हिन्दू नेपालीहरुको दोस्रो ठूलो पर्वको रुपमा चिनिने गरेको तिहार सुरु भएको छ । तिहारलाई यमपञ्चक पनि भन्ने गरिन्छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक कृष्ण द्वितीयासम्मको ५ दिनलाई यमपञ्चक भनिन्छ । यमपञ्चक सुरु भएसँगै तिहार सुरु भएको मानिए पनि औंसी, प्रतिपदा र द्वितीया तीन दिनलाई तिहारको विशेष दिन मानिन्छ । शास्त्रीय परम्पराअनुसार यमपञ्चक अर्थात् तिहारको पहिलो दिन कागतिहार, दोस्रो दिन कुकुरतिहार, तेस्रो दिन लक्ष्मीपूजा अर्थात् गाईतिहार, चौथो दिन गोवद्र्धन पूजा अर्थात् गोरुतिहार र अन्तिम दिन भाइटीका अर्थात् भाइतिहार मनाउने गरिन्छ । यस वर्ष तिथिको घटबढका कारण कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन परेको छ भने गोरुतिहार र गाईतिहार पनि एकैदिन परेको छ ।
तिहार सबै हिन्दू नेपालीले मनाउने गरेको भए पनि यस अवसरमा विभिन्न जातजाति तथा समुदायअनुसारका फरक फरक प्रचलनहरु रहेको पाइन्छ । मधेशी समुदायले तिहारका मुख्य दिनहरुलाई ‘त्यौहार’ अर्थात् दीपावली पर्वको रुपमा मनाउने गर्दछन् । नेवार जातिले तिहारका सबै धार्मिक, सांस्कृतिक परम्परालाई मनाउनुका साथै कात्तिक कृष्ण प्रतिपदाका दिन विशेषरुपमा ‘म्ह’ पूजा गर्दछन् । यसै दिनबाट नेपाल सम्बत्को नयाँ बर्ष पनि सुरु हुने गर्दछ । तिहार पर्वमा विशिष्ट धार्मिक, सांस्कृतिक परम्पराहरु
रहेका छन् । तर, अन्य पर्वजस्तै तिहारका कतिपय परम्परालाई पछिल्लो समय तडकभडक, नक्कल गरेर विकृत बनाउने कार्य भइरहेको हुँदा यसले तिहारको मौलिकतामा नकारात्मक असर पुग्ने सम्भावना देखिन्छ । तिहारमा दीपावली गर्न धेरै खर्च गर्ने, पटाका÷भुइँचम्पा पड्काउने, जाँडरक्सी खाने र जुवातास खेल्नेजस्ता विकृतिले तिहारको महत्वलाई कमजोर बनाउँदै लैजान्छ । यस्ता कार्यले अनुत्पादक खर्च बढाउनुका साथै धनी–गरिबबीच थप असमानता सृजना गर्दछ । यसैगरी तिहारमा मनोरञ्जनका लागि खेलिने देउसी भैलो पनि विकृत बन्दै गएको छ। देउसी भैलो खेल्ने क्रममा विदेशी गीत÷संगीतको प्रयोग गर्दै विदेशी संस्कृतिको नक्कल गर्ने, देउसी खेल्दा जबर्जस्ती बढी दक्षिणा माग गर्ने अनि संकलित दक्षिणालाई सदुपयोग नगर्ने परिपाटी बढ्दै जानु चिन्ताको विषय बनेको छ । कोरोना भाइरस संक्रमणको जोखिमकै बीच नेपालीको घरआँगनमा तिहार सुरु भइसकेको छ । तिहारको सुरुवातसँगै किनमेल तथा अन्य तयारीका लागि मानिसको भिड बढ्न थालेको छ । यसले कोरोना संक्रमणको जोखिमलाई थप बढाउने हुँदा सबैले उच्च सतर्कता अपनाउनु आवश्यक देखिन्छ । आफ्ना धार्मिक, सांस्कृतिक परम्परा अनुसारका चाडपर्वहरु सौहार्दरुपमा मनाउने क्रममा अरुलाई असर पार्नु कदापि उचित हुँदैन । चाडपर्वको समयमा गरिने फजुल खर्च र अनावश्यक तडकभडकको अन्त्य आवश्यक छ । चाडपर्वको समयमा व्यवसायीबाट उपभोक्ता ठगिने अवस्था आउन नदिन सम्बद्ध पक्षहरु उत्तिकै चनाखो बन्नुपर्छ । तिहारको समयमा हुने आपराधिक क्रियाकलाप र दुर्घटना न्यूनीकरणका लागि पनि समयमै ध्यान दिनु आवश्यक
छ । सबै पक्षहरुमा ध्यान दिँदै मर्यादित र संयमित भई तिहार मनाउने सद्बुद्धि मिलोस्, सबैको भलो होस्, तिहारको सबैलाई शुभकामना ।