हेटौंडा, / मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकामा अवस्थित परेवाभीरबाट सडक निर्माण गर्ने ठेक्का खोल्ने म्याद थप गरिएको छ ।
जिल्लाकै दोस्रो व्यापारिक केन्द्र मनहरीदेखि धादिङको मलेखु जोड्ने सडकअन्तर्गत राक्सिराङ गाउँपालिका–४ र ५ नम्बर वडा जोड्ने परेवाभीरमा बाटो बनाउन राक्सिराङ गाउँपालिकाले २६ साउनमा ३० दिनभित्रको समय तोकी ठेक्का आह्वान गरेको थियो । भीरको केही भागमा पहरोफोड्ने तथा केही भागमा शेर वाल उठाउने गरी गाउँपालिकाले ठेक्का आह्वान गरेको हो ।
ठेक्का आह्वान भएको मितिले २६ भदौमा ठेक्का खोल्ने मिति पुगिसकेको छ । तर, प्राविधिक समस्याले समयमै ठेक्का खोल्न नसकिएको गाउँपालिकाले जनाएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयको सिस्मटबाट ठेक्काको बोलपत्र डाउनलोड नभएपछि समयमा खोल्न नसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार ४ असोजमा टेण्डर खोलिने भएको छ । ‘२६ भदौमा टेण्डर खुलाउन पर्ने थियो । विडरले हेर्न खोज्दा कार्यालयको सिस्टमबाट टेण्डर डाउनलोड नै भएन । प्राविधिक समस्याले समयमै टेण्डर खोल्न सकेनौं त्यसैले १० दिनको म्याद थप गरिएको छ ।,’ आचार्यले भने ।
बोर्डबारी–परेवाभीर बाटो निर्माण गर्न झण्डै ४ करोड खर्च लाग्ने प्राविधिक रिपोर्ट आएकोमा गाउँपालिकाले चालु आर्थिक वर्षमा छुट्याएको २ करोड रुपैयाँबाट बहुवर्षीय ठेक्का आह्वान गरेको हो । बागमती प्रदेश सरकारले त्यस भीरबाट बाटो बनाउन चासो नदेखाएपछि गाउँपालिका आफैंले सडक निर्माण गर्न अघि बढेको हो ।
बोर्डबारी–परेवाभीरको पहरोमा ६ सय ३० मिटर सडक बनाउनुपर्ने प्राविधिक अध्ययनबाट देखिएको छ । ३ सय १० मिटर शेरवाला उठाउने र ३ सय २० मिटर कडा चट्टान फोर्नपर्ने प्राविधिक अध्ययनबाट देखिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । १८ महिनाभित्र काम सक्याउने गरी ठेक्का सम्झौता गर्ने गाउँपालिकाको तयारी छ ।
परेवाभीरको ६ सय ३० मिटर पहरो फुटाउने र पर्खाल लगाएर बाटो निर्माण गरिए मकवानपुरको मनहरीदेखि धादिङको मलेखुसम्मको ५२ किमि सडकको ट्रयाक पूरा हुनेछ । मकवानपुरबाट मुग्लिन हुँदै काठमाडौं जाने सडकको विकल्पको रुपमा तयार हुने अनुमान गरिएको मनहरी–मलेखु सडक सञ्चालनमा आएमा मकवानपुरको विकट राक्सिराङ र कैलाश गाउँपालिकाको विकास हुने विश्वास गरिएको छ ।
उक्त सडक खण्डको सबै भागमा ट्रयाक खोल्ने काम पूरा भए पनि परेवाभीरमा कडा चट्टान फुटाउनुपर्ने र पर्खाल उठाउनुपर्ने भएकाले ठूलो खर्च लाग्ने देखिएपछि सडक निर्माण अघि बढ्न सकेको थिएन । परेवाभीरको दायाँ र बायाँ सडकको ट्रयाक पूरा भइसकेको छ । अब भीरमा सडक निर्माण भए मनहरी–मलेखु सडक छिचोलिने अध्यक्ष मल्ले बताए ।
परेवाभीरमा पैदलमार्ग समेत नहुँदा वर्षायाममा खोलामाथिको भीरबाट यात्रा गर्नुपर्ने बाध्यतामा
राक्सिराङ र कैलाशका स्थानीयहरु छन् । वर्षामा भीरबाट कठिन यात्रा गर्दा लडेर खोलाले बगाउँदा बर्सेनि स्थानीयको मृत्युसमेत हुने गरेको छ । परेवाभीरका कारण स्थानीयलाई ठूलो समस्या भएपछि परेवाभीरको कडा चट्टान फुटाउँदै पर्खाल लगाएर सडक बनाउने विषयमा बहस भइरहेको थियो।