हेटौंडा/ब्लड क्यान्सरका कारण मृत्युसँग लडिरहेका हेटौंडाका भोटु विष्टको उपचारमा सहयोग गर्न परिवारले अपिल गरेको छ ।हेटौंडा–१९ नेवार–पानीका भोटु विष्ट पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत छन् । उनलाई थप उपचारमा रकम अभाव भएपछि परिवारले आर्थिक सहयोग गर्न सबैमा अपिल गरेको हो ।
२८ मंसिरमा काम गरिरहेको अवस्थामा विष्ट अचेत अवस्थामा भेटिएका थिए । उपचारमा करिब ९ लाख रुपैयाँ खर्च लाग्ने अस्पतालले बताएको विष्टका श्रीमती शान्ताले सुनाइन् ।
‘श्रीमानको उपचारका लागि आफुसँग पैसा छैन्, गाउँ समाज, आफन्त, संघ–संस्था तथा सामजिक ब्याक्तित्वसँग हात जोडेर अपिल गर्दछु मेरो श्रीमानलाई बचाईदिनुस् ।’ शान्ताले भनिन् ।
परिवारले सहयोगको लागि अपिल गरेपछि स्थानिय युवाहरुले सहयोग जुटाउन थालेका छन् । युवा संघ नेपाल मनहरी गाउँपालिकाका सहसंयोजक समिर तामाङ, भुवन मगर र राजेश राईले ‘भोटु विष्ट बचाऔं अभियान’ नै सुरु गरेका छन् । बिहीवार सहयोगी दाताहरुबाट संकलन भएको नगद २५ हजार ३० रुपैयाँ विष्टको श्रीमती शान्तालाई हस्तान्तरण गरिएको अभियानका संयोजक तामाङले जनाकारी दिए । विष्ट परिवारको आर्थिक स्थिति नाजुक रहेको र अब उपचार खर्च धान्न नसक्ने अवस्था आएकोले सबैमा सहयोगको लागि अपिल गरिएको छ ।