१. हामी नेपालीहरुको विशिष्ट परिचयमध्ये वर्षैभरि हरेक महिनामा चाडपर्व मनाइरहने एउटा प्रमुख पहिचान हो । दशैं र तिहारका अतिरिक्त पछिल्ला वर्षहरुमा नेपाल सम्वतको नयाँ वर्ष, छठ, बुद्धजयन्ती, ईद, क्रिसमस, ल्होसार जस्ता पर्वहरुले उल्लेख्य महत्व पाएको देखिन्छ । यी पर्वहरुले परिवारका सदस्यहरु, आफन्तजनहरु, समुदायका ब्यक्तिहरुको आपसी भेटघाट, पुनर्मिलनसहित एकआपसका सरसहयोग र सहजता असहजता शेयरिङ गराउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । आत्मीयता, सद्भाव, शुभावना, साटासाट गर्ने हाम्रो परिचय हो ।

२. यद्यपि पछिल्ला वर्षहरुमा शुभकामनामा चाकडी ज्यादा हावी भएको अनुभव गरिएको छ । ठूला पदमा पुगेका कर्मचारी हुन् वा तिनै तहका सरकारका पदाधिकारी हुन् वा दलका उपल्लो तहका ब्यक्तिहरुको नाममा हतारमा शुभकामनासहित चाकडीमा प्रतिस्पर्धा बढ्नुलाई राम्रो मान्न सकिँदैन । ठूलो आवाजमा भ्रष्टचारीको अन्त्य होस् भन्ने, अझ एक कदम अगाडि बढेर किरा परोस् भन्ने तर तिनैलाई सहजै शुभकामना भन्दा रत्ति पनि नसोच्नुमा रहस्यको शंका स्वभाविक देखिन्छ । चरित्रहीन् तथा दुराचारी र बलात्कारीलाई हदैसम्मको सजायँ माग्नेहरु नै यी चाडपर्वमा उत्तरोत्तर प्रगतिको कामना गर्न दौडधुप गरेको देख्दा शुभकामना शब्द स्वयम् लज्जित भएको हुनुपर्दछ। शुभकामना तथा शुभेच्छा ब्यक्त गर्न योग्य र उपयुक्त ब्यक्तित्वको पहिचान महत्वपूर्ण सवाल हो । ठूला वा साना पदको र धनी तथा गरिब भनेर सदाचार एवम् दुराचारबीच भेद गर्न नसक्नु÷नचाहनु राम्रो हुनै सक्दैन ।

३. शुभकामना र सद्भाव त सदाचारी ब्यक्तिहरुप्रति सम्मानसहित ब्यक्त गरिनु पर्दछ । दुराचारी, भ्रष्ट, अनैतिक तथा बेईमान, कामचोर, राष्ट्रका दुश्मनहरुको हामी अन्त्य चाहन्छौं भने ती चरित्रहरु कदापि सम्मान गर्न योग्य हुँदैनन् । संगै श्रमजीवी, किसान, मजदुर, नैतिकवान, चरित्रवान, इमान्दार, राष्ट्रभक्त, सदाचारी जो सहि अर्थमा उच्च सम्मानका साथ शुभकामनाका लागि योग्य ब्यक्तित्वहरु संगै एकै लहरमा ठीक बिपरित
दूराचारी र भ्रष्टाचारीलाई राखेर सबैमा यी चाडपर्वको शुभकामना भन्ने गोलमटोल औपचारिकताबाट सद्भाव र शुभकामनाको हुर्मत लिने काम बन्द गरिनु पर्दछ । धेरैलाई लाग्न सक्छ, यसरी शुभकामनामा पनि कित्ताकाट गर्न मिल्छ ? हामी त सबैलाई शुभ भावनाका साथ राम्रोमात्र चाहने पनि त हौं । तर हरेक कुरा र वस्तु सापेक्षतामा बुझ्ने तथा विश्लेषण गरिनु पर्दछ । हचुवामा काम सक्ने वा दशैंको शुभकामना भन्नुपर्नेमा नयाँ वर्षको शुभकामना भनिहाल्ने गर्दा चाकडीको पनि त हद होला नि भन्नेहरु पनि भेटिएका छन् ।

४. असारदेखि तिज मान्ने नयाँ चलन सुरु गर्नेहरु दशैंमा नै तिहार, नेपाल सम्वत्, छठ, ल्होसार, ईद, क्रिसमस, माघी पर्वसमेत जोडेर चैते दशैंको अझ कुनै पर्व छुट्ला कि भनेर तयारीका साथ घरमै नोट बनाएर बाचन गर्नेहरुले यी हाम्रा पहिचानमूलक चाडपर्वको हुर्मत नलिएको भए हाम्रा संस्कारले शिर उचो गर्ने अवसर बन्थ्यो कि ? तमाम बेठीक र कुतन्त्रका विरुद्धका लडाईंमा ज्यान गयो, घाइते बने, जेलनेल र यातना दिइयो । परिवार र आफन्तको ठेगान नै हरायो । शिक्षा बुर्जुवा भएकाले स्कूल÷कलेज जाने कुरै भएन । स्वास्थ्य समस्या हुँदा उपचार पाएनन् । जीवन जीउन अत्यन्त जटिलताको सामना गरेर संघर्ष गरिरहने स्थिति बन्यो । ब्यवस्था फेरियो । शासक बदलिए। संविधान नयाँ बन्यो । सिंहदरबार घरटोलमा आयो भनियो । आखिर तिनै शोषकहरु, सामन्तहरु, दलाल पूँजीवादका पृष्ठपोषकहरु, भ्रष्टहरु, श्रमचोरहरु, राष्ट्र र जनताका दुश्मनहरु भिन्न नाम र आवरणमा देखापरे । राष्ट्रदोहनमा प्रतिस्पर्धा गर्नेहरुको समूल नष्टको कामना गर्न छाडेर थप शुभेच्छा, शुभकामना दिनु भनेको हामी पनि त्यहि भ्रष्टहरुको कित्तामा उभिनु नै हो ।

५. यसवर्ष विश्व नै कोरोना भाइरसको प्रकोप तथा महामारीको कारणले पीडित भैरहँदा नेपाल अछुतो रहन सकेन। छ महिनाको कोभिड–१९ कहर अवधिमा देशका विभिन्न क्षेत्रसंगै स्वास्थ्य, शिक्षा, उद्योग–ब्यवसाय, यातायात, पर्यटन, विकास निर्माण आदि अस्तव्यस्तमात्र नभै लथालिंग बनेका छन् । यो अवधिमा एघार सयभन्दा बढि
नागरिकहरुको यस कोरोना भाइरसको कारणले जीवन गुमाइसकेका छन् । धेरैको परिवार पीडायुक्त समस्याबाट गुज्रिरहेको छ । यत्तिबेला ती नागरिकहरु जसले कोरोनासँग संघर्ष
गरिरहेकाहरुको सर्वप्रथम स्वास्थ्यलाभको कामना गर्दै सक्दो सहयोग जुटाउन लागि पर्नु जरुरी छ ।
सरकारको मुख्य ध्यान जनताको स्वास्थ्यसँग जोडिनै पर्दछ । नागरिकको जीवन सुरक्षा राज्यको पहिलो अभिभारा हो । अहिले कोरोना भाइरसको कारण भन्दा पनि अन्य
रोगको उपचार नपाएर धेरै बिरामीहरुको अकाल मृत्यु भैरहेको तथ्य छर्लंग छ । तसर्थ प्रत्येक स्थानीय तहमा एउटा बिपदकालीन उपचार केन्द्र स्थापना गर्न विलम्ब भएकै हो । हामीसँग भएका शिक्षण संस्था मर्जका चर्चा भैरहँदा कुनै एकलाई यसप्रकारको महामारी नियन्त्रण तथा उपचार अस्पताल बनाएर ब्यवस्थापन गर्न सकिन्छ । यसो गर्दा तत्काल भवन बनाउने खर्चले स्वास्थ्यकर्मीहरु र उपचारका औषधि तथा
उपकरणहरुको ब्यवस्था गर्न पुग्दछ । यसो हुँदा अन्य रोगका ब्यक्तिहरुले उपचार नपाएको
कारणले हालजस्तो अकालमा ज्यान गुमाउने स्थिति बन्ने थिएन ।

६. प्रविधिको प्रयोगले शुभकामनाहरु रेडिमेड र डिजिटलाइज्ड बनिरहेको पछिल्ला वर्षहरुमा बिगत वर्षहरुमा जस्तो प्रत्यक्ष भेटघाट गरी एकापसमा सद्भाव साटासाट गर्ने, उच्च पदासिनहरुले कार्ड छपाएर वितरण गर्ने, टाढा भए फोन गरेर शुभ भावनाहरु ब्यक्त गर्नेजस्ता संस्कार आज थोत्रा र डेट एक्सपायर भए । अहिले त गुगल सर्च गरी रोजेर कपि–पेष्ट गर्ने अझ तस्वीर पनि छानेर पेष्ट गर्ने क्षणभरमा सयौं ब्यक्तिलाई पठाउने कलाको प्रतिस्पर्धा
भैरहेको छ । आफ्ना मौलिकता र रीतिरिवाज तथा परम्परागत संस्कारहरु जस्ले हाम्रा पहिचानसँगै गर्वको सन्देश प्रवाह गर्दछन्, ती हतारमा रेडिमेडबाट विस्थापित हुनु राम्रो होइन । यसको अर्थ खोजमूलक, अनुसन्धानात्मक, मौलिक श्रृजनाहरु सधैं प्रोत्साहित हुनैपर्छ भन्ने तथ्यमा विवाद गर्न खोजिएको होइन । औपचारिकता जनाउन वा हतारमा राणा तथा राजा महाराजाहरुमा जस्तो चाकडी चाप्लुसीको माध्यमबाट आफ्ना अन्तर्यका कामहरु बनाउने लक्षित शुभकामना र सहि अर्थमा निष्ठापूर्वक, सम्मानजनक शैलीमा हृदयदेखि नै उब्जेका सहिपात्रमा ब्यक्त शुभ भावनाहरु समान हुनै सक्दैनन् । पहिलो निन्दनीय र दोश्रो प्रशंशनीय भन्ने गरिन्छ ।

७. अन्तमा, देशका उच्च पदासिन र सरकारका जिम्मेवार ब्यक्तित्व तथा शिक्षित ब्यक्तिहरुले कुनबेला कुन पर्व हो सो पर्वको महत्व, मर्म, प्रभाव तथा हाम्रो दृष्टिकोणको संक्षिप्त प्रसंगसहित शुभेच्छा, सद्भाव, शुभ भावना ब्यक्त गर्नु उपयुक्त हुन्छ । धन्दा सक्न हतार भएजस्तो तिज आउन एक महिनाअगावै दशैं, तिहार, छठ हुँदै माघी पर्वसम्मको शुभकामनाको खहरेमा बाढी नै सरह देखिन्छ । दशैंमा छठको शुभकामना र छठमा होलीको शुभकामनाले अर्थ राख्ने भए एउटै पर्वमा वर्षभरिका सबै चाडपर्वहरु जोडेर मनाउँदा धेरै कुरामा फाइदा हुन सक्छ । हुन त हामीसँग शुभकामनाको अथाह भण्डार रित्तिहाल्ने स्थिति नभएर पनि हुन सक्छ । कम्तिमा यी कुराको विश्लेषण सचेत वर्गले गर्ने हो भने हाम्रा परम्परागत मौलिक संस्कारहरुको पहिचान नमेटिनेमा विश्वस्त बन्न सकिन्थ्यो । तिहार सँगै नेपाल सम्वत ११४१ को प्रारम्भ र लगत्तै विशेषगरि तराई मधेशमा मनाइने छठ पर्वको महत्वपूर्ण अवसरमा यस आलेखमा ब्यक्त भाव र विचार बहसको विषय बन्ने अपेक्षा गर्दछु ।