हेटौंडा/ मकवानपुरको पूर्वीक्षेत्र बागमती गाउँपालिकामा ४ वर्षीया बालिका हत्याको घटनालाई गम्भिर रुपमा अनुसन्धान गर्न आग्रह गरिएको छ ।
मानव अधिकारी संरक्षण तथा मानव बेचविखनविरुद्धको सञ्जाल, मकवानपुरले घटनाको विषयमा सत्यतथ्य र यथाशिघ्र अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुर समक्ष अनुरोध गरेको हो । सञ्जालकी संयोजक आरती पाठकले शुक्रबार मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानालाई ज्ञापन पत्र बुझाउँदै बागमतीमा घटेको क्रुर हत्याको घोर भत्र्सना गरेको जनाइन् ।बागमती–७ लामिटारमा स्थानीय युवाले ४ वर्षीया बालिकाको ढुंगाले हानेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको
छ । मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सुशीलसिंह राठौरका अनुसार स्थानीय १४ वर्षीय युवा साजन भ्लोनले ४ वर्षीया बालिका रुविना पाख्रिनको हत्या गरेका हुन् । बलात्कारपछि बालिकाको हत्या गरिएको आशंका गरिएको छ । यद्यपि यसविषयमा प्रहरीले भने अनुसन्धान जारी राखेको डिएसपी रानाले जानकारी दिए ।
बुधबार राति करिब आठ बजेको समयमा छिमेकीको घरमा पूजामा गएकी बालिकालाई अभियुक्त साजनले घर लैजाने क्रममा नजिकैको मनसाही खोलाको बगरमा हत्या गरेर फालेको प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा २ जनालाई बुधवार राति नै पक्राउ गरेका थियौं । तर, एकजनाको मात्र संलग्नता देखिएको एसपी राठौरले बताए । ‘साथीहरुसँग खेलिरहेको अवस्थामा बािलकालाई घर लैजाने भनेर बगरमा लगिएको रहेछ । हामीले हत्यामा संलग्न साजनलाई पक्राउ गर्दा उनले मादक पदार्थ सेवन गरेका थिए ।’, राठौरले भने ।
सञ्जालले २१ औं सताब्दीको मानव सभ्यता नै कलंकीत हुने गरी घटना घटेकोप्रति दुःख व्यत्तः गरेको छ । ‘यस घटनाले बालिका सुरक्षित कहाँ र कसरी हुन सक्दछन् ?’, सञ्जाल संयोजक पाठकद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । बालबालिका माथि हुने कुनैपनि शोषण तथा अपराधलाई सहन नसकिने सञ्जालको ठहर छ । सञ्जालले घटनाको विषयमा सत्यतथ्य पत्ता लगाई दोषिलाई कानूनी कारबाहीको दायरामा ल्याउन जोडदार माग गरेको छ ।
घटनास्थल हेटौंडाबाट करिब ३८ किलोमिटर पूर्वमा पर्छ । गाउँमा पूजा भइरहेको अवस्थामा बालिका हराएकी थिइन् । हराएको करिब डेढ घण्टापछि खोलामा रगताम्मे अवस्थामा बालिका भेटिएको थियो । ‘प्रारम्भिक बयानमा य्ुवकले बलात्कार गरेको स्वीकारेका छन् ।’, डिएसपी रानाले भने । बालिकाका पिता शेरबहादुर पाख्रिनले पनि घटनाको निष्पक्ष छानविनको माग गरेका छन् । ‘छोरीको हत्यारालाई हदैसम्मको कारबाही हुनुपर्छ ।’, पाख्रिनले भनेका छन् ।