अन्य विभिन्न क्षेत्रसंगै शिक्षाका क्षेत्रमा कोभिड–१९ का कारणले पुगेको क्षति अपुरणीय बनेको छ । यो विश्वव्यापी महामारी भएकाले सहँदै संघर्ष गर्नुको बिकल्प रहेन । यी भनाईहरु ब्यक्तिविशेष लक्षित नभएपनि समग्रमा प्रतिनिधिमूलक भने पक्कै हुन् । यस आलेखको आशय कुनै ब्यक्ति तथा संस्थाप्रति आरोप भने पटक्कै होइन । टिप्पणीहरुको यथार्थता स्वभाविकरुपले अध्ययनकर्ताहरुमा भर पर्दछ । यस आलेखमा सबै जिम्मेवार संस्था र क्षेत्रको भावना तथा दृष्टिकोण चाहेर पनि समेट्न सकिएन । संक्षिप्तमा मूल आशय समेट्ने प्रयत्न गरिएको छ ।
१. शिक्षक स्कूल पुग्नै पर्दछ । हाजिर हुनै पर्दछ । विद्यार्थीलाई बोलाउने स्थिति छैन । अवस्था विषम र असहज भएकाले शिक्षण संस्थाहरु बिगत झैं सञ्चालनको अनुमति छैन । शिक्षण सिकाई सहजीकरणका हामीले निर्देशिकामार्फत् तोकेको ५ वटा वैकल्पिक विधिहरु अनलाईन कक्षा, कम्प्युटर कक्षा, टिभी तथा रेडियो कक्षा र मोबाइल फोनको प्रयोग, सम्पर्कबाट र घरदैलोमा पुगेर वा सिकाई केन्द्रहरु स्थापना गरी शिक्षकहरुले विद्यार्थीसंग शैक्षणिक क्रियाकलापमा जोडिनु पर्दछ ।
– सरकार
२. वातावरण उपयुक्त नभएकाले हाम्रा बालबालिका स्कूल पठाउने स्थिति छैन । स्कूल बन्द भएको हालको अवधिको शुल्क तिर्दैनौं । केटाकेटीहरु काम नपाएर बिग्रने भए । वैकल्पिक विधिहरुको प्रभावकारी कार्यान्वयन हुनुपर्दछ । शैक्षिक सत्र खेर नजाओस् । कुनै न कुनै प्रकारबाट पढाई जोडिनु पर्दछ । यो कोरोना भन्ने पनि कहिले मरिसक्ने हो, अति दिक्क बनायो ।
– अभिभावक
३. हामी निदाएका छैनौं । प्रमाणको रुपमा ननिदाएका शिक्षकहरुको श्रृङ्खला हेरे हुन्छ । क्षमता बिस्तार र प्रविधिको दक्षता अभिवृद्धिका लागि तालिम, विषयगत तालिम, मेची महाकाली माइक्रोम्याराथनजस्ता कार्यक्रम सञ्चालन र सहभागिता ज्ञातै होला । सरकारले भन्नुअघि नै सम्भव भएसम्म जुम तथा गुगल मिटका माध्यमबाट अनलाईन कक्षाहरु चलाएका छौं । टिभी र
रेडियोका कक्षाको पनि अभ्यास गरिरहेका छौं । समुदायमा पुगेर टोल र गाउँका चोकहरुमा कक्षा गरेका छौं । सुरक्षा सावधानी अपनाएर सम्पर्क कक्षामा जोडिएका छौं । हामी घरमा सुतिरहेका छैनौ, शिक्षण संस्थामा प्रत्येक दिन हाजिर भै आफ्ना विद्यार्थीहरुको शैक्षणिक गतिविधिमा सहयोग पुग्ने काममा ब्यस्त छौं ।
– शिक्षक
४. स्कूल कलेज कहिले खुल्ने हो ? हामी कहिलेबाट पढ्न जाने हो ? अनलाइन कक्षा त बोर भयो । सुरुमा त रमाइलै लागेको हो । आजकाल त बुझ्नै गाह्रो भएको छ । नेट पनि राम्रो छैन । विद्युत् पनि डिस्टर्व भइरहन्छ । हाम्रोतिर त नेटमात्र हैन, बिजुली नै छैन । हाम्रोमा त कम्प्युटर पनि छैन । टिभी पनि राम्रो छैन । मोबाइल फोन पनि गतिलो भए पो । किताब त छ तर घरमा पढ्नै मन लाग्दैन । आजकाल त सरहरु, म्यामहरुसंग सम्पर्क नै छैन भन्दा हुन्छ, कफ्र्यु तथा लकडाउनको कारणले होला । लामो समयसम्म स्कूल, कलेज जान नपाएर छटपटी नै भएको छ । यो वर्ष खेर जान हुँदैन । कक्षा १० को जस्तै हाम्रो पनि स्कूल, कलेजबाट नै नम्बर पठाएर रिजल्ट हुनु पर्दछ । हामी त जाँच दिँदैनौं । जाँच दिन जाने मानसिकतामा हामी छैनौं ।
– विद्यार्थी
५. शिक्षकहरुको प्रयास राम्रो छ । शिक्षकहरु साँच्चै निदाएका रहेनछन् । ननिदाएका र आफ्नो कर्ममा लागिरहेका शिक्षकहरुप्रति सम्मान छ, सलाम छ । कूल शिक्षक संख्याको दश प्रतिशत पनि अहिले शैक्षणिक क्रियाकलापमा संलग्न छैनन् । पेसामा इमान्दारपूर्वक खटिरहेका लगनशील शिक्षकहरु सदैव मर्यादित छन् । जुम बैठक र आसनग्रहणबाट मात्र सबै शिक्षक क्रियाशील छन् भन्न सकिन्न । पारिश्रमिक त सबैले पाएकै छन्, पाउने छन् । देशका सबै शिक्षकहरु अनिवार्यरुपमा शैक्षणिक क्रियाकलापमा जोडिन पर्दछ । सरकारी संयन्त्रले पनि सान्दर्भिक र पर्याप्त विजिनेश दिनु पर्दछ । यो वृद्धभत्ता तथा अन्य सामाजिक सुरक्षा भत्ता त हैन । केहि न केहि त गर्नैपर्छ । जागिरको सोझो पनि गर्न पर्ला । शैक्षिक सत्र कुनै हालतमा पनि कोल्याप्स गर्नु हुँदैन । वैकल्पिक विधिहरुमा थप प्रभावकारिता ल्याउनु पर्दछ । आवश्यकताअनुसार पुनर्संयोजन तथा पुनब्र्यवस्थापन गर्न जरुरी छ । अधिकांश शिक्षकहरुको खेर गइरहेको महत्वपूर्ण समयको उपयोगितामा सम्बद्ध पक्षहरुको गम्भीर ध्यानाकर्षण गर्दछौं ।
– शिक्षाका विज्ञहरु
६. शिक्षा हेर्न कर्मचारी नै छैनन् । भए पनि नाममात्रका र पर्याप्त छैनन् । दक्ष, सक्षम र इमान्दार कर्मचारीको अभाव छ । सधैं बजेटको मात्र कुरा उठ्छ । तलब त हामीले नियुक्ति पाएको मितिबाट सुरु भै हाल्यो नि, काम गर्न पर्ने भए अतिरिक्त थप भत्ता चाहियो भन्छन् । सास फेर्दा पनि भत्ताको माग गर्न बेर छैन । तलब, भत्ताबाहेक शिक्षाको बजेट अत्यन्त न्यून छ । आवश्यक शिक्षक दरबन्दी छैन । सधैं शिक्षक अपुग भएरै गुज्रिरहेको स्थिति छ । संविधानले स्थानीय तहलाई माध्यमिक तहसम्मको शिक्षा सुम्पिए पनि हामी त माथिका संघीयस्तरका हौं भनेर हामीलाई टेर्दैनन् । जनप्रतिनिधिहरु त मध्येयुगिन शासकजस्ता शिक्षक तह लगाउन आएका भन्ने आरोप हामीमाथि छ । हामीलाई शिक्षक र कर्मचारी दुबैले टेर्दैनन् । शिक्षण संस्था बन्द भएकोमा र बन्द गर्नु परेकोमा हामीमा पीडा छ । शैक्षिक सत्र खेर फाल्नु हुँदैन । हामीले गर्न सक्ने काम र सहयोगका लागि तयार छौं । यो अवस्थाको चाँडो अन्त्य चाहन्छौं ।
– स्थानीय जनप्रतिनिधिहरु
७. माथिको निर्देशन नै छैन । काम गर्ने कर्मचारीको अभाव छ । हामीलाई तलबका फाइल हेर्न त भ्याई नभ्याई छ । शैक्षणिक योजना त धेरै टाढाको कुरा हो । शिक्षकहरु त विवरण बनाउन, पत्राचार गर्न, अभिलेख राख्न, सिकाई उपलब्धि पत्ता लगाउन, हिसाब मिलाउनेजस्ता काममा त धेरै पछाडि रहेछन् । खासै केहि गर्नै नआउने माष्टरहरु यत्ति र उत्ति अनुभव भनेर गफमात्र दिन्छन् । शिक्षक पनि नटेर्ने र जनप्रतिनिधिले पनि हामीलाई सधैं भ्रष्ट मात्र देख्ने हुँदा हामी खिन्न छौं, काम गर्ने जाँगर पनि छैन । सबैले हेप्नमात्र खोज्छन् । हामी त आयोगको जाँचबाट नाम निकालेर पो जागिर खाको त । कसैले टीका लगाएर दिएको पनि त हैन । सुविधा पनि राम्रो छैन । अरुले कत्ति प्रगति गरे, आफू सधैं उस्तै । हाम्रो त स्रोत नै छैन ।
– शिक्षाका कर्मचारीहरु
अन्तमा, उल्लेखित भनाईहरु केहि तीतो पनि लाग्न सक्छ । भनिन्छ, सत्य सधैं मिठो त हुँदैन नै । सहजतामा त समय दिन नसक्नेहरु विद्यमान शैक्षिक अवस्थाको तहसनहस स्थितिमा भुईंका अभिव्यक्तिहरु सुन्ने पढ्ने फुर्सद त हुने कुरै भएन । अनेकौं उपयुक्त र सान्दर्भिक भनाई र गराई पिंधका मान्छेबाट पनि आएका हुन्छन् भन्ने सत्य हामी भुल्न सक्दैंनौं । सरोकारवर्ग के भन्छन् अनि के चाहन्छन्, यो विषय थप अनुसन्धानसँग जोडिएको छ । समस्याको समाधान टाढा हुन सक्छ । सबैतिर एकैप्रकारका स्थिति पनि त छैनन् । हामीले आफ्नो ठाउँको सूक्ष्म अध्ययन विश्लेषण गरी सम्भव भएसम्मका उपाय अवलम्बन गर्नु पर्दछ । यसमा जिम्मेवार अंगहरुको सक्रियता अहिलेको आवश्यकता हो ।