हेटौंडा/बहुबर्षिय योजनामा समेटिएको मकवानपुरको उत्तरी क्षेत्र चित्लाङमा मदन भण्डारी प्राविधिक विश्व विद्यालय निर्माण सुरु भएको छ ।
शनिबारबाट विश्व विद्यालयको प्रशासनिक भवन निर्माण सुरु गरिएको हो । संघीय सरकारले चालु आर्थिक वर्षमा विश्व विद्यालय निर्माणका लागि १ अर्ब २० करोड रुपैयाँ बिनियोजन गरेपछि ६ करोड ५० लाख लागतमा प्रशासनिक भवन निर्माण सुरुवत गरिएको प्रतिनिधि– सभा सांसद विरोध खतिवडाले जानकारी दिए । थाहा नगरपालिका–९ स्थित चित्लाङमा निर्माण हुने विश्व विद्यालयको संरचना काभ्रेमा पनि बनाइने सांसद खतिवडाले बताए ।
प्राविधिक विश्व विद्यालय विभिन्न चरणमा निर्माण गरिने र पूर्ण निर्माणका लागि कुल ४३ अर्ब लागत अनुमान गरिएको छ । त्यसका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि चीनले सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ । विश्वविद्यालयमा चार हजार विद्यार्थीले अध्ययन गर्न सक्नेछन् । विधेयक कार्यान्वयनमा आउना साथ आगामी वर्षदेखि विश्व विद्यालय सञ्चालनमा ल्याउने योजना रहेको सांसद खतिवडाले दाबी गरे ।
मुलुकका लागि आवश्यक पर्ने सक्षम, उच्च प्राविधिक तथा अन्य विधाका आदर्शवान् जनशक्ति, वैज्ञानिक तथा विचारकहरुको उत्पादन तथा नयाँ ज्ञान र प्रविधि सिर्जना गर्ने उद्देश्यले विश्वविद्यालय संचालन योजना अघि सारिएको
हो । यसका अतिरिक्त मदन भण्डारी प्रौद्योगिक विश्व विद्यालय पनि खोल्ने सरकारको नीति छ । सरकारले सो विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकलाई यसअघिको सङ्घीय संसद्को अधिवेशनमा पेश गरिसकेको छ । विश्वविद्यालय मकवानपुरको
थाहा नगरपालिकास्थित चित्लाङमा रहने विधेयकमा उल्लेख छ । हाल सो स्थलमा ७ सय ४० रोगनी
जग्गा पहिचान प्राप्तिको क्रम सुरु भएको छ ।
विश्वविद्यालय विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, कानून र न्यायलगायतका विषय र क्षेत्रमा केन्द्रीत हुनेछ । विधेयकमा अन्य विश्वविद्यालयको भन्दा पृथक रुपमा सञ्चालनका लागि संरक्षक समिति गठनको प्रबन्ध गरिएको छ ।
त्यसको मातहतमा कार्यकारी परिषद् हुनेछ । कार्यकारी प्रमुखको हैसियतमा विश्वविद्यालयमा एक अध्यक्ष हुनेछन् । यो विश्व– विद्यालयमा कुलपति र उपकुलपति हुँदैन । यसैक्रममा भवन निर्माण सुरु भएसँगै चित्लाङमा सांसद खतिवडा, थाहा नगरपालिकाका मेयर लबशेर विष्टलगायतले अनुगमनसमेत
गरेका छन् ।