हेटौंडा/बागमती प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय नाघेको छ । देशभर कोरोनाका कारण एक हजार ५ सय ८ जनाको मृत्यु हुँदा बागमती प्रदेशमा मात्र ७ सय ५४ जनाको निधन भएको छ ।
मृत्यु हुनेमा बढ्दो उमेर, दीर्घ रोगी र अन्य जीर्ण रोगको सहरुग्णता देखिएको मन्त्रालयका अस्पताल विकास तथा चिकित्सक महाशाखा प्रमुख डा.पुरुषोत्तमराज सेढाईंले बताए । मन्त्रालयको तथ्यांक अनुसार देशको कुल संक्रमितको करिब ५४ दशमलव ८८ प्रतिशत बागमती प्रदेशका छन् । देशभर हालसम्म कुल २ लाख ३३ हजार ४ सय ५२ जना संक्रमित हुँदा बागमतीमा मात्र १ लाख २८ हजार १ सय ३० जनामा संक्रमण पुष्टि भइसकेको छ ।
यसैगरी बागमतीका कुल संक्रमित मध्ये ९१ दशमलव ११ प्रतिशत अर्थात एक लाख १६ हजार ७ सय ४७ जना निको भइ डिस्चार्ज भइसकेका छन् । हाल कुल संक्रमितको ८ दशमलव २९ प्रतिशत अर्थात १० हजार ६ सय २९ जना उपचाररत् रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । बागमतीमा संक्रमित हुनेमध्ये पुरुषको अनुपात बढी रहेको छ । कुल संक्रमित मध्ये हालसम्म ६० दशमलव ९ प्रतिशत पुरुष र ३९ दशमलव १ प्रतिशत महिला रहेको मन्त्रालयका अस्पताल विकास तथा चिकित्सक महाशाखा प्रमुख सेढाईंले जानकारी दिए ।
‘संक्रमण पुष्टि हुनेमा महिलाको तुलनामा पुरुषको संख्या बढी छ ।’ उनले भने ‘२१ देखि ५० वर्ष उमेर समूहका मानिसहरुमा संक्रमण बढी देखिन्छ, त्यसमध्ये पनि पछिल्लो समय ६० वर्षभन्दा माथिका संक्रमित पनि बढेका छन् ।’
कुल संक्रमितको जिल्ला– गत् तथ्यांकअनुसार हालसम्म काठमाडौंका ८७ हजार ८ सय ८८, ललितपुरका १३ हजार ३ सय २३, भक्तपुरका ७ हजार ९ सय ३५, रसुवाका एक सय ४०, नुवाकोटका १ हजार २ सय ५, धादिङका १ हजार ४ सय ९७, चितवनका ६ हजार ६ सय ५३, सिन्धुलीका ४ सय ९९, मकवानपुरका ४ हजार १६, रामेछापका ४ सय ७४, दोलखाका ६ सय १६, काभ्रेपलाञ्चोकका ३ हजार २१ र सिन्धुपाल्चोकका ८ सय ६३ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ । हालसम्म बागमतीका १३ जिल्लामा कुल २ लाख ५१ हजार ६ सय ५० जनाको स्वाब परीक्षण गरिएको छ ।