हिन्दू नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार नजिकै आइसकेको छ । भोलि शुक्रबारबाट तिहार पर्व सुरु हुँदैछ । तिहार आउनुुअघि नै यसको रमझम सुरु भइसकेको छ । मुख्य तीन दिनसहित पाँच दिनको तिहारको सबै दिनको आ–आफ्नै विशेषता छन् । तर, यसवर्ष कोरोना महामारीका कारण तिहारलाई विगतमा जस्तो धुमधाम मनाउँदा भाइरस संक्रमणको जोखिम बढ्नेतर्फ सचेत रहनु आवश्यक छ । तिहारको समयमा बजारमा किनमेलका लागि हुने भिड कम गर्न तथा भिडबाट बच्न अनि गाउँघरमा भिडभाड हुनेगरी कुनै पनि गतिविधि नगर्न उत्तिकै ध्यान दिनु पर्छ । तिहारको अवसरमा गरिने विभिन्न सांस्कृतिक तथा परम्परागत क्रियाकलापले समाजमा विकृति बढाइरहेकोतर्फ पनि आम नागरिकको चासो र चिन्ता आवश्यक छ ।
प्राकृतिक तथा कृत्रिम फूल तथा बत्तीको झिलीमिली पारेर मनाइने भएकाले तिहारलाई दीपावली पनि भन्ने गरिन्छ । तिहार पर्व सुरु भएसँगै घरको झ्याल, ढोका तथा वरण्डामा फूल तथा बत्तीको झिलीमिलीले छुट्टै खुशीयाली तथा रौनकता प्रदान गर्दछ । बहुसांस्कृतिक पर्वको रुपमा मनाइने गरेको तिहारले प्रकृति र मानवबीचको सम्बन्धलाई पनि जोड्ने गरेको छ । तिहारको पहिलो दिन कागको पूजा गरिन्छ । यसै दिन आयुर्वेदकी देवी धन्वन्तरी जयन्ती पनि मनाइन्छ । दोस्रो दिन कुकुरको पूजा गरिन्छ । तेस्रो दिन गाईको पूजा गरिन्छ । यसैदिन साँझमा लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीपूजाको दिन भैलो खेल्ने र गोरु तिहारको दिन देउसी खेल्ने परम्परा पनि छ । चौथो दिन गोरु तथा गोवद्र्धन पर्वतको पूजा गरिन्छ । चौथो दिन नै नेवार समुदायले म्ह पूजा पनि गर्छन् । यसैदिन नेपाल सम्बतको नयाँ वर्ष सुरु हुन्छ । यसवर्ष तिथिका कारण कुकुरतिहार र लक्ष्मीपूजा एकैदिन परेको छ भने गाई÷गोरु तिहार पनि एकैदिन परेको छ । तिहारको अन्तिम दिन भाइटीका लगाएपछि तिहार समाप्त हुन्छ । दाजुभाइ–दिदीबहिनीका बीचमा सम्बन्ध राम्रो बनाउने तिहारमा दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायूको कामना गर्दै ‘भाइटीका’ लगाइदिने चलन छ । यसरी मानव र पशुपÔीका बीचमा रहनुपर्ने पारस्परिक सम्बन्धलाई प्रगाढ बनाउन तिहारको विशेष महत्व देखिन्छ । तर, पछिल्ला वर्षहरुमा तिहारको संस्कृति र परम्पराको नाममा हुने गरेका कतिपय कार्यले विकृति बढाइरहेको पाइन्छ ।
तिहारलाई सभ्य र सुरक्षित रुपमा मनाउनु आवश्यक छ । कोरोना भाइरस संक्रमणको जोखिमका साथै विभिन्न विकृति बढाउने पटाकालाई पूर्णरुपमा निषेध गर्नु आवश्यक छ । चाडपर्वमा मनोरञ्जन गर्ने नाममा हुने गरेका मद्यपानलाई पनि विस्तारै न्यूनीकरण गर्नुपर्ने देखिन्छ । दशैं–तिहारको समयमा खेलिने जुवातासले पनि कोरोना संक्रमणको जोखिम बढाउनुका साथै अन्य विकृति ल्याउने हुनाले यसप्रति आम नागरिक नै सचेत बन्नुपर्छ । तडकभडकरुपमा खेलिने देउसी, भैलोलाई पनि पछिल्लो समय विकृतिको एउटा नमूना मानिन थालेको हुँदा यसतर्फ पनि ध्यान पु¥याउनु उचित हुनेछ । कुनै पनि चाडपर्वले विकृति बढाउनु राम्रो होइन । अझ यसवर्ष त कोरोना भाइरस संक्रमणको महामारी चलिरहेको अवस्थामा यस्ता विकृतिसँगै स्वास्थ्य मापदण्ड पालना गर्दै सुरक्षित चाड मनाउनुको विकल्प छैन ।