हेटौंडा, / भीमफेदी–कुलेखानी सुरुङमार्ग र जिल्लाको विकट क्षेत्र राक्सिराङ गाउँपालिमामा रहेको परेवाभीरबाट सडक निर्माण गर्न जोड दिइएको छ ।
बागमती प्रदेशको गौरवको योजनाको रुपमा रहेको ‘पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी–सुरुङमार्ग’ र परेवाभीरनिर्माण कार्तिकपछि कहिलेसम्म बन्छ भन्ने विषयमा टुंगोमा पुग्ने जनाइएको छ । रेडियो बुलेटिनले परेवाभीर र भीमफेदी–कुलेखानी सुरुङ मार्ग कहिले बन्छ ? भन्ने बिषयमा आयोजना गरेको
अन्तरक्रिया कार्यक्रममा दुवै विकास निर्माणलाई याथाशिघ्र निर्माण गरिसक्नु पर्नेमा जोड दिइएको हो ।
बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले सुरुङमार्ग र परेवाभीर सडकबारे प्रदेश सरकार गम्भीर भएको बताएका छन् । उनले मुलुक सुरुङमार्गको युगमा प्रवेश गरिसकेको भन्दै भीमफेदी–कुलेखानी सुरुङमार्गलाई प्राथमिकतामा साथ निर्माण गर्ने जानकारी दिए । जसरी पनि उक्त सुरुङमार्ग निर्माण गर्ने दावी मन्त्री फुँयालको छ ।
सुरुङमार्ग निर्माणका लागि परामर्शदाता चयन गर्न अन्तर्राष्ट्रिय बोलपत्रको आह्वान गरिसकिएको उनले बताएका छन् । यसैगरी परेवाभीरको सन्दर्भमा भूगर्वविद् र प्राविधिक अध्ययनको निष्कर्षपछि मात्रै प्रदेश सरकारले कसरी यो बाटोको निर्माणमा सहयोग गर्ने भन्न सकिने मन्त्री फुँयालको धारणा छ । अहिले नै परेवाभीर भएर बाटो बन्ने नबन्ने भन्न नमिल्ने उनको भनाइ छ । उनले प्रदेश सरकार स्थानीय सरकार र संघीय सरकारसँगको सहकार्यबाट काम गर्न चाहेको बताए ।
यसैगरी प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले तीनवटै सरकारले परेवाभीरमा २–२ करोड लगानी गर्दा सडक निर्माणमा कुनै समस्या नहुने तर्क गरे । संघीय सरकार र स्थानीय तहले २–२ करोड लगानी गरिसकेकोले अब प्रदेशले बाँकी दायित्वको जिम्मेवारी लिनुपर्ने धराणा सांसद खतिवडाको छ ।
प्रदेशको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले प्रदेशका प्रत्येक क्षेत्रमा रणनीतिक सडक आवश्यक पर्ने भएकोले परेवाभीर बन्नुपर्छ भन्ने धाराण राखेका छन् । नेकपाका बागमती प्रदेशका प्रमुख सचेतक केशवराज पाण्डेले छोटो बाटोमात्रै नहेरेर सुगमता पनि हेर्नुपर्ने भएकोले सबै हिसाबले अध्ययन गरेर मात्रै निष्कर्षमा पुग्न सबै पक्षलाई आग्रह गरेका छन् । एकले अर्कालाई निषेध नगरी सहयोग गरेर विकासको बाटोमा अगाडि बढ्नुपर्ने उनको भनाई छ ।
गाउँलाई शहरसम्म जोड्न परेवाभीरबाट सडक बन्नुपर्ने प्रदेश सभासदस्य ओमबहादुर ग्लानले बताए । उता प्रदेशसभा सदस्य सन्तबहादुर प्रजाले फरक पार्टीले गाउँपालिका र प्रदेशमा निर्वाचन जितेकोले प्रदेश सरकारले बजेट बिनियोजन नगरेको आरोप लगाए । प्रदेश सभासदस्य प्रभात तामाङले प्रदेश सरकारले सुरुङमार्ग बनाउनेमा शंका व्यक्त गरेका छन् ।