हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासत कक्षमा आत्महत्या प्रयास गरेका एकजनाको थुनुवाको स्वास्थ्य अवस्था नाजुक रहेको बुझिएको छ ।
बालक हत्याको आरोपमा पक्राउ परेका मकवानपुरको पूर्वीक्षेत्रस्थित बकैया गाउँपालिका–६, गडुवानखोबिल्टोका २९ वर्षीय सुवास वाइवाले भदौ २३ गते आत्महत्या प्रयास गरेका थिए । उनका हाल चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको र स्वास्थ्य अवस्था असाध्यै नाजुक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । वाइबाले सोही स्थानका ९ वर्षीय बालकको हत्या गरेको स्वीकार्य बयान दिएसँगै आत्महत्याको प्रयास गरेको मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सुशीलसिं राठौरले जानकारी दिए ।
‘स्थानीय मनिष भोलोन १४ भदौमा गाउँबाट हराएका थिए । त्यसको ६ दिनपछि घरभन्दा २ किलोमिटर टाढा रहेको जंगलमा बालक मृत अवस्थामा फेला परेको थियो । सोही क्रममा अनुसन्धान गर्दै जाँदा दुईजनालाई नियन्त्रणमा लिएका थियौं ।’, उनले अनुसन्धानको क्रममा वाइवाले आफूले मारेको स्वीकारेको बताए ।