हेटौंडा/ नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय नेतृत्वका लागि मकवानपुरबाट दुईजनाको उम्मेदवारी परेको छ । मकवानपुरको उद्योग बाणिज्य संघका पूर्वअध्यक्षद्वय अरुणराज सुमार्गी र राजकुमार न्यौपानेले महासंघको केन्द्रीय सदस्यतर्फ उम्मेदवारी दर्ता गराएका हुन्। सुमार्गी उद्योग बाणिज्य संघ मकवानपुरको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवार बनेका हुन् भने न्यौपाने थाहानगर उद्योग बाणिज्य संघको तर्फबाट चुनावमा
होमिएका हुन् । लामो समयको रस्साकस्सीपश्चात् मकवानपुर उद्योग बाणिज्य संघले सुमार्गीलाई केन्द्रीय सदस्यको रुपमा उम्मेदवार बनाएपछि न्यौपानेले थाहा नगरबाट टिकट लिएका थिए । महासंघको केन्द्रीय नेतृत्वको उम्मेदवार बन्नका लागि जिल्ला वा नगरबाट अनिवार्य सिफारिस आवश्यकता पर्दछ ।
सुमार्गीले किशोर प्रधान र न्यौपानेले चन्द्रप्रकाश ढकालको प्यानलबाट उम्मेदवार भएका हुन् । जिल्ला तथा नगर, वस्तुगत र एसोसिएटतर्फबाट केन्द्रीय सदस्य पदका आकांक्षीहरूले उम्मेदवारी दर्ता गराइसकेका छन् । महासंघको ५४औं वार्षिक साधारणसभा तथा कार्यकारिणी समितिको निर्वाचन मंसिर ११ र १२ र वार्षिक साधारणसभा तथा १३ गते निर्वाचन हु“दैछ । गत चैतमा हुनुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगन भएको थियो ।
केन्द्रीय सदस्यको उम्मेदवार सुमार्गीले आफ्नो जित सुनिश्चत भएको दावी गरे । उनले खुल्लातर्फ १०६ मत रहेको र १८ सदस्य चुनिने बताए । ‘राष्ट्रिय अध्यक्षसम्म बन्ने उद्देश्य लिएर मैले निर्वाचनमा पाएको जिम्मेवारी बहन गरिरहेको छु ।’, सुमार्गीले निर्वाचनमा आफूले प्रचारप्रसार संयोजकको जिम्मेवारी पाएको बताए । ‘एक चरणको देशभरको भ्रमण भइसकेको छ ।’, उनले भने ।
न्यौपानेले पनि आफ्नो जित सुनिश्चित रहेको दावी गरे । उनले आफू ढकाल पक्षको चुनावी अभियानमा रहेको बताए । उनका अनुसार प्रदेशतर्फ १६ मत रहेको छ । ‘उम्मेदवारी दर्ता भइसकेको छ । अन्तिम नामावली प्रकाशन मंसिर ५ गते हुनेछ ।’, उनले आफू अध्यक्ष भइसकेको शाखाले निषेधको राजनीति गरेको भएपनि उम्मेदवार बनेको र आफ्नो जितलाई कसैले रोक्न नसक्ने बताए ।