हेटौंडा/ बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको पुल शहरलाई विस्तार गर्न कोशेढुंगा साबित हुने दावी गरेका छन् ।हेटौंडा उपमहानगरपालिका–११ र १२ नम्बर वडालाई जोड्न राप्ती खोलामा निर्माण हुन लागेको पुलको शिलान्यासका क्रममा बिहीबार मुख्यमन्त्री पौडेलले प्रदेश राजधानी समेत रहेको हेटौंडा शहरलाई विस्तारित गर्न पुलले भूमिका खेल्ने बताएका हुन् ।
मुख्यमन्त्री पौडेलले सरकारले बाटो, घाटो र पुलसँगै प्रदेशको समग्र विकासमा फड्को मारेको उल्लेख गरे ।
कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले वर्तमान सरकार विकासमैत्रि रहेको उल्लेख गर्दै गाउँगाउँमा विकासका पूर्वाधार निर्माण गर्नमा जुटेको बताए ।
हेटौंडा–१२ का वडाअध्यक्ष ललित घलानले पुल निर्माणको योजना ल्याएर विकट क्षेत्रको रूपमा रहेको पदमपोखरी क्षेत्रलाई दोस्रो हेटौंडाको रूपमा परिणत गर्न प्रदेश सरकार र मुख्यमन्त्री पौडेलले भूमिका खेल्नुभएको उल्लेख गरे ।
काठमाडौँ, चितवन, हेटौँडा, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, सिन्धुलीलगायत शहरमा विद्युतीय सवारी साधन सञ्चालनमा निजी क्षेत्रलाई सहभागी गराउन सरकारले प्रक्रिया थालनी गरिसकेको र केही महिनाभित्रै सौर्य राजधानी काठमाडौँबाट हेटौँडा जोड्ने विद्युतीय सेवा सञ्चालन हुने बताए ।भौतिक पूर्वाधार तथा यातायात निर्देशनालयका निमित निर्देशक डा सहदेव भण्डारी, उपमहानगरपालिका–११ र १२ का वडाध्यक्ष क्रमशः गोकर्ण पराजुली र ललित घलान तथा समाजसेवी ललिता गोम्बाले स्थानीय जनसहभागिताका आधारमा विकास निर्माण अगाडि बढाउँदा दीर्घकालीन लाभ प्राप्त हुने दावी गरे । हेटौंडा ११ का वडाअध्यक्ष गोकर्ण पराजुलीले पुलको निर्माणपछि हेटौंडाको मध्यबजार क्षेत्रको सवारी चापलाई कमगर्न सहयोग पुग्ने बताए । प्रदेशको भौतिक पूर्वाधार निर्देशनालयमार्फत निर्माण हुने पुल काठमाडौंको एलिट कन्स्ट्रक्सन प्रालिले निर्माणको ठेक्का पाएको निर्देशनालयका प्रमुख डा.सहदेवबहादुर भण्डारीले जानकारी दिए ।
कूल रकम २६ करोड ४१ लाख ८७ हजार २०० मा निर्माण सम्पन्न हुने सम्झौता भएको पुल साविकको हेटौंडा ११ र साविकको पदमपोखरी गाविसलाई जोड्ने छ । २ सय १५ मिटर लामो पुलको ११ मिटर चौडाइ रहनेछ । पुलसँगै दायाँबायाँ ३ सय ५०र३ सय ५० मिटरगरी ७ सय मिटरको सडक निर्माण हुनेछ भने दुबैतिर गरी ७ सय मिटर लामो तटबन्ध निर्माण हुने मन्त्रालयले जनाएको छ ।