हेटौंडा/मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिकाका कुमार जिम्बा मृत फेला परेका छन् ।
बकैया–४ निवासी जिम्बा काठमाडौंमा मृत फेला परेका हुन् । गोकर्णेश्वर–६ स्थित सुमन कार्पेटमा कार्यरत जिम्बा सोमबार कारखानाको गलैंचा बुन्ने स्थलमै झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृतक जिम्बा सोही क्षेत्रमा कोठा भाडा लिएर बस्ने गर्दथे । शनिबार कारखाना गएका उनी सोमबार बिहान मृत अवस्थामा फेला परेका हुन् । मृतक जिम्बाको परिवारले भने जिम्बा आफुले आत्महत्या नगरी सोही कारखानाका ठेकेदारले हत्या गरेको आरोप लगाएको प्रहरीले जनाएको छ ।
हत्याको आशंकामा प्रहरीले कारखानाका ठेकेदार रोशन थोकर र उनकी श्रीमती र कारखानाका मास्टरसमेतलाई पक्राउ गरि अनुसन्धान गरिहेको जनाएको छ । घटनाको प्रारम्भिक अनुसन्धानले आत्महत्या भएको वा हत्या भएको खुल्न नसके पनि पीडित पक्षले सामान्य जाहेरी दिएकाले उनीहरुलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको बौद्ध बृत्तका डिएसपी नविन कार्कीले जानकारी दिए ।