मकवानपुर जिल्लाका हेटौंडा उपमहानगरसहित सबै स्थानीय तहमा एम्बुलेन्स सञ्चालनमा छ । जिल्लाभर तीन दर्जनको हाराहारीमा एम्बुलेन्स रहेको भए पनि पछिल्लो समय एम्बुलेन्स सेवा सहज बन्न सकेको छैन । विशेषगरी कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै भनेको समयमा एम्बुलेन्स सेवा नपाउने समस्या बढ्दै गएको छ । दिउँसोको समयमा एम्बुलेन्स पाउन केही सहज भए पनि रातिको समयमा धेरै समस्या हुने गरेको छ । एम्बुलेन्सजस्तो आपतकालीन सेवाप्रति चालकहरु जिम्मेवार र गम्भीर नहुँदा एम्बुलेन्सको अभावमा समयमै अस्पताल पुग्न नसकेकै कारणले विरामीको ज्यान जाने सम्भावना बढेको छ । कसैले निःशुल्क दिएर वा सरकारबाट छुट सुविधा पाएर सेवाभावले सञ्चालनमा ल्याइएको एम्बुलेन्स तोकिएको शुल्क तिरेर बिरामीलाई अस्पताल लैजान खोज्दा पनि नपाउनुले एम्बुलेन्स सेवाको अव्यस्थालाई उजागर गरेको छ ।
एम्बुलेन्स भनेको बिरामीलाई छिटोछरितो तथा सुरक्षित ढंगले अस्पतालसम्म पु¥याउने साधन हो । एम्बुलेन्स अरु सवारी साधनजस्तो निश्चित समयतालिकाअनुसार सञ्चालन हुँदैन । एम्बुलेन्स सधैं तयारी अवस्थामा रहनुपर्ने भएकाले यसका चालक पनि चौबीसै घन्टा तयारी अवस्थामा रहनुपर्ने हुन्छ । कुनबेला बिरामीलाई कहा“ पु¥याउनु पर्छ भन्ने पहिल्यै निर्धारित हुदैन । मानवीय सेवामा समर्पित हुनुपर्ने एम्बुलेन्स आकस्मिकरूपमा बिरामीको आवागमनमा मात्र प्रयोग हुनुपर्छ । बेलाबेलामा कतिपय एम्बुलेन्सलाई विभिन्न सामान तस्करी तथा मानिस ओसार्नसमेत प्रयोग गर्ने गरेकोबाट यसको दुरुपयोगतर्फ पनि चनाखो बन्नुपर्ने देखिन्छ। एम्बुलेन्सलाई अन्य काममा प्रयोग गर्दा वा कुनै काममा प्रयोग नै नगर्दा सिकिस्त बिरामीलाई अस्पताल पु¥याउन एम्बुलेन्स नपाएर बिरामीको ज्यान जाने अवस्था आउन सक्छ । दिन–रात, जाडो–गर्मी केही नभनी बिरामी ओसार्न एम्बुलेन्ससँगै यसको चालक तथा सञ्चालन गर्ने संस्थाको अहम् भूमिका रहन्छ । सेवामूलक कार्य भए पनि सबै एम्बुलेन्सले तोकिएको भाडा लिएर नै बिरामी ओसार्ने गर्दछन् । एम्बुलेन्स सेवालाई मात्र व्यापार बनाइनु कुनै हिसाबले उचित हुँदैन । कतिपय एम्बुलेन्स चालकहरुले टाढा बिरामी ओसार्न नमान्ने तथा बढी भाडा माग्ने गरेको गुनासो बढेको छ । आफूले भनेजस्तो नभएमा एम्बुलेन्स नै बिग्रिएको वा आफू विरामी लिएर बाहिर गएकोजस्ता झुुटा कारण देखाएर एम्बुलेन्स चालक पन्छिने गरेको गुनासोको सुनुवाई हुनुपर्छ ।
अहिलेको महामारीकालमा थप एम्बुलेन्स सञ्चालनमा ल्याएर सहजता दिनुपर्नेमा भएका एम्बुलेन्सहरु नै नचलाइनुले बेथिति उजागर गर्दछ । समयानुकूल भाडा तथा चालकको सेवा सुविधाको व्यवस्था गरेर एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउनु आवश्यक छ । सबै एम्बुलेन्सहरुलाई एउटै निकाय र नियमको मातहतमा सञ्चालन
गरेर नियमित अनुमगन तथा नियमनको आवश्यकता टड्कारो बनेको छ । प्रत्येक एम्बुलेन्समा जीपीएस सिष्टम जडान गरी नियमनकारी निकायबाट प्रभावकारी अनुमगन गर्ने र सेवा प्रवाहमा लापरबाही गर्नेलाई कडा कारबाही गर्न सकेमा एम्बुलेन्स व्यवस्थापन सहज हुने विश्वास गर्न सकिन्छ ।