देश कोरोना भाइरस संक्रमणको महामारीबाट गुज्रिँदै गर्दा आम नागरिकले भने अनेकन् समस्याहरु झेल्नु परिरहेको छ । कोरोना भाइरस संक्रमणको जोखिमबीच जेनतेन दिनचर्या अघि बढाइरहेका सर्वसाधारण उपभोक्ताहरु थप आक्रान्त बनिरहेका छन् । कोरोना भाइरस महामारीसँगै गरिएको लामो समयसम्मको लकडाउनले आर्थिक तथा सामाजिक क्षेत्रमा ठूलो असर पुगिरहेको बेलामा सर्वसाधारण उपभोक्तालाई भने बजारमा महंगीले ढाड सेक्न थालेको छ । अत्यावश्यक खाद्यान्न, तरकारी, गेडागुडीको मूल्य बढिरहेको मात्र छैन, उपभोक्ताले उपभोग गर्दै आएका वस्तुहरु गुणस्तरहीन हुने गरेको छ । त्यतिमात्र नभई अधिकांश उद्योगी तथा व्यापारीले अनुमतिपत्रबिनाका नापतौलका साधन प्रयोग गर्दा र नापतौलका साधन जँचाएर आवधिक नवीकरण नगर्दा नापतौलमै उपभोक्ता ठगिनुपर्ने बाध्यता बनिरहेको छ ।
मकवानपुरको हेटौंडा तथा आसपासमा सञ्चालनमा रहेका अधिकांश उद्योगहरुले नापतौल यन्त्रको जाँच अनुमतिबिना विभिन्न वस्तुहरु उत्पादन गरेर बिक्री गरिरहेका छन् । हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरुमध्ये ७८ प्रतिशतभन्दा बढी उद्योगहरुले नापतौल यन्त्रको जाँच अनुमतिपत्र तथा काँटाको जाँच अनुमतिपत्र नलिएको पाइएको हो । गुणस्तर तथा नापतौल विभागबाट नापतौल यन्त्र र काँटाको जाँच अनुमतिपत्र लिएरमात्रै नापतौल यन्त्र सञ्चालन गर्नुपर्ने प्रावधान औद्योगिक क्षेत्रका एकसय ११ उद्योगमध्ये २५ वटाले मात्र पालना गरेको पाइएको छ । गुणस्तर तथा नापतौल विभाग, क्षेत्रीय कार्यालय वीरगञ्जले वर्षेनि हेटौंडामा सामान्य ढक–तराजुदेखि नापतौलका विभिन्न यन्त्रहरुको जाँच गर्ने सुविधाको लागि टोली खटाउने गरेको भए पनि अधिकांश उद्योगी तथा व्यापारीले त्यसलाई बेवास्ता गर्दा उपभोक्ताले नापतौलमै ठगिनुपर्ने सम्भावना देखिएको
छ । हेटौंडामा गुणस्तर तथा नापतौल विभाग, क्षेत्रीय कार्यालय विरगञ्जका चार कर्मचारीसहितको टोली कात्तिक २१ गतेदेखि नापतौल यन्त्र जाँच गरी नवीकरण गर्ने उद्देश्यले बसिरहेको भए पनि तीन दिनमा ६० व्यावसायिक फर्मले मात्रै नापतौल यन्त्रको नवीकरण गर्नुले अधिकांशले नापतौल यन्त्रको जाँच तथा नवीकरण गर्ने नगरेको बुझ्न सकिन्छ । जबकि, प्रत्येक दुई वर्षमा ढक तराजु र लिटर तथा डिजिटल इलेक्ट्रोनिक नापतौल यन्त्रको जाँच गराई प्रमाणिकरण गराउनुपर्ने प्रावधान रहेको छ । यसरी प्रमाणिकरण बिनाका नापतौलका यन्त्रले लिएको नापतौल सही नहुने र त्यसबाट उपभोक्ता ठगिने अवस्था आउनुले नियमनकारी निकाय गम्भीर बन्न नसकेको प्रष्ट हुन्छ ।
प्रत्येक उद्योग तथा पसलहरुले नापतौल यन्त्रको जाँच गराएर कारोबारका लागि अनुमतिपत्र लिनुपर्ने कानुनी प्रावधानको पालना गर्नैपर्छ । नापतौलका साधन सही नहुँदा उपभोक्तामात्र नभई व्यवसायी पनि मर्कामा पर्नसक्ने सम्भावना रहन्छ । तर, कतिपय व्यवसायीले उपभोक्तालाई ठगी गर्ने मनसायले नै नापतौलका साधन बिगारेर कम परिमाणका सामान बिक्री गर्ने अवस्था आउन नदिन नियमनकारी निकाय कठोर बन्नैपर्छ । नियमनकारी निकायले प्रभावकारी अनुगमन गरेर लापरबाही गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनु जरुरी छ ।