हेटौंडा/साविकको हटिया गाविसमा पर्ने राजदेवीका स्थानीय कच्ची सडक प्रयोग गर्दै आएका थिए । हटिया हेटौंडा उपमहानगरपालिका हुँदा नगरमा गाभियोउपमहानगरपालिका भएपछि देशमा संघीयता आयो । स्थानीय सरकार आएपनि २ वर्षसम्म कच्ची सडकबाटै हिँड्न राजदेवीबासी विवश थिए । अब भने कच्ची सडकबाट ओहोरदोहोर गर्नुपर्ने बाध्यता राजदेवीबासीलाई हट्ने भएको छ । हेटौंडा उपमहानगरपालिकाले राजदेवीमा
२ करोडमा सडक कलोपत्रे गर्ने कार्य सुरु गरेको छ ।
वर्षौदेखि कच्ची सडकबाट हिँडेका स्थानीयले केही समयमै कालोपत्रेसहितको पक्की सडक प्रयोग गर्न पाउने भएपछि खुशी भएका छन् । ‘म राजदेवी बसाई सरेर आएदेखि कच्ची सडक छ । मोटरसाइकलमा हिँड्नै समस्या हुने । नगरबासी भएर पनि कच्ची सडकबाट ओहोरदोहोर गर्दा मन खिन्न हुन्थ्यो । अब सडक कालोपत्रे हुने खबरले खुशी भएको छु ।’, अनिल धमलाले भने । हेटौंडाका नगर प्रमुख हरिबहादुर महतले कालोपत्रे सडक निर्माण कार्यको शिलान्यास गरेका छन् । एक दशमलब ५ किलोमिटर सडक निर्माण गरेपछि राजदेवीबासीलाई आवतजावतमा सहज हुने महत बताउँछन् । नयाँ प्रविधिको आक्सपान पिचबाट सडक पक्की बनाउन लागिएको छ । उपमहानगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट राजदेवीमा सडक कालोपत्रे गर्न लागिएको नगर प्रमुख महतले बताएका छन् ।उपमहानगरपालिकाले कालोपत्रेसँगै ढल निर्माण गर्ने भएको हो । हेटौंडा बजार क्षेत्रबाट नजिकै भएपनि पक्की सडकका हिसाबले पछाडि परेको राजदेवीमा भौतिक पूर्वाधारको विकासलाई प्राथमिकतामा राखेर अघि बढेको महतले बताए । उपमहानगर–पालिकाले नगरलाई कच्ची सडक मुक्त बनाउने अभियानमा लागेको छ ।