हेटौंडा, /२०७२ सालको भूकम्पमा क्षति भएका मकवानपुरका बौद्ध गुम्बाको पुननिर्माणमा निकै सुस्तता देखिएको छ । भूकम्प गएको करिब ४ वर्षपछि गत आर्थिक वर्षबाट मकवानपुरका गुम्बाहरुको मर्मत सुरु गरिए पनि पुननिर्माणको काम भने अझै अघि बढेको छैन ।
भूकम्पपछि गरिएको प्राविधिक सर्वेक्षणअनुसार मकवानपुरमा ४४ वटा गुम्बा मर्मत गर्नुपर्ने सूचीमा राखिएकोमा बितेको आर्थिक वर्ष २०७६÷०७७ मा २५ वटा गुम्बाहरुको मात्र मर्मत सम्पन्न भएको छ । ग्रेड १, २ र ३ मा परेका ४४ वटा गुम्बा मर्मतको लागि पुननिर्माण प्राधिकरणले बजेट छुट्याए पनि २५ वटाको मात्र काम सम्पन्न भएको हो।
४४ वटा गुम्बा मर्मतको लागि प्राधिकरणबाट ३ करोड ६० लाख रुपैयाँ छुट्याइए पनि १९ वटा गुम्बाहरुको मर्मतको काम हुन नसक्दा एक करोड ५ लाख रुपैयाँ फ्रिज भएको छ । २५ वटा गुम्बा मर्मत सम्पन्न हुँदा बितेको आर्थिक वर्षमा २ करोड ५५ लाख रुपैयाँ खर्च भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन ईकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ ।
बितेको वर्ष बजेट छुटयाइएकोमध्ये १० वटा गुम्बाको मर्मत हुन नसक्नुको प्रमुख कारण गुम्बाहरुको आफ्नै समस्या देखिन्छ । पुननिर्माणको सूचीमा परेता पनि उनीहरुसँग आवश्यक कागजात अपुग भएका कारण मर्मत सम्झौता गर्न नपाएका हुन् । पुननिर्माण प्राधिकरणको कार्यविधिअनुसार मर्मत गर्नुपर्ने गुम्बाहरुको नाममा लालपूर्जा नहुनु, गुम्बा दर्ता तथा नवीकण नहुनु, अडिट नहुनु तथा सम्झौताको लागि आवश्यक कागजपत्र उपभोक्ता समितिबाट उपलब्ध नहुनु जस्ता कारणले ती १० वटा गुम्बाहरुको बजेट फिर्ता गएको हो ।
जिल्ला आयोजना कार्यान्वयन ईकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख विमल किशोर केपीका अनुसार अन्य ८ वटा गुम्बाको भने पुननिर्माण नै गनुपर्ने प्रकृतिको देखिएकाले ग्रेड वृद्धिको लागि माग भई आएकाले प्राविधिक प्रतिवेदनसहित केन्द्रमा सिफारिस गरिएको छ । रिन्छेन छोइलिङ गुम्बा, टासी थर्पे छ्योलिङ गुम्बा, देछेन तेनलिङ गुम्बा, दुक्छेद छयोइलिङ गुम्बा, साङ सीटु छयोकुग्ङ गुम्बा, सम्बा छेलिङ गुम्बा र पेमा लिङ गुम्बाको ग्रेड वृद्धिको लागि सिफारिस गरिए पनि हालसम्म ग्रेड वृद्धि भएर आएको छैन ।
१० लाख रुपैयाँ बजेट बिनियोजन भएको विश्कान्तिचत्र संघ ईकाई छुमी ज्याङछुप उग्र्यान पेमा ठिदेन गुम्बाको भने गत वर्ष सम्झौता भएर पनि काम हुन सकेन । ‘ढिलो गरी सम्झौता भयो, सम्झौता लगतै कोरोनाको महामारी सुरु भएकाले काम अघि बढ्न नसक्दा बजेट फ्रिज भयो ।’ कार्यान्वयन ईकाई प्रमुख केपीले भने ।
त्यस्तै देछेन गुम्बा, धर्म धातु गुम्बा, तेर्गेलिङ गुम्बा, पोतला छयोलिङ गुम्बा, डोल्मा लाखाङ गुम्बा, डुग छयोलिङ टसी गुम्बा, देक्षण छयोलिङ गुम्बा झयाङग्छयुब फन्छोग छयोलिङ गुम्बा र रिहो बुद्ध गुम्बाको भने आवश्यक कागजपत्र उपलब्ध नभएको कारण निर्माण सम्झौता हुन नसकेको जिल्ला आयोजना कार्यान्वयन ईकाईको तथ्यांकमा उल्लेख छ ।
जिल्लामा ग्रेड ४ र ५ मा परेका अर्थात पुननिर्माण नै गर्नुपर्ने गुम्बाहरुको संख्या ७९ वटा रहेको छ । ती गुम्बाहरुको पुननिर्माण भने चालु आर्थिक वर्ष २०७७÷०७८ बाट सुरु गर्ने तयारी गरिएको छ । पुननिर्माण प्राधिकरणको ४ र ५ ग्रेडको सूचीमा रहेका मकवानपुरका ७९ वटा गुम्बाहरुमध्ये चालु वर्ष १३ वटा गुम्बा पुननिर्माण गर्न बजेट बिनियोजन गरिएको छ । १३ वटा गुम्बा पुननिर्माणको लागि चालु वर्ष ४ करोड १ लाख ५८ हजार रुपैयाँ बिनियोजन भएको छ । उपभोक्ता समित गठन गरी चालु वर्षभित्रै तोकिएका १३ वटा गुम्बा पुननिर्माण सक्याउने लक्ष्य कार्यालयले राखे पनि पूरा हुनेमा भने चुनौती देखिन्छ । उपभोक्ता समिति वा स्थानीय तहले गुम्बा पुननिर्माणमा ५० प्रतिशत लगानी गर्नुपर्ने प्राधिकरणको कार्यविधिका कारण पुननिर्माण पूरा हुनेमा आशंका उब्जिएको हो ।
उपभोक्ता समितिले ५० प्रतिशत लगानी गर्न नसक्ने अवस्था रहेको भन्द प्राधिकरणको कार्यविधि नै सच्याउनुपर्ने अवस्था रहेको गुम्बा बिहार संरक्षण महासंघ मकवानपुरले जनाएको छ । उपभोक्ताले ५० प्रतिशत लगानी गर्न नसक्ने अवस्था भएपछि गुम्बाहरुको लागि तोकिएको क्षेत्रफललाई घटाएर सरकारी अनुदान ८० प्रतिशत र उपभोक्ताबाट २० प्रतिशत पर्ने गरी पुननिर्माण सम्झौता गर्न लागिएको गुम्बा बिहार संरक्षण महासंघ मकवानपुरका अध्यक्ष निरु थिङले बताए ।
‘प्राधिकरणको कार्य विधिका कारण हामीलाई पुननिर्माणमा अप्ठेरो अवस्था सिर्जना भएको छ । उपभोक्ताले ५० प्रतिशत लगानी गर्न नसक्ने भएपछि गुम्बाको प्राविधिक स्टिमेट घटाएर सरकारी अनुदानलाई ८० प्रतिशत बनाउने गरी सम्झौता गर्ने सहमति भएको छ ।’ थिङले भने । प्राविधिक स्टिमेट घटाउँदा न्युनतम छसय स्क्वायर फिट भन्दा तल झर्न नपाउने भनिएकाले चालु वर्षमा पुननिर्माण सुरु हुन लागेका १३ वटामध्ये ५ वटा गुम्बाको भने काम अघि बढ्नै नसक्ने अवस्था देखिएको छ । ती ५ वटा गुम्बालाई ६ सय स्क्वायर फिट निर्माणको लागि बजेट प्राप्त भएको छ । त्यसको लागत स्टिमेट घटाउन नमिल्ने भएपछि उपभोक्ता समितिले ५० प्रतिशत लगानी बेहोर्नुपर्ने बाध्यता देखिन्छ ।
त्यस्तै बितेको वर्ष मर्मतको लागि बजेट पाएर सम्झौता हुन नसकेका गुम्बाहरुलाई पुनः बजेट बिनियोजन गरिनुपर्ने माग गुम्बा बिहार संरक्षण महासंघको छ । कोरोना भाइरसको महामारीका कारण कागजपत्र जुटाउन नसकिएको र सम्झौता हुन नसकेको भन्दै पुनः बजेट बिनियोजन गर्दै मर्मत सम्झौता यसवर्ष गर्न प्राधिकरणसँग माग गरिएको महासंघ मकवानपुरका अध्यक्ष थिङले बताए ।
चालु आवमा पुननिर्माण गर्नुपर्ने सूचीमा परेका गुम्बाहरुमा हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्रका ५ वटा, बागमती गाउँपालिकाको २ वटा, ईन्द्रसरोबर गाउँपालिकाको २ वटा, बकैया, मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाको एक÷एक वटा रहेको जिल्ला आयोजना कार्यान्वयन ईकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका सब ईन्जिनियर सन्तोषप्रसाद न्यौपानेले जानकारी दिए । पहिलो चरणमा पुननिर्माण हुन लागेका सूचीमा परेका गुम्बाहरुको उपभोक्ता समिति गठन गरी पुननिर्माणको सम्झौताको लागि आह्वान गर्ने तयारी कार्यालयले गरिरहेको छ ।