हेटौंडा/ कोरोना भाइरसका कारण देशमा लागू गरिएको लकडाउनसँगै ठप्प भएको पर्यटन व्यवसाय पुनः सुचारु भएको छ । करिब ७ महिनादेखि ठप्प रहेको मकवानपुरको पर्यटन व्यवसाय पुनः पुरानै लयमा फर्कने संकेत देखा पर्न थालेको छ । गतचैत ११ गतेयता भएको लकडाउनपछि आन्तरिक तथा बाह्य पर्यटक आवतजावत ठप्प भएकोमा मकवानपुरका पर्यटकीय गन्तव्यको रुपमा रहेको उत्तरी क्षेत्रमा यस हप्ता पर्यटकको संख्या ह्वात्तै
बढेको छ ।
पर्यटन आवतजावत पनि सहज बन्दै गएको अवस्थामा चाडपर्वको लामो विदाको कारण केही दिनदेखि मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने मार्खु, चित्लाङ, थाहा नगरपालिकाको सिमभन्ज्याङ, दामन, पालुङ क्षेत्रमा पर्यटकको घुइँचो बढ्न थालेका छन् । पर्यटकको संख्या बढेसँगै होटल व्यवसायीहरु उत्साहित बनेका छन् । लामो समयदेखि व्यापार ठप्प रहेको व्यवसाय केहीदिनदेखि घुम्न र बास बस्न आउनेको संख्या बढेको थाहा नगरपालिका–९ चित्लाङमा रहेको चित्लाङ अग्र्यानिक भिलेज रिसोर्टका सञ्चालक देवेन्द्र नेपालले बताए । ‘अहिले शुक्रबारको दिन ५०–६० जनासम्म बास बस्न आउँछन् । अरु दिन पनि फाट्टफुट्ट घुम्न आइरहेका
छन् ।’, नेपालले भने । कोरोना संक्रमण फैलने डरले आफूहरुले स्वास्थ्य सुरक्षामा पनि ध्यान दिइएको उनले बताए । ‘गाउँ वरिपरीको सौन्दर्य देखाइन्छ । संक्रमणको डरले पर्यटकहरुलाई गाउँको मुख्यभागमा घुमाउन लैजाने गरिएको छैन । रिसोर्टमा पनि विशेष स्वास्थ्य सावधानी अपनाइन्छ ।’ उनले भने ।
चित्लाङमा विशेष गरी काठमाडौंबाट आउने पर्यटकको संख्या बढी छ । परिवारसहित एक रात बिताउने गरी चित्लाङमा काठमाडौं र हेटौंडाबाट पर्यटक आउने गरेको होटल व्यवसायीहरु बताउँछन् । चित्लाङमा हाल दुइवटा रिसोर्ट र करिब डेढ दर्जन होमस्टे सञ्चालनमा रहेका छन् ।
त्यस्तै उत्तरी मकवानपुरको थाहा नगरस्थित दामन पालुङ क्षेत्रमा पनि पर्यटकको आवागमन बढेको छ । प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै खाने र घुम्नको लागि आउनेको संख्या बढेको थाहा नगर होटल एशोसिएसनका अध्यक्ष शिवकुमार खत्रीले जानकारी दिए । ‘दसैंअघिसम्म त व्यापार ठप्पै थियो । दसैंको बिदा परेको कारणले पनि होला । केहीदिनदेखि घुम्न आउनेहरु बढेका छन् । यही हिसाबले पर्यटक बढ्दै गए व्यवसाय पुनः तग्रिंन्थ्यो ।’ खत्रीले भने । थाहानगर को सिमभन्ज्याङ, दामन, पालुङ र चित्लाङमा गरी एक सय ३३ वटा होटल तथा लजहरु एशोसिएसनमा आवद्ध छन् ।
कोरोना महामारी सुरु भएसँगै होटलहरु घाटामै थिए । पर्यटकको चाप बढ्न थालेपछि पुरानै लयमा व्यवसाय फर्कनेमा उनीहरु आशाबादी बनेका छन् ।
त्यस्तै गत चैत ११ गतेबाट भएको लकडाउनयता बन्द भएको डुङ्गा शयर पुनः सुरु गरिएको छ । ईन्द्रसरोबर गाउँपालिका–१ मार्खुस्थित ईन्द्रसरोबर तालमा तीनदिनअघिदेखि डुङ्गा चलाउन थालिएको हो ।
दसैंको अवधिमा पर्यटक ह्वात्तै बढेसँगै डुङ्गा चलाउन थालिएको इन्द्रसरोबर डुङ्गा व्यवसायी संघका अध्यक्ष कृष्णबहादुर भोम्जनले जानकारी दिए । उनका अनुसार अहिले दिनमै ८ सय देखि ९ सय जनासम्म डुङ्गा चढ्न आउने गरेका छन् । ‘दसैंको बेला काठमाडौंबाट धेरै मानिसहरु घुम्न आउन थालेपछि हामीले डुङ्गा चलाउन थालेका हौं । अहिले दिनमै ८–९ सय जनाले डुङ्गा चढिरहेका छन् ।’, उनले केहिदिन यता दैनिक जसो डुङ्गा चढ्नेहरुबाट ७० हजार रुपैयाँको हाराहारीमा आम्दानी भइरहेको बताए । ‘डुङ्गा व्यवसाय त एकाएक पुरानै अवस्थामा फर्किएको छ ।’ भोम्जनले हाल तालममा १० सिटको २ वटा र ३ सिटको एउटा मोटरबोट सञ्चालनमा ल्याइएको छ।
काठका डुङ्गा भने ५–६ वटा मात्रै सञ्चालनमा छन् । लामो समय थन्किएका कारण काठका डुङ्गा कुहिएका कारण मर्मत भइरहेको अध्यक्ष भोम्जनले बताए ।
डुङ्गा चढ्ने र विभिन्न स्थानहरुमा घुमेर बास बस्नेको संख्या पनि निकै बढेर्को इन्द्रसरोबर गाउँपालिका–१ का अध्यक्ष जमानसिं वाइबाले जानकारी दिए ।
लामो समयपछि केहीदिनयताबाट मार्खुको पर्यटन व्यवसायमा सुधार आएको वाइबाले बताए । मार्खुमा अहिले करिब ३ दर्जन वटा होटल, रेष्टुरेन्ट तथा लज सञ्चालनमा रहेको वडाध्यक्ष वाइबाले बताए ।