हेटौंडा/बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको तीन महिनामा करिब ३ अर्ब राजस्व संकलन गर्न सफल भएको छ । असोज मसान्तसम्ममा २ अर्ब ६९ करोड ६५ लाख रुपैयाँ राजस्व संकलन भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
प्रदेशले तीन महिनाको अवधिमा चालु आव ०७७÷७८ को कुल राजस्व संकलन लक्ष्यको १२ दशमलव ९४ प्रतिशत राजस्व संकलन गर्न सफल भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । प्रदेशले चालु आर्थिक वर्षमा २० अर्ब ८३ करोड ७९ लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको छ । बितेको ३ महिनाको अवधिमा प्रदेशले गरेको आन्तरिक आम्दानीमध्ये सबैभन्दा
धेरै सवारी साधन करबापत एक अर्ब २४ करोड १८ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै मूल्य अभिवृद्धि कर बाँडफाँडबापत पनि प्रदेशले ९५ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी पाण्डेले बताए ।
अन्तशुल्क बाँडफाँडबाट पनि बितेको तीन महिनामा प्रदेशले २५ करोड ९० लाख ६४ हजार रुपैयाँ आम्दानी गरेकोमा घरजग्गा रजिष्टे«शन दस्तुर १९ करोड २१ लाख रुपैयाँ संकलन गरेको लेखा नियन्त्रक कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । यसबाहेक प्रदेशले विज्ञापन कर, मनोरञ्जन कर, रेडियो एफएम र टेलिभिजन सञ्चालन दस्तुरलगायतबाट पनि सामान्य आम्दानी गरेको देखिएको छ ।
प्रदेशले तीन महिनाको अवधिमा संघीय सरकारबाट प्राप्त गर्ने कुनै पनि अनुदान प्राप्त नगरेको देखिएको छ । चालु आवमा प्रदेशले संघीय सरकारबाट विभिन्न शीर्षकमा १७ अर्ब ८६ करोड ९८ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने अनुमान गरेको छ । पहिलो चौमासिक सकिएपछि संघीय सरकारबाट प्राप्त हुने अनुदानहरु निकासा हुन थाल्ने लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
बितेको आर्थिक वर्ष ०७६÷७७ मा पनि प्रदेशले राजस्व संकलनमा उल्लेख्य प्रगति गरेको देखिएको छ । प्रदेशको कुल आम्दानी लक्ष्यको ९९ दशमलव ४८ प्रतिशत प्रगति हासिल भएको थियो । संघीय सरकारबाट प्राप्त हुने अनुदान लक्ष्यको पनि ९२ दशमलव ०८ प्रतिशत आम्दानी प्राप्त भएको थियो । राजस्व बाँडफाँडबाट प्राप्त हुने आयमा पनि ७८ दशमलव ७० प्रतिशत प्रगति भएको देखिएको छ । प्रदेशले बितेको आवमा ६ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक स्रोतबाट आम्दानी गर्ने लक्ष्य राखेकोमा लक्ष्यको एक सय ८९ प्रतिशत बढी १२ अर्ब ७८ करोड ७३ लाख रुपैयाँ आम्दानी भएको थियो ।