हेटौंडा/ मकवानपुरमा कोरोना संक्रमण दैनिक बढ्दैछ । बागमती प्रदेशका १३ जिल्ला मध्ये संक्रमणको उच्च जोखिममा मकवानपुर पर्छ ।
पछिल्लो समय जिल्लामा स्वाब संकलन घटेकाले कोरोना संक्रमणको दर पनि सामान्य छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार बितेको एक हप्ताभित्र जिल्लामा स्वाब संकलन न्यून भएको छ । चाडपर्वका कारण पनि कोरोना परीक्षण गराउनेको संख्यामा कमी आएको कार्यालयका सूचना अधिकारी राम केसीले बताए।
‘स्वाब संकलन कम भएकोले पनि संक्रमणको दर घटेको छ । सायद चाडपर्व भएकाले पनि कोरोना परीक्षण गराउनेको संख्यामा कमी आएको हुन सक्छ।’, केसीले भने । विगतमा एक सयको हाराहारीमा स्वाब संकलन हुने गरेकोमा हाल २० देखि ३० जनासम्मको मात्रै स्वाब संकलन भइरहेको छ।यसकारण पनि संक्रमण दर घटेको अनुमान लगाइएको छ ।
हेटौंडा–१० किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा १ मंसिर सोमबार २७ जनाको स्वाब परीक्षण गर्दा जम्मा ९ जनालाई संक्रमण देखिएको थियो । मंगलबार १७ जनाको स्वाब परीक्षण गर्दा २ जनालाई मात्रै कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी केसीले बताए । उनका अनुसार बुधवार पनि ३५ जनाको स्वाब परीक्षण गरिँदा १२ जनालाई संक्रमण पुष्टि भएको थियो ।
विभिन्न कारणले मकवानपुरमा संक्रमण दर घटेपनि कोरोना पुष्टि भएकाहरुको मृत्यु हुने संख्या भने बढेको छ । जिल्लामा हालसम्म २८ जनाले संक्रमणबाट ज्यान गुमाइसकेको जिल्ला स्वास्थ्य कार्यालयसँग तथ्यांक छ । तिहारभित्र मात्रै ३ जनाको संक्रमणबाट मृत्यु भएको सूचना अधिकारी केसीले जानकारी दिए । मृत्यु हुनेहरुमा जटिल रोगका समस्या देखिएका छन् ।२९ कार्तिकदेखि ३ मंसिरसम्म १ महिला र २ पुरुषको संक्रमणको कारण ज्यान गएको केसीले बताए । २९ कार्तिकमा मनहरी गाउँपालिका–७ का ८४ वर्षीया महिलाको घरमै मृत्यु भएको थियो । ३० कार्तिकमा बकैया–७ का ६० वर्षीय पुरुषको भरतपुर अस्पतालमा मृत्यु भएको केसीले जानकारी दिए । उनलाई निमोनिया रोगका साथै स्वाशप्रश्सावमा समस्या भएपछि अस्पताल लगिएको थियो । १ मंसिरमा हेटौंडा उपमहानगरपालिकाका ५४ वर्षीय पुरुषको पनि मृत्यु भएको थियो ।
मकवानपुरमा हालसम्म ३ हजार ४ सय १३ जना कोरोना संक्रमित पुगेको छ । जसमध्ये हाल ५ सय ६२ जना सक्रिय संक्रमित छन् भने बाँकी संक्रमितले कोरोना जितिसकेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । हेटौंडा–६ स्थित गौरिटार र मनहरी गाउँपालिमा रहेको आइसोलेसनमा गरी १४ जना संक्रमित उपचार रहेको सूचना अधिकारी केसीले जनाए । ५ सय ४८ जना संक्रमित घरमै स्वास्थ्यकर्मीसँगको नियमित सम्पर्कमा उपचार रहेको जनाइएको छ ।