हेटौंडा/ मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिका–७, लामिटारमा स्थानीय युवाले ४ वर्षीया बालिकाको ढुङ्गाले हानेर हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सुशीलसिंह राठौरका अनुसार स्थानीय १४ वर्षीय युवा साजन भ्लोनले ४ वर्षीया बालिका रुविना पाख्रिनको हत्या गरेका हुन् । बुधबार राति करिब आठ बजेको समयमा छिमेकीको घरमा पूजामा गएकी बालिकालाई साजनले घर लैजाने क्रममा नजिकैको मनसाही खोलाको बगरमा हत्या गरेर फालेका थिए ।
‘घटनाको प्रकृति हेर्दा र प्रारम्भिक बयान अनुसार बलात्कारको मनाशय देखिन्छ । विहीबार साँझ पोष्टमार्टम भएपनि रिपोर्ट आएको छैन ।’, प्रहरी उपरीक्षक राठौरले घटनाको प्रकृति हेर्दा ४ बर्षीया बालिकालाई ढुङ्गाले हानेर हत्या गरिएको छ । वालिकाको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको थियो । ‘घटनामा संलग्न भएको आशंकामा २ जनालाई राति नै पक्राउ गरेका थियौं । तर, एकजनाको मात्र संलग्नता देखियो ।’, उनले भने, ‘घटनास्थलमा भेटिएको ढुङ्गामा रगत लतपतिएको । घटनास्थलमा बालिकालाई हानेको ढुङ्गा समेत भेटिएको छ ।’ घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर राना तथा इलाका प्रहरी कार्यालय फापरबारीको टोली राती खटिएको थियो ।
‘साथीहरुसँग खेलिरहेको अवस्थामा बािलकालाई घर लैजाने भनेर बगरमा लगिएको रहेछ । हामीले हत्यामा संलग्न साजनलाई पक्राउ गर्दा उनले मादक पदार्थ सेवन गरेका थिए ।’, प्रहरी उपरीक्षक राठौरका अनुसार घटना स्थलमा अहिले पनि प्रहरी टोली रहेको र अनुसन्धानको काम भइरहेको छ । घटनास्थल हेटौंडाबाट करिब ३८ किलोमिटर पूर्वमा पर्दछ । ‘गाउँमा पूजा भइरहेको थियो । पूजामा रमाइलो भइरहेको बेला आमा बुबाबाट बालिका हुलमुलमा हराइन् । सबैले खोज्ने क्रममा हराएको डेढघण्टापश्चात् नजिकको खोलामा रगताम्मे भएको अवस्थामा बालिका भेटिएको थियो ।’, स्थानीय छिरिङ लामाले भने । बच्चा हराएपछि खोज्ने क्रममा हत्या गरेको व्यक्तिले नै शब भेटाएका थिए । ‘जसले हत्या गरे उसैले बालिकाको शब भेटियो भनेर हल्ला गरे ।’, छिरिङका अनुसार उक्त युवा स्थानीय जनता उच्च माविको कक्षा ९ मा अध्ययनरत् थिए ।
स्थानीय शिक्षक विवेक तामाङका अनुसार पछिल्लो समय ती युवा मदिराका साथै लागू पदार्थ दूव्र्यसनमा फसेका थिए । बिग्रेर हिँड्न थालेपछि घर परिवारले पनि वास्ता गर्न छाडेको स्थानीयले बताए । लकडाउनयता विद्यालय बन्द भएपछि आफैले काम गरेर पैसा कमाउन र रमाउन थालेका थिए। ‘हिजो पूजामा जाँदा पनि नशाको तालमै भेटेको थिएँ पछि त यस्तो घटना पो घटाएछ ।’, उनका अनुसार घटनास्थलमा बच्चालाई निर्वस्त्र अवस्थामा भेटिएको थियो । ‘प्रारम्भिक बयानमा य्ुवकले आफूले बलात्कार गरेको स्वीकारेका छन् । हामी अनुसन्धान गरिरहेका छौं ।’ मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले भने ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा भेटिएका मृतक बालिकाका पिता शेरबहादुर पाख्रिनले आफ्नो छोरी मृत अवस्थामा भेटिूदा नग्न रहेकोभन्दै घटनाको निष्पक्ष छानविनको माग गरे । ‘छोरीको हत्यारालाई हदैसम्मको कारबाही हुनुपर्छ । मेरो कलिलो छोरीलाई ढुङ्गाले हानेर बलात्कार गरी मारियो ।’, उनले रुँदै अब आफ्नो परिवारमा १२ वर्षीय छोरा र पत्नी रहेकोभन्दै अपराधीलाई हदैसम्मको कारबाही हुनुपर्ने दोहो¥याए ।