हेटौंडा/करिब १६ वर्षअघि १० लाख २५ हजार र मोटरसाइकलसहित लटुेर भागेका हेटौंडाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
डाँका मुद्दाका फरार प्रतिवादी हेटौंडा उपमहानगरपालिका–७ नागस्वती बस्ने ३९ वर्षीय जगन्नाथ ढकाल पक्राउ
परेका हुन् । महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय पशुपतिनगरको समन्वयमा नागसोतीबाट ढकाललाई सोमबार पक्राउ गरेको हो ।
७ असोज २०६१ मा ढकालसहितको ५ जनाको टोलीले काठमाडौंको जडिबुटीमा बनेपाबाट फर्कदै गरेका नारायण खनालको बा. १६ प ६८२१ नम्बरको मोटरसाइकल रोकी प्रहरी भन्दै खनाललाई अपहरण गरी उनको साथमा रहेको १० लाख २५ हजार रुपैंया र मोटरसाइकल लुटेर भागेको अभियोग छ ।
२०६४ भदौ ६ गते जिल्ला अदालत काठमाडौंले ढकालविरुद्ध डाँका मुद्दामा ६ वर्ष कैद र १ लाख ९६ हजार ६ सय ५० रुपैयाँ जरीवाना सुनाएको थियो । प्रहरीका अनुसार ढकालसहितको टोलीले खनालको साथबाट कुल ११ लाख ६३ हजार ९ सय रुपैयाँ बराबरको धनमाल लुटपाट गरेको प्रहरीले जनाएको छ।
फैसला कार्यान्वयनका लागि उनलाई जिल्ला अदालत काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पछिल्लो समय धेरै फरार प्रतिवादीहरुलाई पक्राउ
गरेको छ ।