हेटौंडा/मनहरी गाउँपालिकाले नदीजन्य पदार्थ (ग्रबेल) स्टक प्रमाणित भएको भन्दा बढी परिमाणमा थुपारिएको भन्दै क्रसर उद्योगीलाई जरिवाना तिराउने निर्णय गरेको छ ।
गाउँपालिकाभित्रका डेढ दर्जन क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगहरुलाई जरिबाना गर्दै राजश्व असुली गर्ने निर्णय गाउँपालिकाको कार्यपालिका बैठकले गरेको छ । बुधवार भएको बैठकले जिल्ला समन्वय समिति मकवानपुरको निर्देशनअनुसार राजश्व संकलन गर्ने निर्णय गरेको हो ।
प्रति घनमिटर ६७.५० रुपैयाँका दरले राजश्व संकलन हुने गरेकोले सोही रकम बराबरको जरिबाना तिर्न व्यवसायीहरु पनि सहमत भएपछि जरिबाना गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । कूल १ लाख ८२ हजार घनमिटर ग्रेबलबापतको जरिबाना १ करोड २४ लाख ७ हजार ४ सय रुपियाँ हुन आउँछ । साथै उक्त परिमाणको प्रशोधनपछि निकासी हुँदा निकासी कर पनि थपिनेछ ।
यसैगरी बैठकले मनहरी अस्पतालको डीपीआर तयार गरी एक महिनाभित्र ठेक्का प्रक्रिया थाल्ने निर्णय गरेको छ । त्यसैगरी जग्गा नापी गरी लालपुर्जा बितरणका लागि भूमि सम्बन्धी समस्या समाधान आयोगले पठाएको कार्यविधि अनुसार तत्कालै पालिका तह र वडा तहमा आयोग गठन गरी प्रक्रिया
अघि बढाउने र गाउँपालिकामा कर्मचारीको बन्दोबस्त भूमि सम्बन्धी डेस्क संचालन गर्ने निर्णय गरेको अध्यक्ष उप्रेतीले जानकारी दिए ।गाउँपालिकाले अघिल्लो महिना मनहरी गाउँपालिका ६ नं वडामा उद्घाटन गरेको गाउँघर क्लिनिकमा तत्कालै जनशक्ति उपलब्ध गराएर नियमित स्वास्थ्य सेवा प्रबाह गर्ने निर्णय समेत
गरिएको छ । गाउँपालिकाको काम कारबाही तथा उपाध्यक्ष मनिला बिष्टका सम्बन्धमा अप्रमाणित समाचारबाट भ्रम मुक्त हुन सबैमा आग्रह समेत गरिएको जनाइएको छ ।