हेटौंडा/शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ शुक्रबार श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइएको छ ।
आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले शुक्रबार बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गर्नेछन् ।
कोरोना भाइरस महामारीका कारण यसवर्ष विगतमा झैं मानिसहरु जलासयमा गएनन् । धेरैले घरमै सांकेतिक जलासय बनाएर पूजा गरेका छन् । हेटौंडाको राप्तीतटमा पनि केही मानिसहरुको उपस्थिति रहेको थियो । कोरोना भाइरसका कारण स्थानीय प्रशासनले राप्तीतटमा पण्डाल बनाएर पूजा गर्न रोक लगाएपछि छठ मनाउनेहरुको संख्यामा कमी आएको हो ।
काठमाडौंको पशुपतिनाथ मन्दिर नजिकैको एक परिवारले घरमै बाटामा पानी राखेर जलासय बनाएर पूजा गरेका छन् । काठमाडौंको कमलपोखरीमा विगतमा धेरै तराई मधेसका वासिन्दाले छठ पूजा गर्ने गर्थे । यसवर्ष भने कमलपोखरीमा पुगी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने ब्रतालुको संख्या निकै पातलो थियो । सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरूप पारस्परिक आत्मीयता र सद्भावको प्रतीकका रूपमा यो पर्वमनाइन्छ । यसपर्वमा धनी, गरिब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ ।