हेटौंडा/ मकवानपुर प्रहरीको हिरासत कक्षमा रहेको एकजना थुनुवाले आत्महत्या प्रयास गरेका छन् ।मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिका–६, गडुवानखोबिल्टोमा ९ वर्षीय बालकको हत्या गरेको आरोपमा पक्राउ परेका २९ वर्षीय सुवास वाइवाले आत्महत्या प्रयास गरेका हुन् । स्थानीय मनिष भोलोन १४ भदौमा गाउँबाट हराएका थिए । त्यसको ६ दिनपछि घरभन्दा २ किलोमिटर टाढा रहेको जंगलमा बालक मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएर सोधपुच्छ जारी रहेको अवस्थामा उनले आत्महत्यको प्रयास गरेका हुन् ।
बालकको बावु बुद्ध कुमार भोलोनले जिल्ला प्रहरी कार्यालय मकवानपुरका किटानी जाहेरी दिएपछि आफन्त पर्ने सुवास र मंगल सिं वाइवालाई २२ भदौमा प्रहरीले बकैयाबाट पक्राउ गरेको थियो । आत्महत्या प्रयास गरेका वाइवाले बालकको हत्या गरेको स्वीकार गरेको प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताए ।
‘आफूले हत्या गरेको स्वीकार गरेसँगै उनले आत्महत्यको प्रयास गरेका हुन् ।’, प्रहरीका अनुसार बच्चाहरुको खेल्ने क्रममा झगडाहुँदा आबेगमा आएर बालकको हत्या भएको हो । ‘उनको बच्चाले समेत बयानको क्रममा आफ्नो बुबाले मारेर फाल्न लगेको स्वीकारेको छ ।’, प्रहरी स्रोतले भन्यो ।
२३ भदौमा आरोपी वाइवाले हिरासतमा रहेको शौचालयमा आफूले लगाएको हाफ पाइन्टको पासो बनाई आत्महत्या प्रयास गरेको रानाले बताए । उनका अनुसार वाइवा शौचालय गएको १० मिनेटसम्म पनि बाहिर नआएपछि प्रहरीले हेर्दा उनी पासोमा झुण्डिएको अवस्थामा फेला परेका थिए। तत्काल उनलाई हेटौँडा अस्पताल, चुरेहिल हस्पिटल हुँदै चितवन मेडिकल कलेजमा थप उपचारको लागि लगिएको थियो ।
हाल उनको चितवन मेडिकल कलजेमा उपचार भइरहेको छ । प्रहरी स्रोतका अनुसार वाइवाको स्वास्थ्य अवस्था नाजुक छ । बालक हत्या गरेको प्रमाणहरु प्रहरीले देखाएपछि आफू फस्ने निश्चित भएकोले वाइवा आत्महत्या गर्नेसम्म पुगेको प्रहरीको अनुमान छ । ‘आफू फस्ने निश्चित भएपछि वाइवा मानसिक तनावमा परेको देखिन्छ । त्यसैले उनी आत्महत्या गर्नेसम्म पुगे ।’, रानाले भने ।
आरोपी वाइवा काठमाडौंबाट लकडाउन अघि बकैया आएर भाइको घरमा शरण लिएर बसेको खुलेको छ । उनी काठमाडौंमा ज्यालामजदुरी गरेर पेट पाल्दै आएका थिए । उनलाई श्रीमतीले यसअघि नै छोडेर गएकोले उनी विगतदेखि नै पारिवारिक तनावमा रहेको डिएसपी रानाले बताए । वाइवाले बालकको हत्या गर्नुको कारण भने हालसम्म खुलेको छैन् ।
बालक हत्या आरोपमा पक्राउ परेका सुवास र मंगललाई हिरासतमा छुट्टाछुट्टै राखिएको रानाले बताए । मृतक बालक मंगल सिंको घरमा बस्दै आएका थिए । उनको घरमा मिठोमसिनो खान पाउने भएपछि बालक सोही घरमै बस्दै आएको डिएसपी रानाले जानकारी दिए । बालकको घर मंगलकोबाट करिब ५ मिनेटको दुरीमा छ ।
आरोपी मंगलको बालकको हत्यामा ठूलो भूमिका नदेखिएको रानाको भनाई छ । ‘बालकको हत्यामा सुवासकै मूख्य संलग्नता रहेको पाइन्छ । मंगलको भूमिका नभएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।’, रानाले भने ।