हेटौंडा/बागमती प्रदेशको एकमात्र उपमहानगरपालिका हेटौंडाले किसानका लागि पशु प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
उपमहानगरपालिका क्षेत्रका साना किसानका लागि पशु पालनमा प्रवद्र्धन कार्यक्रम ल्याइएको हो । साना किसानलाई लक्षित गरी गाई, बाख्रा, बंगुर र पाडापाडी प्रवद्र्धन कार्यक्रम गर्न लागिएको उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले जानकारी दिए । नगरका विभिन्न क्षेत्रमा गाई प्रर्वद्धन कार्यक्रमका लागि २१ लाख ३३ हजार रुपैयाँ बजेट छुट्याइएको महतले बताए ।
लागत साझेदारीमा बंगुर प्रर्वद्धन कार्यक्रमका लागि चालू आर्थिक वर्ष २०७७÷०७८ मा १० लाख रुपैयाँ छुट्याएर काम गर्न लागिएको नगर प्रमुख महत बताउँछन् । हेटौंडामा साना र व्यवसायिक बाख्राको उत्पादन पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरिने भएको छ ।
चालू आर्थिक वर्षभित्र उपमहानगरपालिकाले १५ लाख रुपैयाँ छुट्याएर बाख्राको उत्पादन पकेट क्षेत्र विकास कार्यक्रम गर्न लागेको जनाइएको छ । यसैगरी कृषि र पशुपंक्षी सम्बन्धी तथ्यांक अध्यावधिक कार्यक्रम पनि गर्न लागिएको प्रमुख महतले बताए । तथ्यांक अध्यावधिक कार्यक्रमका लागि १ लाख रुपैयाँ बजेट छुट्याइएको छ । हेटौंडामा मिनी डिजिटल मोबाइल माटो ल्याब स्थापना तथा परीक्षणका लागि सशर्त अनुदान बापत ५ लाख रुपैयाँ उपलव्ध गराउन लागिएको छ । उपमहानगरले युवाहरुलाई कृषिमा समाहित गराउन प्रोत्साहन कार्यक्रम पनि ल्याएको छ । जसमा ड्रागन खेतीका लागि प्रोत्साहन गर्न २ लाख रुपैयाँ बजेट छुट्याइएको नगर प्रमख महत बताउँछन् ।