हेटौंडा/भोको पेटले भौँतारिएका साढे १ हजार जना श्रमजीवी र विपन्नलाई हेटौंडामा निःशुल्क खाना खुवाइएको छ ।कोरोना महामारीका कारण कामविहीन भएका विपन्न तथा श्रमिकहरूलाई हेटौंडा–४, हुप्रचौरमा सामूहिक भोजन गराइएको हो । चारदिनमा १ हजार ६५ जनाले खाना खाएका छन् । सामाजिक परोपकारमा सक्रिय परशुराम स्मृति प्रतिष्ठान र मकवानपुर जिल्ला फुटबल संघले २४ भदौदेखि भोकाहरूलाई भोजन गराउन सुरु गरेको थियो।
पहिलो दिन २ सय जनालाई खाना खुवाइएको थियो । दोस्रो दिन १ सय ८०, तेस्रो दिन ३ सय ७० र चौथो दिन अर्थात शनिवार ३ सय १५ जनाले खाना खाएको फुटबल संघका अध्यक्ष टिका राम लामाले जानकारी दिए । हेटौंडा उपमहानगरपालिकाभित्रको हटिया, पदमपोखरी, मकवानपुरगढी गाउँपालिका घर भएका श्रमिकहरूले खाना खाएका छन् ।
निर्माण कार्यमा खटिने मजदुरहरूले खाना खाएको फुटबल संघका अध्यक्ष टीकाराम लामाले बताए । हरेक दिन बिहान १० बजेदेखि २ बजेसम्म हुप्रचौर परिसरमा खाना खुवाइएको छ । कोरोना महामारीको कारण जारी निषेधाज्ञा र लकडाउनको कारण जनजीवन ठप्प हुँदा मजदुर वर्गलाई छाक टार्ने मुस्किल परिरहेको छ ।
हेटौंडाको बुद्धचोकमा दैनिक बिहान निर्माण कार्यमा खटिने मजदुरहरूको बाक्लो उपस्थिति हुन्थ्यो । बुद्धचोकबाटै ठेकेदारहरूले मजुदरहरूलाई दैनिक ज्यालादारीमा लैजाने गरेका थिए । त्यो क्रम चैतदेखि रोकिएको छ । कोरोना महामारीको कारणा सरकारले लकडाउन गरेपछि मजदुरहरू बुद्धचोकमा आउन पाएनन् । उनीहरुले दैनिक ज्यालादारीको पैसाले छाक टार्ने गरेका थिए ।
मजदुरहरु अहिले बजारमा काम खोज्न हिँड्ने गरेका छन् । कोरोनाको कारण काम नपाउँदा सबै मजदुर समस्यामा परेका छन् । कतिपयको बास बस्ने टुंगो समेत छैन् । हेटौंडाका अधिकांश
मजदुरहरू राहतबाट पनि वञ्चित भएका छन् । कतिपयले राहत पाएर पनि पकाएर खान सकेका छैनन् ।