हेटौंडा, / मकवानपुरमा रहेका नेपाली सेनाका युनिटहरुमा आइसोलेसन निर्माण हुने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले सोमबार आइसोलेसन निर्माण गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमणको जोखिमलाई रोकथाम तथा संक्रमितहरुलाई उपचार सेवा प्रदान गर्न नेपाली सेनाको विभिन्न युनिटहरुमा आइसोलेसन निर्माण गरिने भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिएका छन् । उनका अनुसार नेपाली सेनाको मुख्यालयले आइसोलेसन निर्माण गर्न निर्देशन दिएको थियो ।
सेनाका युनिटहरुमा निर्माण गरिने आइसोलेसनमा संक्रमित सेनाहरुलाई मात्र राखेर उपचार गरिने गर्तौलाले जानकारी दिए । ‘यो आइसोलेसन सेनाहरु संक्रमित भएको अवस्थामा उनीहरुमलाई मात्र राखेर उपचार गरिनको लागि बनाइदैछ ।’, उनले भने ।जिल्लास्थित सेनाका ब्यारेकहरुमा ९० शैयाको आइसोलेसन कक्षको स्थापना गर्ने निर्णय गरिएको हो । मध्यपृतनापति हेडक्वाटर सुपारेटार, श्रीदलगण चित्लाङ, श्री नं. एक जगदलगण सुनाचुरी, काली इन्जिनियरिङ दलगण भैंसे, पुरानो गोरखगण सुपारेटार, श्री नं. ३ कुलेखानी, भीमफेदीस्थित प्लास्टिक उद्योग र छतिवन ब्यारेकमा आइसोलेसन वार्ड स्थापना गरिने गर्तौलाले जानकारी दिए । आइसोलेसनमा रहेका बिरामीलाई सेनाकै चिकित्सकीय टोलीले उपचार सेवा उपलब्ध गराउने छ ।