बागलुङ, १७ मंसिर (रासस)/सार्वजनिक भएको २४ घण्टा नबित्दै लोकदोहोरी गीत ‘फुटेका चुरा’को म्यूजिक भिडियो युट्युब ट्रेन्डिङको नं आठमा उक्लेको छ । सोमबार साँझ सार्वजनिक उक्त गीतको ‘भ्यूज’ साढे तीन लाख नाघिसकेको छ ।
गायक प्रकाश सपुत र गायिका अनिता चलाउनेको स्वर रहेको गीतको म्यूजिक भिडियोमा गायक सपुतसँगै कलाकार नम्रता श्रेष्ठ, कविता नेपाली, गायिका चलाउने र नीरज पन्थीको अभिनय छ ।
गीतमा गायक सपुतकै शब्द र सङ्गीत छ । भिडियोको निर्देशन पनि सपुत आफैँले गरेको छ । गायक सपुतको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गीतमा चार हजारभन्दा बढीले प्रतिक्रिया दिएका छन् भने ३४ हजारले ‘लाइक’ गरेका छन्।
कुनै एक देशको रानी युद्धकला र नाचगानमा पोख्त दरबारको सिपाहीसँग आकर्षित भएको प्रसङ्गबाट गीतको उठान हुन्छ । भिडियो निर्माण पक्ष पनि उत्कृष्ट छ । गीतमा प्रयुक्त तुक्कालाई बीचबीचमा काव्य वाचनको शैलीमा गरिएको प्रस्तुती रुचिकर लाग्छ । कुनै पुरुष पात्रले छोरीलाई कथा सुनाएर शुरु भएको गीत कथामै अन्त्य हुन्छ । दरबारको साङ्गीतिक समारोहमा नाचिरहेका सिपाहीलाई रानीले धनुषले ताकेर तीर हान्छिन् । सिपाही घाइते बनी डबलीमा ढल्न पुग्छन् । आफ्नो मनमा सिपाहीले नजरको जुठो हालेको भन्दै रानीले वाण हानेको बताउँछिन्। मन्त्रीलाई बोलाएर उपचारका लागि वैद्यलाई देखाउन आदेश दिन्छिन् । घाइते सिपाही मरे शहीद बन्ने र बाँचे राजा बन्ने घोषणा गर्छिन् । गीत यत्तिकैमा सकिन्छ । त्यसपछिको कथालाई अर्को गीतमा जोड्ने गायक सपुतले बताए ।
“गीतको परिकल्पनादेखि दृश्य निर्माणमा केही नयाँपन दिन खोजिएको छ”, गायक सपुतले भने, “राम्रो प्रतिक्रिया आइरहेको छ, दर्शक/श्रोताले रुचाइदिएको छ, हामी उत्साहित छौँ ।”
गायक सपुतले गायिका चलाउनेसँग पहिलोपटक सहकार्य गरेको हो । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मेका गायक सपुतको गत तीजमा सार्वजनिक गीत ‘बदला बरीलै’ पनि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको थियो । त्यसअघि उनका ‘बोल माया’, ‘गलबन्दी’ लगायतका गीत पनि सर्वाधिक सफल रहे ।
गत वर्ष सार्वजनिक लोकदोहोरी गीत ‘गलबन्दी’ युट्युबमा अहिलेसम्म चार करोडभन्दा बढी पटक हेरिएको छ । सपुत गायनसँगै अभिनय, लेखन र निर्देशनमा समेत उत्तिकै पोख्त छन् । गायक सपुत चलचित्र प्रदेशी–२ मा नायकका रूपमा देखिदै छ । चलचित्रको अहिले छायाङ्कन भइरहेको छ ।