ७, र वडा प्रहरी कार्यालयमा रहेका ५ जना प्रहरीमा संक्रमण देखिएको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले जानकारी दिए ।
मकवानपुरमा शुक्रबार ९५ जना र शनिवार १५ जनामा संक्रमण देखिएको हो । जसमध्ये ४७ प्रहरी संक्रमित थिए। जिल्लामा यति ठूलो संख्यामा संक्रमित फेला परेको पहिलो पटक हो । मकवानपुरमा कोरोना संक्रमित जनपथ प्रहरीको संख्या १ सय १५ जना पुगेको छ । हालसम्म १० जना सशस्त्र प्रहरीलाई कोरोना देखिएको जनाइएको छ।
हालसम्म बागमती प्रदेशको प्रदेशसभाका मर्यादापालक, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयलगायतका कार्यालयमा कार्यरत प्रहरीलाई संक्रमण देखिएको छ । मकवानपुर भरी ६ सय ३३ जना प्रहरी कार्यरत छन् । हेटौंडा उपमहानगरपालिकाभित्र मात्रै २ सय ६५ जना प्रहरी खटिँदै आएका छन् ।
अत्यावश्यक कामले बिदामा घर गएर फर्किएका, तालिम पश्चात काममा आएका, नियमित सरुवा भइरहेको र थुनुवाबाट कोरोना संक्रमण फैलिएको कारण जिल्लाका प्रहरीमा संक्रमण बढेको एसपी राठोरले बताएका छन् । जिल्लामा कार्यरत प्रहरीमा दैनिक संक्रमण देखिएपनि शान्ति सुरक्षामा कुनै कमी आउन नदिएको र व्यवस्थापनमा भने थप चुनौती थपिएको उनले बताए ।
कुल संक्रमित मध्ये हालसम्म ३३ जना प्रहरीले कोरोना जितेका छन् । उनीहरु नियमित ड्युटीमा खटिएको प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए । बाँकी संक्रमित प्रहरीहरु होम आइसोलेसनमा र हेटौंडा–६ गौरिटास्थित रंगशालामा उपचाररत् छन् । एसपी राठौरका अनुसार १८ जना प्रहरी कोरोना परीक्षण रिपोर्टको पर्खाइमा छन् । उनीहरुमा सामान्वय रुखा, खोकी देखिएको राठौरले बताए ।
हेटौंडाका आइसोलेसनमा बेड अभाव भएको कारण प्रहरीहरु कार्यालयमै आइसोलेसन बनाएर बसेका छन् । एसपी राठौरका अनुसार दंगाका संक्रमित प्रहरीलाई छतमा राखिएको छ । जिल्ला प्रहरीका संक्रमित प्रहरीलाई कार्यालयको हलमा सुरक्षित साथ राखिएको उनले जानकारी दिए । आइसोलेसनमा बेड खाली भएसँगै संक्रमितहरुलाई सारिने उनको भनाई छ ।