हेटौंडा/ मकवानपुर जिल्लामा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या दैनिक बढिरहेको छ । सोमबार मात्र मकवानपुरमा ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा संक्रमितको संख्या करिब एकहजार नाघेको छ । सोमबार हेटौंडामा र चितवनमा गरेको पीसीआर परीक्षणमा मकवानपुरका ७१ जनामा कोरोना संक्रमित फेला परेको हो ।
हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक प्रयोगशलामा गरिएको परीक्षणमा ५६ जनामा र चितवनको चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा मकवानपुरका १५ जनामा कोरोना पुष्टि भएको हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंले जानकारी दिए । उनका अनुसार जिल्लामा कोरोना संक्रमितको संख्या हालसम्ममा एकहजार ५३ पुगेको छ भने मकवानपुरमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भइसकेको छ । ‘कोरोना लागेको दुईजनामा मात्र दीर्घ रोग थिएन । अन्यमा थियो ।’, चौलागाईंले भने ।
उनले मकवानपुरमा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको बताए । ‘परिवारको कुनै सदस्यमा कोरोना देखिएको खण्डमा सम्पूर्ण परिवारमै संक्रमण भएको पाइएको छ ।’, चौलागाईंका अनुसार विशेष गरी प्रहरी र औद्योगिक मजदुरसहित अन्य जिल्लाबाट मकवानपुर आएकाहरुमा कोरोना संक्रमण
बढिरहेको छ ।चौलगाईका अनुसार सोमबार हेटौंडामा पुष्टि भएको ५६ जनामध्ये २६ महिला र ३० पुरुष
रहेका छन् । भदौ २८ गते स्वाब संकलन भएको १८४ जनाको स्वाब परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो। चितवनमा कोरोना संक्रमण पुष्टि भएको १५ जनामध्ये हेटौंडा उपमहानगरपालिकाका १३ पुरुष र १ महिला मनहरी गाउँपालिकाका १ पुरुष गरी १५ जना रहेको चितवन मेडिकल कलेजका डाक्टर नविन कुमार चौधरीले जानकारी दिए ।