हेटौंडा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाको परिवारलाई स्थानीय तहले दिने घोषणा गरेको राहत उपलब्ध गराउन ढिलाई भएको छ ।
मकवानपुरको दुईवटा स्थानीय तहले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा कोरोना भाइरसबाट मृत्यु भएकाहरुको
परिवारलाई राहतस्वरुप नगद उपलब्ध गराउने घोषणा गरेका थिए । हेटौंडा उपमहानगरपालिकाले कोरोनाबाट मृत्यु भएकाको प्रतिपरिवार तीनलाख रुपैयाँ र थाहा नगरपालिकाले एकलाख रुपैयाँ उपलब्ध गराउने घोषणा बजेट वक्तव्यमा गरेका थिए । थाहा नगरपालिकाले मृतकको
परिवारलाई उपलब्ध गराउने घोषणा गरेको राहत वितरण प्रक्रिया अगाडि बढाइसकेको मेयर लवशेर विष्टले जनाएका छन् । हेटौंडा उपमहानगरपालिकाले भने आफ्नो घोषणालाई घोषणामै सीमित राख्ने देखिएको छ ।
‘हामीले घोषणा गरेको रकम चालुआर्थिक वर्षभित्र कोरोना भाइरसबाट मृत्यु भएकाको सम्पूर्ण परिवारलाई उपलब्ध गराउनेछौं ।’, थाहा नगरपालिकालका मेयर लवशेर विष्टले बार्षिक योजना र कार्यक्रम बनाउँदा कोरोना यति धेरै लामो समयसम्म संक्रमण रहन्छ जस्तो नलागेको बताए । ‘हामीले कोरोना संक्रमितको उपचारका लागि आवश्यक तयारी गरेका छौं । सोही क्रममा पनि नगरको धेरै बजेट खर्च भएको छ । तर, हामी मृतकको परिवारका लागि घोषणा गरेको राहत रकम उपलब्ध गराउँछौं ।’, उनका अनुसार हालसम्म थाहा नगरमा तीनजनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।
‘नीति तथा कार्यक्रम भएको घोषणा हामीले पूरा गर्नुको विकल्प छैन ।’, उनले कोरोना भाइरसको कारण लामो समय लकडाउनहुँदा नगरपालिकाको आन्तरिक आय कमजोर देखिएको बताए । ‘यसवर्ष नगरको आन्तरिक आय कमजोर छ । संसार नै कोरोना भाइरसको महामारीसँग जुधिरहेको अवस्थामा हामी पनि लड्नुको विकल्प छैन ।’, उनले भने ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतका अनुसार तत्काललाई आफूहरुले घोषणा गरेको रकम उपलब्ध
नगराइने बताए । ‘कोरोनाबाट यति धेरै मानवीय क्षति हुन्छ भनेर हामीले अनुमान नै गर्न सकेनौं । जसको कारणले गर्दा हामीले घोषणा गरेको राहत रकम तत्काल उपलब्ध गराउँदैनौं ।’, उनका अनुसार मृतकको परिवारलाई दिने भनेको रकमको विषय नीति तथा कार्यक्रममा समेटिएको भएपनि कार्यान्वयन हुने सम्भावना न्यून
रहेको छ । हालसम्म हेटौंडा उपमहानगरभित्र १९ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।
‘कोरोना संक्रमितको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री र आइसोलेसनलगायत अन्य काममा करिब एककरोड रुपैयाँभन्दा बढी खर्च हामीले गरिसकेका छौं । अझै खर्च भइरहेको छ । जसको कारणले गर्दा हामीले घोषणा गरेको राहत रकम उपलब्ध गराउने अवस्था छैन ।’, मेयर महतले भने । मेयर महतले सरकारले घोषणा गरेको लकडाउन र आर्थिक क्षेत्रमा परेको असरका कारण उपमहानगरको आन्तरिक आय पनि घटेको
बताए । ‘तोकिएको विकास निर्माणको काम पनि गर्नुपर्ने अवस्था छ । आन्तरिक आय पनि घटेको छ । त्यसकारण यसवर्ष हामी विकास निर्माण र कार्यालय सञ्चालनलाई बढी प्राथमिकता दिनेछौं ।’, मेयर महतले भने ।
उनले लकडाउनको समयमा विभिन्न क्षेत्रमा रोजगारी गुमेकाको परिवारलाई खाद्यान्न तथा अन्य सामग्रीहरु सहयोग गरेको स्मरण गराए । ‘हामीले हातमुख जोड्न समस्या भएकाहरुलाई खाद्यान्न वतरण ग¥र्यौ । अझै पनि भाइरसको अन्त्य भइसकेको छैन । जसको कारणले हामीले घोषणा गरेको राहत तत्काल कार्यान्वयन प्रक्रिया अगाडि बढाएका छैनौं ।’, उनले थपे ।
हेटौंडा उपमहानगरपालिका भित्र हालसम्म करिब दुईहजार जनलाई कोरोना संक्रमण भइसकेको छ । सरकारले लकडाउनलाई खुकुलो बनाएसँगै मकवानपुर जिल्लामा विशेष गरी हेटौंडा उपमहानगरसहित अन्य स्थानीइ तहमा पनि कोरोना संक्रमण ह्वात्तै बढेको छ । सरकारले तोके अनुसारको स्वास्थ्य मापदण्ड पालना गर्नेको सर्वसाधारणको संख्या पछिल्लो समय घटेसँगै संक्रमित बढेको हो ।
विभिन्न चाडपर्वको कारण पनि हेटौंडा बजार क्षेत्रमा भीड बढेसँगै कोरोना संक्रमित बढेको हो । अहिले कोरोना भाइरसको परीक्षण दायर पनि साँघुरो बनाइएको कारण समुदायस्तरमा फैलिएको कोरोनाको संक्रमण घट्ने सम्भावना न्यून रहेको छ । ‘कोरोनाबाट बच्नका लागि सरकारले तोके अनुसारकोस्वास्थ्य मापदण्ड अपनाउनुको विकल्प छैन । तर, अहिले पालना भइरहेको छैन । जसको कारणले गर्दा संक्रमित अझै बढ्दैछन् ।’, बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम राज सेढाईंले जाडोको समयमा अझै कोरोना संक्रमणको दर बढ्ने अवस्था अहिले देखिएको छ।