हेटौंडा/ विशेषतः तराईका समुदायको पर्वको रुपमा मनाइने छठ पर्व बुधबारबाट सुरु भएको छ । तर, यसअघि तामझामले गरिने छठ पूजा यसवर्ष मकवानपुरमा नहुने निश्चित छ ।
सत्य, अहिंसा, आरोग्य र समृद्धिको रुपमा मनाइने छठमा पछिल्ला केही वर्षयता पहाडी समुदायको पनि बाक्लो उपस्थिती रहने गरेको थियो । हेटौंडामा विगतदेखि नै धुमधामले मनाइँदै आएको छठ पर्व आयोजनाका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुमति नदिँदा राप्ति तट सुनसान बनेको छ । राप्ति तटमा छठ पर्व भरी हजारौं भक्तजनहरुले पूजाआजा गर्ने गरेका थिए ।
यसवर्ष कोरोना संक्रमणको महामारी कायमै रहेकाले छठ पर्व तामझामका साथ मनाउन प्रशासनले अनुमति नदिएको हो । यद्यपि यसवर्ष कोरोना भाइरस (कोभिड–१९) को प्रभावको कारण सागरमा भव्य व्यवस्थापनका साथ मनाइने छठ पूजा पनि प्रभावित भएको हो । प्रशासनले राप्ति तटमा भिडभाड गरेर छठमा पूजा नगर्न आग्रह गरेपछि छठ आयोजक समितिले कुनै तयारी गरेको छैन । राप्ति तटमा व्रतालुहरुको उपस्थितिसमेत देखिएको छैन् ।
कार्तिक शुक्ल चतुर्थीबाट सुरु भई कार्तिक शुक्ल सप्तमीको विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत रुपमा समापन हुने गर्दछ । पहिला मिथिलाञ्चलमा मात्र सीमित रहेको छठ पर्व २०६२÷०६३ को जनआन्दोलनपछि पहाडी क्षेत्र र अन्यत्र पनि छठ पर्व लोकप्रिय हुँदै गएको हो ।
चतुर्थीको विधिमा अरबा (अरबाइन) गरिन्छ, जसलाई नहाय अर्थात खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि पूजा विधिको समापन गर्ने गरिन्छ । यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख, समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।
छठको पहिलो दिन (चतुर्थी) व्रतीले भोजनमा माछामासु ,लसुन, प्याज, कोदो, मसुरलगायत वस्तु परित्याग गरी यसै दिनदेखि व्रत वस्न थाल्दछन्। पर्वको दोस्रो दिन (पञ्चमी) खरना गरिन्छ । तेस्रो दिन (षष्ठी) गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान –पिसान गरी सोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ र अपरान्न अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धाति जलाशयसम्म पुगी सुर्य अस्ताउन्जेलसम्म पूजा आराधना गरी फर्कने गरिन्छ ।
यसैगरी छठ पर्वको चौथो (अन्तिम) दिन पार्वण गरिन्छ । यस दिन बिहान उषाकालमा व्रत गर्नेहरु पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहो¥याइ प्रातकालीन सूर्यलाई अर्घ दिन्छन् । अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने
चलन रहेको छ । छठ पर्वलाई पारिवारिक जमघटको पर्वको रुपमा पनि हेरिन्छ ।