हेटौंडा/ तत्कालीन नारायणी यातायात व्यवसायी संघको चल अचल सम्पति भागबन्डा गर्नुपर्ने भनी केही समूहले अनुचित रुपमा उजुरबाजुर गरी दुःख दिएको भन्दै रुपान्तरित कम्पनीले राजनीतिक दलहरुलाई ध्यानाकर्षण गराएको छ । संघको सम्पत्तिको सुरक्षा गरिदिन रुपान्तरित कम्पनी पुरानो नारायणी यातायात व्यवसायी कम्पनी प्रालिले मकवानपुरका राजनीतिक दलहरुलाई आग्रह गरेको हो ।
नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई बिहीबार ज्ञापनपत्रसहित ध्यानाकर्षणपत्र बुझाउँदै तत्कालीन संघको सदस्यता नै छाडिसकेका व्यक्तिहरुले नियोजित रुपमा कानुनले तोकेविपरीत सम्पतिमा दावी गरेको भन्दै कम्पनीले त्यस्तो कार्य रोकिदिन राजनीतिक साथ आवश्यक रहेको बताएको हो । कम्पनीका अध्यक्ष हिरालाल श्रेष्ठ, प्रबन्ध सञ्चालक सरोजकुमार खनाललगायतको टोलीले नेपाली काँग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछाने र नेपाल कम्युनिष्ट पार्टी मकवानपुरका ईन्चार्ज विरोध खतिवडालाई छुट्टाछुट्टै भेटी ज्ञापनपत्र बुझाइएको हो । काँग्रेस कार्यबाहक सभापति लामिछानेमार्फत मकवानपुर सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र दिइएको थियो ।
नारायणी यातायात व्यवसायी संघका दुई कार्यकालसम्म अध्यक्ष भइसकेका गोकर्णप्रसाद पराजुलीको नेतृत्वको समूहले संघको सम्पति भागबन्डा हुनुप¥यो भनी असम्बन्धित निकायमा उजुरी गरी हैरानी दिइएको कम्पनीले राजनीतिक दलहरुलाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । ‘साविक
नारायणी यातायात ब्यबसायी संघको कार्य समितिको समुहगत निर्वाचनमा पराजय भोगेका एकहुल झुण्ड यातायात व्यवसायीहरुले आफ्नो हार स्वीकार्न नसकी इविलाग लिई राज्य सत्ताको दुरुपयोग गरी ऐन कानुनलाई आफ्नो हातमा लिई यस संघको सम्पत्ति भागबण्डा हुनुप¥यो भनि असम्बन्धित निकायहरुमा उजुरी गर्दै हिँडी पटक पटक दुःख हैरानी दिई रहेका छन् ।’ ध्यानाकर्षणपत्रमा भनिएको छ । ‘निजहरुको उजुरीको आधारमा साविक संस्थाको चल अचल सम्पत्तिको सम्बन्धमा अनावश्यक विवाद श्रृजना गरी अड्डा अदालत धाउन बाध्य बनाइएको छ ।’साविक नारायाणी यातायात ब्यबसायी संघको अचल सम्पत्ति र त्यसको प्रयोग तथा व्यवस्थापनको सम्बन्धमा सर्वोच्च अदालतमा रिट निवेदन विचाराधीन रहेको छ । संघका विरुद्धमा उजुरी गर्दै हिड्ने तत्वले पछिल्लो पटक गृहमन्त्री तथा यातायात मन्त्री समेतको उपस्थितिमा पुरानो नारायणी यातायात कम्पनी प्रालि र नारायणी संघ हेटौंडाको केही सवालमा निर्णय गराई सो निर्णय कार्यान्वयन गराउन उजुरकर्ताहरु जिल्ला प्रशासन धाइरहेको कम्पनीको दावी रहेको छ ।
यातायात क्षेत्रका संघ समितिहरु कम्पनीमा रुपान्तरण भई संचालित हुनुपर्ने व्यवस्था बनेसँगै तत्कालीन नारायणी यातायात व्यवसायी संघले मूनाफा वितरण नगर्ने कम्पनीमा जाने विकल्प रोजेको थियो । मन्त्रिपरिषद् बैठकबाट साविक संघ समितिको बैंक खातामा भएको रकम रुपान्तरित कम्पनीको बैंक खातामा सार्ने निर्णय भएबमोजिम साविक नारायणी यातायात व्यवसायी संघको विभिन्न बैंकमा रहेको मौज्दात रकम रुपान्तरित कम्पनी, पुरानो नारायणी यातायात कम्पनी प्रालिको बैंक खातामा सरिसकेको छ । अचल सम्पत्ति रुपान्तरित प्रालिको नाममा हस्तान्तरण वा समायोजन गर्नेबारे हालसम्म कुनै कार्यविधि एवम् ठोस नीति नियम बनिनसकेको अवस्थामा संघको सदस्यता नै नरहेका व्यक्तिहरुले सम्पति भागबन्डाको अड्को थापी दुःख दिन खोज्नु नाजायज भएको कम्पनीले जनाएको छ । यातायात व्यवसायीहरुको हकहितमा आफूहरु समर्पित रहेको भन्दै कम्पनीको रक्षाको लागि राजनैतिक संरक्षण पनि अपरिहार्य भएको भन्दै कम्पनीले आवश्यक साथ र सहयोगका लागि राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।