दशैंपछि आउने हिन्दू नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकि“दै छ । सांस्कृतिक, प्राकृतिक तथा पारिवारिक महत्व बोकेको यस चाडलाई धुमधामसँग मनाउने योजना बनिरहेको होला । तर, यसवर्ष कोरोना भाइरसको महामारीले त्रसित बनाएको अवस्थामा तिहारको रौनक पनि कम हुने स्वभाविक छ । दशैं, तिहारजस्ता चाडपर्वमा अनावश्यक हिँडडुल नगर्न र जो जहाँ छ, त्यहीँ मनाउन सरकारले आह्वान गरिरहेको छ । कतिपय ठाउँमा तिहारको समयमा खेलिने देउसी भैलोमाथि प्रतिबन्ध नै लगाइएको छ । तर, तिहारको एउटा विकृतिको रुपमा रहँदै आएको पटाका पड्काउने प्रचलनलाई भने कोरोना महामारीले पनि रोक्ने सम्भावना देखिएको छैन । भारतसँगको सबैजसो सीमानाकामा मानिसको आवतजावत कडाई गरिँदा पनि अवैधरुपमा पटाका भित्रिरहनुले तिहारलाई पटाकारहित बनाउन कठिनाई हुने निश्चित छ ।
हामी नेपालीहरुको मौलिक चाड तिहारको विशेष चिनारी तथा मनोरञ्जनको रुपमा देउसी–भैलोलाई लिइन्छ । यसवर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण सामूहिकरुपमा खेलिने देउसी–भैलो खेल्नेक्रम निकै कम हुने अनुमान गर्न सकिन्छ । देउसी–भैलो खेल्ने मानिसहरु नै न्यून हुने हुँदा देउसी–भैलोको नाममा हुने कतिपय विकृत क्रियाकलाप स्वत कम हुने सम्भावना छ । विशेषगरी धेरै दिनसम्म देउसी–भैलो खेल्ने, भनेको जति पैसा नदिए दुव्र्यवहार गर्ने, विदेशी गीत–संगीतको प्रयोग गर्नेजस्ता देउसी–भैलोका विकृति यसपटक कम हुने आशा गर्न सकिए पनि धेरै किसिमले हानिकारक हुनसक्ने पटाका नियन्त्रणलाई भने कोरोना महामारीले पनि रोक्ने सम्भावना देखिन्न । नेपालमा पटाकाको बिक्रीवितरण तथा प्रयोग गैरकानुनी मानिन्छ । नेपालमा कतै उत्पादन नहुने पटाका भारतका विभिन्न सीमावर्ती शहरबाट लुकाएर भिœयाउने गरिएको छ । पटाकाको ओसारपसार, बेचविखन तथा पड्काउने काम निरुत्साहित गर्न प्रहरी प्रशासनले विभिन्न ठाउँमा चेकजाँच गरी भेटिएमा जफत गर्ने गरेको भए पनि प्रभावकारी नियन्त्रण हुन नसकेको विगतले देखाउँछ । यस वर्ष कोरोना महामारीका कारण पटाका भित्रन कम होला भन्ने आम मानिसको अनुमानविपरित पटाका धमाधम भित्रिरहेको तथ्यलाई विभिन्न ठाउँमा प्रहरीले पटाका बरामद गरेको समाचारले पुष्टि गर्दछ । नाकाबाट मानिसको आवागमन बन्द भएको अवस्थामा विभिन्न समान ओसार्ने सवारी साधनबाटै पटाका भित्रिएको हुनसक्नेतर्फ प्रहरीको थप निगरानी हुनु आवश्यक छ ।
साना बालबालिका तथा किशोरकिशोरी बढी आकर्षित हुने पटाका कुनै पनि दृष्टिकोणबाट फाइदाजनक छैन । पटाकाबाट निस्कने तेजिलो प्रकाश र आवाजले आँखा तथा मुटुलाई असर गर्दछ । त्यसबाट निस्कने धुवा“ले वातावरण दूषित हुन्छ । पटाका पड्काउ“दा आगलागीको सम्भावना रहन्छ । चोटपटक लाग्ने र शरीर जल्ने सम्भावना पनि त्यत्तिकै हुन्छ । पटाका आयातमा ठूलो रकम विदेशिन्छ । यसैले पटाकाजन्य वस्तुको प्रयोग निरुत्साहित गर्न आवश्यक जनचेतनासँगै ओसारपसार तथा बेचविखन नियन्त्रणका लागि प्रहरी प्रशासनले थप कडाई गर्नु उचित हुनेछ ।