देशकै ठूलो पार्टी नेपाल कम्युनिष्ट पार्टीभित्र अहिले आन्तरिक द्वन्द्व चुलिएको छ । जनमतअनुसार नेकपाको सरकारले ५ वर्षसम्म ढुक्कसँग देश तथा प्रदेशको शासन चलाउन पाउने अवस्थालाई आफ्नै पार्टीका नेताले कमजोर बनाइदिएपछि फेरि अस्थिरताको बादल मडारिन थालेको हो । सरकारको नेतृत्व अराजक बन्ने र पार्टीको शीर्ष नेतृत्वले सत्तामोह देखाउने अवस्थाले नेकपाभित्र संकट बढाएको छ । विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति अन्य नेकपाकै अरु नेताहरु सन्तुष्ट हुन सकेका छैनन् । प्रधानमन्त्री पक्ष र असन्तुष्ट पक्षबीच दूरी बढ्दै गएको छ । पार्टीभित्रैबाट प्रधानमन्त्रीको राजिनामा माग्ने र अविश्वासको प्रस्ताव दर्ता गर्ने चर्चासँगै प्रधानमन्त्रीले प्रतिनिधिसभाको अधिवेशन अनिश्चित छ । प्रधानमन्त्रीको कार्यशैलीप्रति झनै असन्तुष्टि बढ्दै गइरहेको छ । मुलुकमा धेरै अघिदेखि स्थिर सरकारको आवश्यकता बोध गरिए पनि पाएसम्म सरकारको नेतृत्व आफैं गर्न नेकपालगायत दलका नेताहरु लालायित भइरहँदासम्म स्थिर सरकारको परिकल्पना बेकार हुने देखिएको छ ।
देश र जनताका लागि राजनीति गरेको भन्ने नेताहरु सत्तामोहमा डुब्दा राजनीतिक दलप्रतिको आस्था र विश्वासमा संकट आउने गरेको छ । नयाँ संविधान जारी भएपछि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सुरुवातसँगै दल र नेतृत्वको कार्यशैली परिवर्तन हुने आशा सार्थक बन्न सकेको छैन । परिवर्तित व्यवस्थाअनुकूल सम्पन्न निर्वाचनबाट नेकपाले संघ, केन्द्र तथा प्रदेशमा भारी बहुमत ल्याएर
सरकार स्थिर सरकार बनाए पनि पार्टीभित्रकै आन्तरिक विवाद सतहमा आएको छ । विशेषगरी संघीय सरकार र बागमती प्रदेश सरकारको नेतृत्वको विषयमा नेकपाका शीर्ष नेतृत्वमा असन्तुष्टि पैदा भएको छ, जसले गर्दा उक्त दलका नेताहरु प्रधानमन्त्री र मुख्यमन्त्रीको राजिनामा माग्न थालेका छन् ।
मुलुकको ७ दशक लामो प्रजातान्त्रिक (३० वर्षे पञ्चायतसमेत) शासन अवधि पूरै अस्थिरतामा गुज्रियो । ७० वर्षको बीचमा झण्डै चार दर्जन सरकार परिवर्तन भयो । कुनै पनि सरकारले पूर्णकाल
(५ वर्ष) शासन गर्न सकेन । राजनीतिक अस्थिरताका कारण छोटो समयमा सरकार परिवर्तन हुँदा सरकारले राम्रोसँग काम गर्न नसकेकाले मुलुकको विकास हुन नसकेको भनियो । संघीयतासहितको गणतन्त्रको सुरुवातसँगै आम नेपाली नागरिकले स्थिर सरकारको पक्षमा नेकपालाई बहुमत प्रदान गरे । प्रधानमन्त्री केपी ओलीलाई विस्थापित गर्ने दाउमा नेकपाका अर्का अध्यक्ष प्रचण्ड तथा पूर्वप्रधानमन्त्री माधव नेपालको चर्चा चलिरहेको छ । आफ्नो स्वार्थ मिल्दा सबै राम्रो हुने र स्वार्थ नमिल्दा एकअर्कालाई खुइल्याउन लागिपर्नु राम्रो लक्षण होइन । अहिले नेकपा अध्यक्ष प्रचण्डले आलोपालो प्रधानमन्त्रीको सहमति छोडेकोमा रोइलो गर्नु र प्रधानमन्त्री ओली जस्तोसुकै हत्कण्डा अपनाएर भए पनि प्रधानमन्त्री छोड्न नचाहनुले नेताहरुमा सत्तामोह प्रष्ट
हुन्छ । जनताको अपेक्षाअनुरुप काम गर्न नसकेका ओलीले प्रधानमन्त्री छोड्न नचाहनु अनि अन्य नेता ओलीलाई प्रधानमन्त्रीबाट हटाउन खोज्नुले देश र जनताको स्वार्थभन्दा आफ्नै स्वार्थमा रमाउने र सत्तामोह देखाउने राजनीतिक नेतृत्वको चरित्र उजागर भएको छ ।