नेपालका चर्चित उद्योगपति तथा मकवानपुर उद्योग वणिज्य संघका पूर्वअध्यक्ष अरुणराज सुमार्गी नेपाल उद्योग वणिज्य महासंघको ५४ औं साधारणसभा तथा महाधिवेशनबाट जिल्ला–नगरतर्फको कार्यकारिणी सदस्य पदमा निर्वाचित भएका छन् । यसअघि पनि केन्द्रीय सदस्यका रुपमा कार्यभार सम्हालिसकेका सुमार्गीसँग आगामी योजना, जिल्ला–नगरको समस्या समाधानबारे रणनीति र उद्योगी–व्यवसायीको हकहितका लागि अघि बढाइने कार्ययोजनाबारे साझाकुराकर्मी नवीन तिमल्सिनाले गरेको कुराकानी ।
– निर्वाचन प्रक्रियामा कसरी सफलता हात पार्नु भयो ?

निर्वाचनको सफलताको मुख्य बिन्दु भनेकै मतदाता हो । मतदाताले रुझाउनु, मैले गरेका कामको निरन्तरा, प्रतिबद्धता र चौथो कार्यकालको लागि मैले गरेको यात्रामा साथीहरुले गरेको विश्वास नै मेरो सफलताको पहिलो कडी हो । कुनै पनि क्षेत्रमा जुनसुकै व्यक्ति काम गर्न चाहान्छ, पदमा पुग्न चाहान्छ भने उसको मतदाताको विश्वास नै महत्वपूर्ण पक्ष हो । म जिल्ला–नगरबाट महासंघमा भिजेका कारण जिल्ला–नगरका सबै जनासँग मेरो घनिभूत छलफल हुने गरेको छ । जिल्ला–नगरमा परेका समस्याका विषयमा समाधानका लागि म हरदम तयार हुनेछु । यस्ता विविध कारणले यसपटकको निर्वाचनमा पनि मेरो सफलता कायम रहेको हो ।
–आगामी दिनमा उद्योगी, व्यवसायीको हकहितका लागि कसरी काम गर्ने योजना बनाउनु भएको छ ?
व्यवसायीको हकहितका लागि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको टिमले तयार पारेको १० वर्षे कार्य योजना छ । हामी पूरानै अर्थनीतिमा अघि बढ्ने हो की, विकासका पूर्वाधारहरुलाई आधार बनाएर जाने योजना तय गर्न आवश्यक छ । चौतर्फी प्रभाव पर्ने गरी हामीले नयाँ कार्य योजना बनाएका छौं ।
प्राथमिकतामा कुन पक्षलाई राख्ने वा नराख्ने, हामी माझ आएको समस्या समाधानका लागि कस्ता नीति अपनाउने योजना हामीसँग छ । जिल्ला नगरमा भएका साना घरेलु, चिया पसलदेखि नुन पसल सम्मका व्यवसायीका हकहितका लागि कसरी अघि बढ्न सक्छौं, कसरी समन्वय गर्न सक्छौं यसबारे रणनीति तय गर्नेछौं। अर्थतन्त्रलाई प्रभाव पार्ने योजनामा हाम्रो महत्वपूर्ण भूमिका रहनेछ । कोभिड–१९ का कारणले थलिएको अर्थतन्त्रलाई उकास्नका लागि महासंघको नयाँ नेतृत्वले समग्र पक्षलाई समेटेर नयाँ काम अघि बढाउनेछ ।
–तपाई यसअघिको कार्यकालमा पनि केन्द्रीय सदस्य हुनुहुन्थ्यो पुनः सोही पदमै उमेदवारी दिनुको कारण के हो ?
अघिल्लो पटक केन्द्रीय सदस्य भएर संस्थागत कामहरु गरेँ । नेपाल उद्योग वाणिज्य महासंघमा भित्री राजनीतिका कारण शुद्धिकरण र सुदृढीकरणका लागि महासंघको नयाँ नेतृत्व अघि बढ्यो त्यसको एउटा पाटो म पनि हुँ । सुदृढीकरणका लागि यसअघिको कार्यकालमा एक किसिमको खाका तयार गरेका थियौं । त्यो खाका अनुसार काम गरेका थियौं जसरी देशमा संविधान बनेपछि कार्यान्वयनका लागि विभिन्न कामहरु भएका हुन्छन्, त्यसैगरी महासंघमा राज्यले हामीलाई विश्वास गर्न सक्ने र उद्योगी व्यवसायीले महशुस गर्ने काम गरौं भन्ने उद्देश्य हो । यस्ता कामहरु कार्यान्वयनका लागि मैले फेरि केन्द्रीय सदस्यमै उमेदवारी दिएको हुँ ।
–जिल्ला–नगर उद्योग वाणिज्य संघहरुमा के–कस्ता समस्या छन् । ती समस्या समाधानका लागि तपाईको भूमिका कस्तो रहनेछ ?
जिल्लाको पीडा महासंघले नबुझ्ने तर, महासंघको महत्वपूर्ण क्षेत्र नै जिल्ला–नगर हुने भएकाले यी दुईवटा पक्षकोबीचमा कसरी पुलको काम गर्ने भन्ने बारे हामीले निकै लामो छलफल गरिसकेका छौं । अहिले जिल्लालाई संगठित बनाएर अघि बढ्नु पर्ने अवस्था छ । किन की जिल्लाको मुख्य समस्या भनेको बैंक, कर र ब्याज हो । ती समस्यालाई समाधान गर्नका लागि जिल्ला–नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन् । उनको नेतृत्वमा हामीले समाधानका बाटो खोज्दै जाने छौं । पहिले हामीले नीति, नियम तर्जुमा गर्नु पर्नेछ । नियम तर्जुमा पछि जिल्ला–नगरको समस्या समाधानका लागि सरकारसँग छलफल गर्नेछौं ।
–तपाई केन्द्रीय सदस्यमा निर्वाचित हुँदा मकवानपुर उद्योग वाणिज्य संघ र यहाँका उद्योगी, व्यवसायीलाई कस्तो फाइदा पुग्नेछ ?
मकवानपुर उद्योग वाणिज्य संघ आफैंमा स्वतन्त्र छ, उसले महासंघसँग केही अपेक्षा गर्दैन । मकवानपुर उद्योग वाणिज्य संघमा भएको सम्भावना, बागमती प्रदेशको राजधानी भएपछि त्यहाँ बन्ने संरचना र त्यसमा उद्योगी व्यवसायीको संलग्नतामा जोड दिइनेछ । उद्योगी व्यवसायीका लागि उनीहरुको पक्षमा सहज हुने नीति निर्माणका लागि हाम्रो भूमिका रहनेछ । मकवानपुरमा देखिएका सम्भावनाहरुलाई मेरो पहलमा सम्भव तुल्याउने काम हुनेछ। जिल्लाको समस्याहरुलाई समाधानतर्फ अघि बढ्नका लागि महासंघमा छलफल गर्नेछु ।
–अन्त्यमा, नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वले कस्तो भूमिका खेल्नेछ ?
उद्योगी व्यवसायीका लागि राज्यले बनाउने कानून र त्यसको कार्यान्वयनको पाटोमा महासंघको महत्वपूर्ण भूमिका रहनेछ । महासंघले राज्यको नेतृत्व गर्ने तहसम्म प्रभाव पार्ने हुनाले उद्योगी व्यवसायीलाई सहज काम गर्ने वातावरण मिलाउनका लागि पुलको काम गरिनेछ । अर्थतन्त्र सुधारसँगै विदेशी लगानी भिœयाउनका लागि राज्यसँग नयाँ ढंगबाट छलफल हुनेछ, जस्ले समग्र क्षेत्रलाई प्रभाव पार्न सकोस् । हाम्रो नयाँ नेतृत्व यस्ता विषयहरुमा केन्द्रित रहनेछ ।