हेटौंडा/कोरोना भाइरसका कारण ठप्प रहेको हेटौंडा औद्यागिक क्षेत्रभित्रका उद्योगहरु केही समयअघिदेखि खुलेपनि पूर्णक्षमतामा सञ्चालनमा आउन सकेका छैनन् ।
देशकै ठूलो हेटौंडा औद्योगिक क्षेत्रभित्रका उद्योगहरु कोरोना महामारीका कारण सरकारले गरेको लकडाउनसँगै बन्द भएका थिए । सरकारले स्वास्थ्य मापदण्ड तोकेर उद्योग खुलाएको दुई महिना बित्दासमेत उद्योगहरु पूर्णक्षमता सञ्चालनमा आउन नसकेको हो । ‘औद्योगिक उत्पादनको बजार माग नै कमजोर छ । जसको कारणले गर्दा उद्योगहरु बढीमा ५० प्रतिशत उत्पादन गरिरहेका छन् ।’, उद्योग संघ हेटौंडाका अध्यक्ष लेखराज पोखरेलका अनुसार विशेष गरी निर्माण सामग्री उत्पादन गर्ने, फर्निचर तथा रंग उद्योगहरुको उत्पादन ज्यादै न्यून छ ।
औद्योगिक क्षेत्रमा रहेको १ सय ११ वटा उद्योगमध्ये हाल ९० प्रतिशतमात्र सञ्चालनमा
रहेका छन् । ‘सार्वजनिक यातायात सुचारुसँगै मजदुर आउन थालेपछि प्रायः उद्योगहरु सञ्चालनमा आएका छन् । बाँकी उद्योगहरु बजार मागहुँदा सञ्चालन हुने अन्य समयमा बन्द हुने गरेका छन् ।’, हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड कार्यालयका प्रमुख राजेन्द्र कँडेलका अनुसार अत्यावश्यक सामाग्री र खाद्यान्न उत्पादन गर्ने उद्योगहरु लकडाउनको समयमा पनि सञ्चालनमा थिए ।
यसवर्ष औद्योगिक उत्पादन घटेपछि हेटौंडाको निर्यात व्यापार घट्ने निश्चित छ । हेटौंडा औद्योगिक क्षेत्रको निर्यात व्यापारमा पछिल्लो समय निरन्तर गिरावट आइरहेको छ । आर्थिक वर्ष २०७५÷७६ को तुलनामा बितेको आर्थिक वर्ष २०७६÷७७ मा निर्यात व्यापारमा झण्डै २ करोड रुपैयाँभन्दा बढीले गिरावट आएको थियो । आर्थिक वर्ष २०७५÷७६ मा मकवानपुरको निर्यात व्यापार ३८ करोड ५० लाख रुपैयाँ रहेकोमा बितेको वर्ष ३६ करोड ११ लाखमा सीमित बन्न पुगेको हो ।
उद्योगहरु पूर्णरुपमा सञ्चालनमा नआउँदा करिब दुईहजार जनाले रोजगारी गुमाइसकेका छन् । औद्योगिक क्षेत्रका उद्योगमा करिब पाँचहजार ५ सयजना रोजगाररत् थिए । उद्योग सञ्चालनमा आएपनि ४० प्रतिशतसम्म घाटा व्यहोरेर उद्योग सञ्चालन गर्नुपर्ने भएपछि कर्मचारी तथा मजदुर कटौती गरेको उद्योगहरुले जनाएका छन् । पोखरेलका अनुसार कोरोना संक्रमणको अवस्था सामान्य भएपछि र उद्योग पूर्णरुपमा सञ्चालनमा आएपछि उनीहरुलाई पुनः काममा फर्काइनेछ । ‘उद्योगहरु पहिले कै अवस्थामा सञ्चालनमा आउन अवस्था सामान्य भएपछि पनि कम्तिमा ६ महिना लाग्छ ।’, पोखरेलले थपे ।
कोरोनाकै कारण औद्योगिक क्षेत्रले हाल मासिक करिब ३३ करोड रुपैयाँ राजश्व घाटा व्यहोरिरहेको छ । औद्योगिक क्षेत्रबाट दैनिक एकरोड रुपैयाँभन्दा बढी राजश्व घाटा भइरहेको व्यवस्थापन कार्यालयको तथ्यांकले जनाएको छ । ‘हेटौंडा औद्योगिक क्षेत्रबाट राज्यले दैनिक एककरोड रुपैयाँ भन्दा बढी राजश्व गुमाइरहेको छ । हामीले संकलन गरेको तथ्यांक अनुसार हाल मासिक
करिब ३३ करोड रुपैयाँ भन्दाबढी राजश्व घाटा भइरहेको देखिन्छ ।’, कार्यालय प्रमुख कँडेलले उद्योगहरु पूर्णरुपमा नियमित सञ्चालन हुँदाको अवस्थामा औद्योगिक क्षेत्रबाट सरकारले मासिक १ अर्ब रुपैयाँ भन्दाबढी राजश्व संकलन गर्ने गरेको थियो । ‘अहिले दैनिक कति राजश्व संकलन हुन्छ भन्न सकिँदैन । कहिले बढी हुन्छ कहिले कम । औद्योगिक उत्पादन र बजारीकरणमा अहिलेको राजस्व संकलन निर्भर भइरहको छ ।’, उनले थपे ।औद्योगिक क्षेत्रमा हाल १३५ वटा उद्योगहरु रहेकोमा १११ वटा सञ्चालनमा रहेका छन् । सातवटा खारेज भएका छन् भने १७ वटा उद्योगहरु निर्माणाधिन अवस्थामा रहेका छन् । औद्योगिक क्षेत्रमा निजी क्षेत्रको करिब ५ अर्ब ५० करोड र सरकारी लगानी ९० करोड रहेको कार्यालयले जनाएको छ ।