हेटौंडा/मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाको जनकल्याण माविलाई स्कूल बस सहयोग वापत उपलब्ध भएको छ ।
सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले थाहा नगरको जनकल्याण माविलाई आइचर कम्पनीको स्कूल बस उपलब्ध गराएको हो । विद्यालयमा विद्यार्थी आवागमनको सहज व्यवस्थापन गर्न विद्यालयले पहिलेदेखि नै बस सुविधा संचालनका लागि पहल गर्दै आएको थियो । विद्यालयले बस सहयोग पाएको अध्यक्ष राजीवकुमार स्याङतानले जानकारी दिएका छन् ।
प्रदेश सरकारले प्रदेशका २५ वटा विद्यालयलाई बस उपलब्ध गराउने भएपछि जनकल्याण छनोटमा परेको थियो। विद्यालयमा बस आएपछि तत्काललाई बज्रवाराही र दामन क्षेत्रका विद्यार्थी ओसारपसार गर्ने गरी बस संचालनको योजना बनाउने तयारी भइरहेको अध्यक्ष स्याङ्तानको भनाइ छ । बज्रवाराही क्षेत्रका लागि पालुङ क्याम्पसका विद्यार्थीहरुलाई समेत सुविधा पुग्ने उनले बताए ।
नेपालीहरुको महान चाड विजया दशमीपछि विद्यालय संचालनसँगै विद्यार्थीहरुसँग न्यूनतम शुल्क लिएर बस संचालन गर्ने तयारी विद्यालय व्यवस्थापन समितिको योजना रहेको छ ।